नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई थप प्रगााढ बनाउने कार्यमा नेपाल-भारत सैन्य सम्बन्धको पनि महत्वपूर्ण र ठुलो भूमिका रहिआएको छ । नेपाल-भारतले एकअर्का देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा पनि रहिआएको छ । हालै नेपालका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय सेनाको ‘मानार्थ महारथी’ को सम्मानबाट सम्मानित गरिएको छ । भारतमा राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले नेपालका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय सेनाको ‘मानार्थ महारथी’ को दर्जा प्रदान गरेकी छन् । भारतको ‘सेना दिवस’को अवसरमा नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित गरिनु हामी समस्त नेपालीहरूको निम्ति गर्व र उल्लासको विषय हो ।
दक्षिणी छिमेकी भारतमा केही अघि लागू गरिएको ‘अग्नि पथ’ नामक नयाँ सैनिक भर्ना अभियानमा नेपालीहरूको सहभागिता हुन सकिरहेको छैन किनभने यस सम्बन्धमा नेपालले अहिलेसम्म प्रष्ट नीति बनाउन सकेको छैन । नेपाल सरकारको अनुमति प्राप्त भएपछि नेपाली युवाहरू यस नयाँ सैनिक भर्ती अभियानमा पनि सहभागी हुने निश्चित नै छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई अत्यन्तै ‘बलियो द्विपक्षीय सम्बन्ध’ भन्दै वर्तमान स्थितिप्रति सन्तोष व्यक्त गरेका छन् । नजिकका छिमेकीहरूको रूपमा भारत र नेपालले पारस्परिक चासोका धेरै मुद्दामा सम्मान दृष्टिकोण साझा गर्छन् । नेपालका प्रधानसेनापतिसँगको भेटवार्ता पछि उनले भारतको छिमेकी पहिलो नीति अनुरूप छिमेकीहरूसँगको घनिष्ठ बलियो सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको मनसाय प्रकट गरेका छन् । राजनाथ सिंहले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न तालिम, नियमित सम्वाद, कार्यशाला र सेमिनारका साथै रक्षा उपकरण र भण्डारहरूको आपूर्तिसहित रक्षा सहयोगका विभिन्न पक्षमा प्रकाश पारे ।
नेपाल-भारतबीच सन् १९५० देखि एक अर्को देशका सेनाप्रमुखलाई ‘मानार्थ महारथी’ को दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ । छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले दुईपक्षीय सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्द्रता कायम राख्न एउटा महत्वपूर्ण कडीका रूपमा भूमिका खेल्ने विश्वास गरिन्छ । सम्बन्धको सम्वेदनशीलता र महत्व राजनीतिभन्दा अलग छ । यो सम्बन्ध धेरै अघिदेखिको हो । पहिलो र दोस्रो विश्वयुद्धदेखि नै नेपाली युवाले भारतीय सेनामा गोर्खा सैनिकको रूपमा भर्ना भई योगदान दिइरहेका छन् ।
नेपाल-भारतबीच सन् १९५० देखि एकअर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथीबाट विभूषित गर्ने परम्परालाई विश्वका अन्य कतिपय देशहरूले पनि छिमेकी बीचको असल अभ्यासको रूपमा हेर्ने गरेका छन् । छिमेकी बीचमा अटल सैनिक सम्बन्ध विस्तारमा यस्तो संस्कृतिको ठूलो भूमिका हुने गर्दछ । आपसी सहमतिमा नेपाली सेनालाई क्षमता अभिवृद्धिका लागि तालिम र भौतिक सामग्री बेग्लै विधिद्वारा उपलब्ध गराउँदै आएको छ ।
नेपाली सेनालाई आवश्यक पर्ने सैन्य रणकौशल, अपरेसनल र रणनीतिक तहका व्यावसायिक तालिममध्ये राष्ट्रिय प्रतिरक्षा तालिममा भारतले उपलब्ध गराउने कोटामा नेपाललाई प्राथमिकता दिँदै आएको छ । नेपाल-भारतीय सेनाबीचको सहकार्यलाई अघि बढाउने सन्दर्भमा दुबै मुलुकबीच नियमित बैठक हुँदै आएका छन् । नियमित रूपमा एक अर्का देशमा हुँदै आएको ‘अभ्यास सूर्यकिरण’ले पछिल्ला वर्षमा सैनिक संगठनबीचको सम्बध सुदृढ तुल्याउनमा कोशे ढुंगाको काम गरेको छ । दुबै देशका सैनिक सम्मिलित ‘माउण्ट एभरेस्ट’ आरोहण पनि विगतमा भएको थियो । दुई देशका सैनिकबीचको निरन्तर सम्पर्क, भ्रमणको आदानप्रदान र सहकार्यले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने गरेको छ ।
दक्षिणी छिमेकी भारतमा केही अघि लागू गरिएको ‘अग्नि पथ’ नामक नयाँ सैनिक भर्ना अभियानमा नेपालीहरूको सहभागिता हुन सकिरहेको छैन किनभने यस सम्बन्धमा नेपालले अहिलेसम्म प्रष्ट नीति बनाउन सकेको छैन । नेपाल सरकारको अनुमति प्राप्त भएपछि नेपाली युवाहरू यस नयाँ सैनिक भर्ती अभियानमा पनि सहभागी हुने निश्चित नै छ । भारतीय सेनामा काम गर्ने नेपाली गोरखाहरू त्यहाँ मान, सम्मान र समुचित तलब सुविधा पनि प्राप्त गरिरहेका हुन्छ । नेपाल र भारतका सेनाध्यक्ष र सैन्य अधिकारीहरूको निरन्तरको भ्रमणले यस सम्बन्धलाई थप प्रगाढ बनाउने गरेको छ । नेपालका प्रधानसेनापति अशोकराज सिग्देलको यो भारत भ्रमण पनि दुई देशबीचको सैन्य सम्बन्धलाई थप बलियो बनाउने निश्चित छ ।
विगतमा भारतीय सेनाले नेपाली सेनाको संगठन पुनःसंरचनामा सघाएदेखि दुई देशबीचको सम्बन्धमा कहिल्यै चिसोपना आएन । विसं २०७२ सालमा नेपालमा आएको महाकुम्भपश्चात खोजी, उद्यार र राहतका लागि हेलिकप्टरसहितको जनसहयोग भारतबाट प्राप्त भएको थियो । भूकम्पका कारण क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा भारत सरकारले ठूलो सहयोग गरेको हो । राजनीति क्षेत्रबाट कुनै प्रश्न उठेमा सैनिक कूटनीतिका माध्यमद्वारा पनि सम्बोधन गर्न सकिने उदाहरणको रूपमा २०७२ सालमा मधेसी दलको सिमानाका केन्द्रित आमहड्तालबाट सृजित समस्याको समाधानलाई लिन सकिन्छ ।
सन् १९४७ मा जब भारतबाट ब्रिटिश शासकहरू फर्किए, त्यतिखेर भएको त्रिपक्षीय सम्झौता अन्तरर्गत गोरखा पल्टनको माग ल्याइएको थियो । १० वटा गोरखा रेजिमेन्टमध्ये नौवटा स्वतन्त्र भारतको सेनाकै अंगका रूपमा र चार रेजिमेन्ट ब्रिटिश सेनामा समाहित भए । अहिले पनि भारतीय सेनामा ७ वटा गोर्खा रेजिमेन्ट र ३९ वटा बटालियन रहेका छन् । त्यसमध्ये ६० प्रतिशत जति नेपालका र ४० प्रतिशत भारतका गोरखा तथा पहाडी समुदायका छन् । अहिले भारतीय सेनामा करिब ३२ हजार गोरखा सैनिक रहेको अनुमान छ ।
भारतीय सेनामा काम गरेबापत नेपालीहरूले पाउने तलब र पेन्सन सुविधाको कारण वर्षेनी ८० अर्बभन्दा बढी रुपैयाँ नेपाल भित्रिरहेको छ । गोरखा भर्तीबाट नेपाल आउने यो रेमिट्यान्स पनि कम होइन । नेपालले आफ्नो देशको युवा भर्ती रोक लगाउने हो भने शतप्रतिशत भारतीय गोर्खाको नै भर्ती हुनेछ । आफ्नो देशको सुरक्षाका लागि राखिएको अति सम्वेदनशील सेनाको एउटा अंगको रूपमा नेपाली गोरखालीमाथि भारतले विश्वास गर्नु प्रत्येक नेपालीका लागि गर्वको विषय हो ।
नेपाली फौज भारतमा र भारतीय फौज नेपालमा आएर गरिँदै संयुक्त अभ्यासले विश्वमा विकास भइरहेको सैनिक रणनीति र ज्ञानको आदान-प्रदानमा पनि योगदान पुर्याएको छ । भारतीय सेनामा नेपाली युवा कार्यरत रहनुले जनस्तरमा पनि एक किसिमको आत्मीयता रहेको छ । यसले नेपाल भारतबीच जनस्तरमा विशिष्ट तथा माथिल्लो स्तरको सम्बन्ध कायम राख्न मलजल गरिरहेको छ ।
लाखौं रुपैयाँ म्यानपावर कम्पनी र दलाललाई बुझाएर वैदेशिक रोजागरमा गई नारकीय जीवन बिताउनु, ज्यान जोखिममा पार्नु र घरपरिवारको संरचना तहसनहस पार्नुभन्दा सम्मानसहित नजिकमा पैसा कमाउनु गर्वको विषय हो । सरकारले र नेपालका राजनीतिक दलहरूले गोर्खा भर्तीको विरोध नगरेको भए, यसबारे दुष्प्रचार नगरेको भए र विगत चार वर्षदेखि गोर्खा भर्ती बन्द नगरेका भए कम्तीमा पनि आठ-दश हजार नेपाली युवाहरू भारतीय सेनामा गोरखा भर्तीमा सामेल भइसकेका हुने थिए । रुस, युक्रेन, इराक, अफगानिस्तान, सिरियामा भाडाको सैनिक (त्यो अवैध)को रूपमा सहभागी हुनु र मारिनु हाम्रो नियति नबनोस् । नेपालका राजनीतिक दलहरू यस्तो संवेदनशील मुद्दामा गम्भीर हुनु आवश्यक छ ।
गोरखा भर्ती, नेपाल-भारत परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो आधार रहेकाले नेपाल सरकार यस विषयमा सकारात्मक निर्णय लिने अपेक्षा भारतको र हजारौं नेपाली युवाहरूको रहेको छ । भारतीय सेनामा प्रत्येक वर्ष १५०० नेपाली युवाहरूलाई गोरखा भर्तीमा भर्ना गरिन्छ । भारत र नेपालका सैनिकबीचको तलब सुविधा बढुवा र पेन्सनलगायत सबै सुविधामा एक समान व्यवहार गरिन्छ । तीनजना नेपाली नागरिक भारतीय सेनामा लेफिट्नेन्ट जनरल भएका छन् । मेजर जनरल र ब्रिगेडियर भएका छन् । कर्नेल त कति छन्, हिसाब गर्न सकिँदैन ।
सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा नेपाली संसद् (तत्कालीन संविधनसभा) मा सम्बोधन गर्दै भनेका थिए कि हिन्दुस्तानले आजसम्म त्यस्तो कुनै लडाइँ जितेको छैन जसमा कुनै नेपालीको रगत नबगेको होस्, कुनै नेपालीले बलिदान नगरेको होस् । भारतीय सेनाका उच्च अधिकारी मानेक शाले एकपटक भनेका थिए ‘यदि कोही यो भन्छ कि उसलाई मर्नबाट डर लाग्दैन’ भन्ने त्यो व्यक्तिमा त गोरखा सैनिक हुन्छ अथवा झुटो बोलिरहेको हुन्छ ।
नेपाली फौज भारतमा र भारतीय फौज नेपालमा आएर गरिँदै संयुक्त अभ्यासले विश्वमा विकास भइरहेको सैनिक रणनीति र ज्ञानको आदान-प्रदानमा पनि योगदान पुर्याएको छ । भारतीय सेनामा नेपाली युवा कार्यरत रहनुले जनस्तरमा पनि एक किसिमको आत्मीयता छ । यसले नेपाल-भारतबीच जनस्तरमा विशिष्ट तथा माथिल्लो स्तरको सम्बन्ध कायम राख्न मलजल गरिरहेको छ । सैनिक संगठनबीचको सम्बन्धलाई पनि यसले फलदायी बनाएको छ । प्राकृतिक विपत्ति र प्रकोपका समयमा तत्कालै भारतबाट सहयोग प्राप्त भइरहेको छ । आणविक शक्तिसम्पन्न भारत अहिले आधुनिक हतियारले सुसज्जित विश्वको प्रमुख शक्तिशाली राष्ट्रहरूमध्येको एक हो ।
भारत सेनाको प्राथमिकतामा ठूला तथा शक्तिशाली देश भए पनि नेपालको विकास समृद्धि तथा नेपाली सैनिकको क्षमता अभिवृद्धिलाई भारतले उत्तिको प्राथमिकतामा राखेको छ । दक्षिण एशियाका पुरानो संगठन नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा जानकार साहसिक व्यावसायिक, अनुशासित रहेको भन्ने छिमेकी भारतको बुझाइ छ । भारत हरेक किसिमले नेपाली सेनालाई सहयोग गर्न तयार रहेको देखिन्छ । नेपालका प्रधानसेनापतिको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ नै बनाउनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच