नेपाली कांग्रेसको इतिहासमा यस्तो पनि दिन आयो टेलिभिजनबाट आउने समाचार हेर्ने दर्शक, रडियो सुन्ने श्रोता, छापामा अध्ययन गर्ने पाठक र अनलाइन खबरबाट सम्प्रेसित गरिएका समाचारमा मानिस एक टक बनेको देखियो । नेपाली कांग्रेस समर्थकमात्र होइन सभापति देउवासमेत अन्यमनस्क रहे । यो अवस्था विगतको एकहप्ते राजनीतिले देखायो । यो कांग्रेसकै इतिहासमा देखापरेको नौलो राजनीतिक चेत थियो । नौलो किनभने नेपाली कांग्रेसको इतिहासमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले विशेष महाधिवेशनको आह्वान गरेका थिए । यो विशेष महाधिवेशन नौलोमात्र बनेन यी दुबै महामन्त्रीमा नेपाली कांग्रेसका यावत् कार्यकर्ता विश्वासमा थिए ।
यिनीहरूको नियतमा कहिँ कतै खोट छैन भन्ने विश्वास विद्यमान थियो । यही विश्वासमा अडेको दुई दिने विशेष महाधिवेशनले चौथो दिनको रातिमा समापनको अवस्थामा पुर्यायो । घटनाक्रम जे जस्ता भए पनि महामन्त्री दुबै नेपाली कांग्रेसको इतिहासका सबल पात्र हुन् भन्ने तथ्यलाई प्रमाणित गरिदिएको छ । शेरबहादुर देउवा, पूर्णबहादुर खड्कालगायत केही नेताका लागि यी दुबै आँखाका कसिंगर नै बनेर देखिएका थिए । त्यसैले गलत सल्लाहका कारण कारबाही गरियो दुबैलाई । राजनीतिमा विद्रोह क्षमताले गर्ने हो । यो क्षमता यी दुबैमा देखियो ।
जेन-जी आन्दोलनपछि कार्यबाहक सभापति तोकेर बाहिर हिँडेका देउवा आएपछि पुनः राजनीतिमा सक्रिय बने । कार्यबाहक तोकिएको अवस्थामा उनी सक्रिय भूमिकामा नआएको भए पनि हुनेथियो तर त्यसो हुनसकेन । उनको सक्रियता देश र देशको हिताका लागि थिएन पनि । सक्रियताले देखाएको बाटो नितान्त स्वार्थमा केन्द्रित थियो ।
जेन-जी विद्रोहलाई सम्बोधन गर्नु र त्यस आन्दोलनलाई दस्ताबेजीकरण गर्नु यी दुबैको लक्ष्य देखियो । युवापुस्ता जसले देशलाई देशका सम्पूर्ण संयन्त्रलाई आफ्नो मान्न सकेन त्यो संयन्त्रप्रति विश्वास दिलाउनु थियो दिलाए पनि । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिमात्र होइन आमनेपाली जनता र राजनीतिमा नयाँ आएका पुस्ताको समेत यी दुबैप्रति आशा र भरोसा विद्यमान रहेको देखियो ।
बिहान ११ बजेदेखि राति आठ बजेसम्म पुसको यस्तो जाडोमा उनीहरू के बोल्छन् के भन्छन् र देशको राजनीतिलाई कुन बाटोमा लैजान्छन् भन्नेमा नै केन्द्रित रहेको देखियो । यही हो राजनीतिमा आफ्नो पकड भनेको । यो आमनेपाली कंग्रेसका कार्यकर्तामात्र होइन समग्र नेपालको राजनीतिको नाडी यी दुबै चरित्रले समातेका थिए । भाषणमा जे भनेको भए पनि यी दुुबैको राजनीतिक नियत भने खराब थिएन । खराब मान्लान् त्यो उनीहरूको नियत हो । समग्रमा भन्दा यी दुबै व्यक्तिको चरित्रमा खोट लगाउने ठाउँ भने देखिएन ।
सच्चिन सकेनन् देउवा
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापति बनेका देउवाले भदौ २४ गतेको जेन-जी आन्दोलनबाट आर्थिक तथा भौतिक क्षति बेहोरे । उनको निवासमा आगनजनी भयो । उनको घरबाट बिटाका बिटा पैसा उडे । उनी र उनकी पत्नी आरजु देउवामाथि आक्रमण भयो । प्रजातन्त्रका लागि जीवनका सबै वसन्तलाई सुम्पेका देउवा आफूले केही नगरेको र आफूमाथि कुनै किसिमको आक्रमण नहुने अवस्थामा रहेका थिए तर भिडले भनौं वा आन्दोलनको रापले उनलाई पनि छोडेन । तत्कालीन प्रधानमन्त्री सुरक्षित रहे । नेकपाका अध्यक्ष पनि सुरक्षित नै रहे । नेपालको प्रजातान्त्रिक आन्दोलनका मुख्य पात्र वा नेपाली कांग्रेसका सभापति भने आक्रमणको सिकारमात्र बनेनन् उनको निवासमा केही दिन मानिसको घुइँचो नै देखियो । केका लागि घुइँचो थियो उनै जानून् ।
जेन-जी आन्दोलनपछि कार्यबाहक सभापति तोकेर बाहिर हिँडेका उनी आएपछि पुनः राजनीतिमा सक्रिय बने । कार्यबाहक तोकिएको अवस्थामा उनी सक्रिय भूमिकामा नआएको भए पनि हुनेथियो तर त्यसो हुनसकेन । उनको सक्रियता देश र देशको हिताका लागि थिएन पनि । सक्रियताले देखाएको बाटो नितान्त स्वार्थमा केन्द्रित थियो । आमनिर्वाचन अगावै नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन हुन्छ भन्ने आमधारणा नेपाली कांग्रेसका कार्यकर्तामा थियो । उनले त्यसो हुन दिएनन् । उनी न त राजनीतिबाट विरत रहे न त नेपाली जनता र नेपाली कांग्रेसको आमभावनालाई बुझ्न सके ।
उनीसित कांग्रेसको मात्र नभई देशकै सफल नेता हुनपाउने अवसर थियो । चुके आफैं । विभाजनमा पु¥याए कांग्रेसलाई पनि । कांग्रेस विभाजन हुनुमा उनको दोष छ अरू कसैको पनि होइन । पार्टीका दुबै महामन्त्री नियमित अधिवेशन हुन नसकेपछि विधान अनुसार विशेष महाधिवेशनको पक्षमा थिए । विशेष महाधिवेशनले पार्टीमै नयाँ नेतृत्वको आशा गरेका पनि थिएनन् । उनले दिएका कार्यबाहक सभापति नै पार्टीका सभापतिमा अनुमोदित हुन्थे । त्यो हुन सकेन ।
विशेष महाधिवेशन कुनै व्यक्ति वा चरित्रको चाहना पनि थिएन । महाधिवेशनका ५४ प्रतिशत कांग्रेसीले बुझाएको हस्ताक्षरलाई नै अवैध मान्न तयार भयो पार्टी । आफू सभापति हुँदा तिनै प्रतिनिधि वैध मान्ने देउवाको यो नीति भने कसैका लागि पाच्य थिएन । स्वयं आफू आउन नचाहेको भए पनि कार्यबाहक सभापतिलाई उक्त महाधिवेशनस्थलमा पठाएर कांग्रेसको इतिहासमा आफूलाई सुरक्षित रूपमा अवतरण गर्न सक्थे तर रुचि नै देखाएनन् । यो भुल उनको जीवनको इतिहासको सबैभन्दा गतिलो भुल सावित भयो । सदा सत्ताको वरिपरि घुम्ने र आफूलाई विरासतको कांग्रेस मान्ने चाकरीबाजको कर्ममा देउवा नराम्रो गरी फसे । उनीमाथि भएको सांघातिक आक्रमण र उनले बेहोरेको क्षतिले पनि उनलाई सही मार्ग देखाउन सकेन । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिमा पराजित भएका वरिष्ठ नेता मानिएका शेखर कोइराला पनि राजनीतिका गतिला खेलाडी होइनन् ।
महामन्त्रीले समातेको बाटोमा आफू र आफ्ना निकटकालाई लिएर गएको भए उनको राजनीति धेरैमाथि जाने थियो तर त्यसो गर्न सकेनन् । अन्तिमसम्म पार्टी फुट्दैन भन्ने आलाप लिनु नै उनको नियत बन्यो । कोइराला परिवारका उनी पनि कमजोर नै देखिए, नेपाली कांग्रेस र कार्यकर्ताका बीचमा । देउवा सबल, सक्षम र नेपाली कांग्रेसका सुशील कोइराला पछिका उत्तम नेता मानिन सक्थे । चुके, चुकाए उनका सल्लाहकारले । आफूमा निर्णय गर्ने क्षमताको अभाव उनमा प्रष्ट देखियो । वर्तमान युवा र कांग्रेसजनको नारी छाम्न नसक्नु नै देउवाको मूल भुल मान्नेछ इतिहासले ।
विश्व र गगनको नियतमा खोट थिएन
म कुनै निर्वाचन लड्दिन भन्ने विश्वप्रकाश शर्मा तथा देशलाई नयाँ उचाइमा पु¥याउनुपर्दछ भन्ने स्पष्ट सन्देश बोकेका गगनको नियतमा खोट थिएन । पार्टीमा सदा आफ्ना कुरालाई स्पष्ट राख्ने र आफूलाई प्रतिनिधिसभामा समेत गतिलो तरिकाले उभ्याउने यी दुबै चरित्र नेपाली कांग्रेसका गहना थिए । महामन्त्री भएकै कारण महाधिवेशन प्रतिनिधिले बुझाएको ५४ प्रतिशत हस्ताक्षर कार्यान्वयनमा केन्द्रित रहेको पाइन्छ । उनीहरूको नियतमा कुनै किसिमको खोट देखापरेन । नेपाली कांग्रेसको पहिचान बनेका उनीहरूको आशय देशले भदौमा भोगेको अवस्थालाई सम्बोधन गर्नु थियो । सम्बोधनमा उनीहरूको पहिचानमात्र होइन । उनीहरूको पहिचानमा देखिएको आफ्नो मितव्ययिता नै नेपाली कांग्रेसको परिस्थिति थियो ।
नेपाली कांग्रेसले होनहार व्यक्ति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर गएको भए सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस नै हुने थियो । यो सत्य हो तर सभापति देउवाको आफन्तप्रतिको विश्वास, कार्यबाहक सभापतिको अर्कमण्यता, शेखर कोइरालाको दहीचिउरे बानी र व्यवहारले नेपाली कांग्रेसले त्यसो गर्न सकेन । उल्टै कोपभाजनको सिकार बनायो महामन्त्रीद्वयलाई ।
उनीहरूले गरेको सम्बोधनमा घमण्ड थिएन । आक्रोश पनि थिएन । बाचा थिए । हामी सुधारिन तयार छौं । हामीले सुधार र जेन-जी आन्दोलनबाट पाएको अवस्थामा परिवर्तनलाई आधार बनाउनेछौं । भदौ २३ र २४ गते भएको आन्दोलनको रापका भागिदार हामी पनि हौं । हामीले गर्न सकेनौैं । धेरै वर्ष शासन गरे पनि हाम्रो पहिचानमा जुन किसिमको अवस्था आयो त्यसले नेपाली जनताको मन छोएको थियो । भावुक बनेर अभिव्यक्ति दिइरहेका थिए दुबै महामन्त्री । भावुकतामात्र थिएन बाचा पनि थिए । सुधारिएको कांग्रेसका प्रतिनिधि पनि थिए ती दुबै महामन्त्री । अरूले के भने र के बोले त्यसको चासो कसैलाई पनि थिएन । चासो थियो विश्व र गगनको सम्बोधनको । सन्तुलित र गरिमायुक्त सम्बोधनले कांग्रेसजनमा नयाँ सञ्चार भरिएको थियो ।
नेपाली कांग्रेसको कार्यसमितिले एक्कासि दुबै महामन्त्रीलाई पार्टीबाट निष्काशनको उर्दी जारी ग¥यो । सहभागी भएका महाधिवेशन प्रतिनिधि र केन्द्रीय नेताप्रति औंला ठठाएन पार्टीले । दुबै महामन्त्री कांग्रेसको कोपभाजनको सिकार बने । नेतृत्व चयनलाई थाती राखेका दुबै महामन्त्री कारबाहीपछि भने नेतृत्व चयनमा सक्रिय रहे । ६२ प्रतिशत हाराहारीमा रहेका महाधिवेशन प्रतिनिधिको समूहबाट निर्विरोध रूपमा कार्यसमिति निर्माण गरेर कार्यसमितिको बैठकको जानकारी र आफूहरू आधिकारिक रहेको धारणासहित निर्वाचन आयोगमा पुगे । चौधौं महाधिवेशनबाट बनेको कार्यसमितिलाई भंग गरेर विशेष महाधिवेशन सम्पन्न गरेका यी दुबै महामन्त्रीको नियतमा भने खोट थिएन । गगनप्रति नेपाली कांग्रेसका कार्यकर्तामात्र होइन सबै देशवासीको आशा थियो । कांग्रेसमा प्राण भर्न सफल यी दुबै महामन्त्रीको सोच, साहस र कर्मलाई साधुवाद दिनुपर्दछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सकेनन् । उनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाए । नेकपा एमालेमा ओली नै निर्विकल्प देखापरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्रीका दावेदार मानिएका छन् । नेपाली कांग्रेसले होनहार व्यक्ति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर गएको भए सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस नै हुने थियो । यो सत्य हो तर सभापति देउवाको आफन्तप्रतिको विश्वास, कार्यबाहक सभापतिको अर्कमण्यता, शेखर कोइरालाको दहीचिउरे बानी र व्यवहारले नेपाली कांग्रेसले त्यसो गर्न सकेन । उल्टै कोपभाजनको सिकार बनायो महामन्त्रीद्वयलाई ।
महाधिवेशनस्थलमा दुबै महामन्त्रीलाई गरिएको कारबाहीले कोही पनि विचलित भएन । उल्टै उनीहरूका पक्षमा नाराबाजी भएको देखियो । यसरी कांग्रेस नातावाद, कृपावाद, आफन्तवाद र धनको लोभमा बिक्री हुने पार्टी होइन । नेताहरू आफू र आफ्ना व्यवहार सुधार गरेमात्र भनेको थियो त विशेष महाधिवेशनले । के नै ठूलो अपराध थियो र ? जनमानस र आमकांग्रेस कार्यकर्ताले चाहेको कांग्रेस पनि दिन नसक्ने र सधैं राजनीतिका माध्यमबाट तर चाटिरहने यो प्रवृत्तिका केही नेताहरू दोषी छन् । राजनीतिमा नियत सफा हुनु आवश्यक छ । नियतमा खोट देखियो भने राजनीति पनि बिटुलो हुने तथ्यलाई नकार्न सकिँदैन । यी दुबै महामन्त्रीको नियतमा खोट लगाउने हिम्मत मेरो कलमले गर्न सकेन । अस्तु ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच