राजनीतिक र नीतिगत अस्थिरताका कारण नेपालमा लगानीमैत्री वातावरण बन्न नसक्दा निजी क्षेत्रले लगानी विस्तार गर्न नसकेको बताइरहँदा पर्यटन क्षेत्र, खासगरी हस्पिटालिटी क्षेत्रमा भने लगानी विस्तार हुँदै गइरहेको छ । त्यसमा पनि अन्तर्राष्ट्रियस्तरका चेन होटल आइरहेका छन्, जसका संसारभर हजारौं ब्रान्चहरू छन् । त्यस्ता होटल नेपाललाई पत्याएर र नेपाललाई विश्वास गरेर आइरहेका छन् । त्यस्ता तारे चेन होटलहरू नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका पर्यटकीय गन्तव्यहरूमा विस्तार हुँदैछन् । तर, सरकारतर्फ गरिनुपर्ने विमानस्थल सञ्चालन, सडक, विद्युत्, सूचना प्रविधिलगायतका पर्यटकीय पूर्वाधारमा भने समस्या देखिएको छ । अझै पनि धेरै पर्यटकीय गन्तव्यहरू पर्यटकीय पूर्वाधारविहीन अवस्थामा छन् । पर्यटनका लागि कनेक्टिभिटी बढाउन सरकारले पोखरा र भैरहवामा ठूलो लगानी गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि सञ्चालनमा ल्याउन सकेको छैन । जसका कारण पर्यटनका लागि गरिएको सरकारी लगानीमात्रै नभई निजी क्षेत्रको लगानीसमेत जोखिममा परेको छ । देशको समग्र अर्थतन्त्र चलायमान बनाउन सक्ने पर्यटन क्षेत्र प्रभावित हुँदा अन्य क्षेत्र पनि सुस्ताएको अवस्था छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिनुले पनि देशमा लगानी संकुचन हुँदै गएको संकेत गर्छ । तथापि नेपाल राष्ट्र बैंकका तथ्यांकहरूले भने देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ नै रहेको देखाइरहेको छ । प्रस्तुत छ, अर्थतन्त्रको मेरुदण्ड मानिने नेपालको पर्यटन क्षेत्रअन्तर्गतको होटल क्षेत्रको अवस्थाबारे एयरपोर्ट होटलका सञ्चालकसमेत रहनुभएका होटल एसोसिएसन नेपाल(हान)का अध्यक्ष विनायक शाहसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :
पछिल्लो समय होटलहरू खुल्नेक्रम बढिरहेको छ । अहिले होटल व्यवसायको अवस्था चाहिँ कस्तो छ ?
होटल क्षेत्रमा अहिले लगानी बढ्दै गएको छ । एकपछि अर्को ठूला-ठूला होटलहरू नेपालमा आइरहेका छन् । त्यसमा पनि अन्तर्राष्ट्रिय चेन होटल आइरहेका छन्, जसका संसारभर हजारौं ब्रान्चहरू छन् । त्यस्ता होटल नेपाललाई पत्याएर र नेपाललाई विश्वास गरेर आउनु त नेपालका लागि राम्रो हो नि । अन्तर्राष्ट्रिय चेन होटलहरू नेपालको इकोनोमी, नेपालको टुरिजमको भविष्य देखेर आएका हुन्छन् । अहिलेको हिसाबमा झण्डै तीन दर्जनभन्दा बढी ठूला-ठूला चेन होटलहरू, जस्तो कि म्यारियट, हिल्टनदेखि अन्य होटलहरू पनि आउनेक्रम जारी रहेको छ । त्यो एकदमै सकारात्मक हो ।
२० करोड चिनियाँ र १० करोड भारतीयहरू हरेक वर्ष घुम्न निस्किन्छन् ।
भारतीयजस्तै चिनियाँ पर्यटक स्थलमार्गबाट पनि ल्याउन सकिन्छ ।
राजनीतिक अस्थिरताकै कारण पर्यटक नआउने भन्ने हुँदैन ।
होटललाई उद्योगसरह मान्यता घोषणामै सीमित छ ।
अमेरिकामा लगानी गर्दा रेड कार्पेटमा स्वागत हुन्थ्यो, यहाँ आगो लगाइयो ।
अन्तर्राष्ट्रिय चेन होटलहरू नेपालमा किन आइरहेका हुन् ?
नेपालमा टुरिजमको भविष्य देखेरै आएका हुन् । त्यत्तिकै कसैले लगानी गर्दैन, फाइदा देखेरै यसरी लगानी भइरहेको छ । हामी भारत र चीनको बीचमा छौं । भारत र चीन भनेका आर्थिक समृद्धिमा एकदमै अगाडि बढेका छन् । झण्डै झण्डै १८ देखि २० करोड चिनियाँ र झण्डै आठदेखि १० करोड भारतीयहरू हरेक वर्ष आफ्नो देशभन्दा बाहिर होलिडेमा निस्किन्छन् । खर्च गर्न सक्ने त्यो जमातको बीचमा हामी छौं । त्यसको दुर्ई प्रतिशतमात्रै नेपालमा ल्याउन सक्दा पनि ५० देखि ६० लाख पर्यटक नेपालमा भिœयाउन कुनै समस्या छैन । तर, त्यसअनुसार तयारी हामीले गर्नुपर्यो, मुख्य कुरा पर्यटनसम्बन्धी पूर्वाधारमा जोड दिनुपर्यो, नीति नियम बनाउनुपर्यो । त्यसरी तयारीसाथ अगाडि बढ्दा हाम्रो देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रले ठूलो योगदान दिन सक्ने अवस्था छ ।
अहिले सञ्चालनमा रहेका होटलहरूको कुल क्षमता कति हो ?
आजको दिनमा हामी वर्षको ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने भइसक्यौं । त्यो पनि जुन हाम्रो मापदण्ड हुन्छ, संसारभर नै एउटा मापदण्ड हुन्छ । अमेरिका, युरोप सबैमा हुन्छ, सोही मापदण्ड हाराहारीमा सेवा दिन सक्ने क्षमता हामीसँग छ । तर, सन् २०२५ सालमा हवाईमार्गबाट ११ लाख ६० हजार पर्यटक भित्रिए । क्षमता चाहिँ ४० लाखको छ तर भित्रिने पर्यटक संख्या १२ लाख पनि छैन । यस्तो अवस्थाले त कुनै पनि व्यवसाय राम्रोसँग चल्दैन, व्यवसायको लगानी उठ्दैन । त्यसो त होटलमा लगानी गर्नेले एकै वर्षमा लगानी उठाउन खोजेको पनि हुँदैन, लङ टर्म हुन्छ तर देश, समाज र जनताले पाउने जुन आर्थिक समृद्धिको कुरा हुन्छ, त्यो पाइरहेको अवस्था छैन ।
त्यसो भए अब के गर्ने ?
अब त्यसमा हामीले ध्यान पुर्याउनुपर्यो, सरकार, निजी क्षेत्रलगायत सबै सरोकारवाला निकायहरू छन्, सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निभाउनुपर्यो । होटल खुलेपछि हाम्रा ग्राहकहरू भनेका पर्यटक हुन् । पर्यटकहरूको संख्या पनि बढाउनुपर्यो तर पर्यटकका लागि अहिले काठमाडौं एयरपोर्टको मात्रै भर छ । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल बनेका छन् तर तीन वर्षदेखि चल्न सक्या छैनन् । त्यसलाई कसरी हुन्छ चलाउनुपर्यो । हुन त पर्यटकहरू स्थलमार्गबाट पनि आउन सक्छन् । भारतबाट आइरहेका पनि छन्, चीनबाट पनि ल्याउन पहल हुनुपर्यो । दुई देशबीच सम्झौता गरेर बस सञ्चालन गर्न कुनै गाह्रो छैन । अहिले चीनतर्फका मुख्य नाका तातोपानी र केरुङबाट सामानमात्रै आइरहेको अवस्था छ । सामान आउने बाटोबाट पर्यटक पनि ल्याउन सकिन्छ तर त्यसमा पहल नै भएन । हाम्रा पर्यटकीय नाकाहरू पोखरा, चितवन, लुम्बिनीलगायत हाम्रा पर्वतीय क्षेत्रहरूमा पर्यटक जान्छन् । त्यहाँको एयरपोर्ट त चलेन, चलेन बाटोघाटो स्तरोन्नतिमा पनि ढिलासुस्ती भइरहेको छ । छिटो-छिटो बाटोघाटो बनाउनु त कता हो कता, ठेक्कासमेत तोड्दै हिँड्या छन् । हाम्रोमा व्यवस्थापन क्षमता नै भएन । माल पाएर चाल नपाए जस्तो भइरहेको छ । त्यही कारण होला, भदौमा जेन-जी आन्दोलन र उथलपुथल भयो । राजनीतिक उथलपुथल भयो, हाम्रो धेरै नोक्सानी भयो । त्यसैले कमी कमजोरी सच्याउँदै त्यसबाट हामीले व्यवस्थापकीय क्षमता बढाउनुपर्यो । व्यवस्थापन क्षमता बढ्दा पर्यटकमात्र होइन, कृषि बढ्छ, हाइड्रोपावर बढ्छ, म्यानपावर सबै क्षेत्र चलायमान हुँदै जान्छ ।
निजी क्षेत्रले त गरिरहेकै छ । हेर्नुस्, बुद्ध एयर यो क्षेत्रकै एउटा सफल कम्पनीका रूपमा आयो त, उसँग अहिले १७ वटा जहाज छन्, आठ सय कर्मचारी छन् । सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससँग चारवटा जहाज छन्, १४ हजार कर्मचारी छन् भने व्यवस्थापन प्रब्लम हो नि त, यस्तो कुरा सरकारले नबुझ्या पनि होइन, बुझ्या छ तर किन काम भइरहेको छैन ?, त्यसैको आक्रोश हो, योङ जेनेरेसन जेन-जी आन्दोलन । पोखरा, भैरहवामा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाएर ठेकेदारलाई फाइदा भयो होला, त्यहाँभित्रका बिचौलियालाई फाइदा भयो होला, देशलाई त फाइदा भएन । उक्त एयरपोर्ट सञ्चालनमा हुन नसक्नुमा भूराजनीतिक कारण भनिएला । त्यसलाई नेपाल सरकारको निकायले सञ्चालन गर्न सक्दैन भने अन्तर्राष्ट्रिय कम्पनीहरूलाई ठेक्का दिएर भएर पनि सञ्चालन गर्नुपर्ने हुन्छ । भैरहवाबाट भारत र पोखराबाट चीन जोड्ने हो भने एकै वर्षमा हाम्रो टुरिस्ट अराइभल डबल गर्न सकिन्छ । अहिले १२ लाख टुरिस्ट आएका छन्, तत्कालै २४ लाख गर्न सकिन्छ । त्यसका लागि सरकारले पूर्वाधार तयार गर्नुपर्यो । निजी क्षेत्रतर्फबाट त होटलदेखि सबै पूर्वाधार रेडी नै छ त ।
नेपालमा राजनीतिक अस्थिरताका कारण पनि पर्यटन क्षेत्र प्रभावित भएको भनिन्छ नि ?
राजनीतिक अस्थिरताले पर्यटन क्षेत्रलाई खासै असर गर्दैन । किनभने पर्यटकलाई यो देशमा पोलिटिकल सिस्टम के छ, कस्तो छ भन्ने कुरामा चासो हुँदैन । उनीहरू त नेपाल हेर्न आउने, यहाँका सम्पदाहरू हेर्न आउने हुन् । कोही स्वयम्भुनाथ हेर्न आउलान्, कोही सगरमाथा हेर्न आउलान्, पर्यटकले खर्च गरेको अनुपातमा सेवा पाए भने के प्रोब्लम भयो र ? त्यो त हामी मिलाइहाल्छौं नि, त्यो हाम्रो काम हो तर यहाँ सरकारले गर्नुपर्ने काम नगरेर समस्या भएको छ ।
सरकारले पनि होटललाई उद्योगको मान्यता दिएर पर्यटन विकासमा सहजीकरण गरेको छ त ?
सरकारले होटलहरूलाई उद्योगको मान्यता दिने भनेर घोषणा गरेको छ । गत जेठ १५ गते बजेटमार्फत् गरिएको घोषणा आठ महिना बितिसक्दा पनि कार्यान्वयन भएको छैन । बिजुलीमा छुट छैन । उद्योगहरूले प्रतियुनिट छ, सात रुपैयाँमा बिजुली पाउँछन् तर हामीले कमर्सियल रेट नै तिर्नुपर्छ । हामीले के पाप गर्या छौं ?, हामीलाई त्यो डिस्क्रिमिनेसन किन ?, सरकारलाई कर तिरेकै छौं, नियम कानुन मानेकै छौं ।
भनेपछि पूर्वाधार तयारीबिना पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरमा गरिने प्रचारप्रसारको मात्रै अर्थ छैन ?
त्यस्तो प्रचारप्रसारको काम त सरकारले नगरे पनि हामी आफैं गर्न सक्छौं, गरिरहेकै पनि छौं । त्यो कुनै ठूलो कुरा होइन । मुख्य कुरा एयरपोर्टकै समस्या भयो, प्लेनकै समस्या भयो, कनेक्टिभिटीकै समस्या भयो । काठमाडौं एयरपोर्टको क्षमताले १२ लाखभन्दा बढी धान्दैन । जहाज आधा घण्टासम्म हावामा होल्ड गरिरहेको हुन्छ । त्यसरी त कोही मान्छे आउँदैन । पोखरा र भैरहवा त खाली छ नि । त्यसलाई चलाउनुपर्यो, चलाउन खोज्यो भने सकिन्छ । संसारभरिका मान्छेहरू कहाँ बिजनेस गर्न पाउँछन् भनेर हेरिरहेका हुन्छन् तर अहिलेसम्म प्रयासै भएको छैन, जुन सरकार आए पनि रिपोर्ट लेख्यो बस्यो, त्यत्तिमै सीमित हुने गरेको छ । नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्ने काम खोई गरेको ?, म पनि होटल व्यवसायमा लागेको ४० वर्ष भयो, मैले आफ्नोे लगानी गर्ने काम हो, सकेजति गरिरहेको छु । मैले यहाँ गर्ने लगानी विदेशमा गरेको भए धेरै प्रगति गरिसक्थेँ । नेपालमै केही गरौं भनेर यहाँ लगानी गर्या हो नि ।
लगानीकर्ताले आफूले गर्ने लगानी सुरक्षाको ग्यारेन्टी खोजिरहेको अवस्था पनि छ नि ?
हो, यहाँ कतिबेला के हुने हो, कसले के विध्वंश गर्ने हो, केही भन्न नसकिने अवस्था छैन । जेन-जी आन्दोलनमा हिल्टन होटल जल्यो । हिल्टन होटल भनेको इन्टरनेसनल ब्राण्ड हो । जसका संसारभर छ, सात हजार चेन होटलहरू छन् । हिल्टन होटलमा नेपालमा आठ अर्ब लगानी गर्ने मान्छेले अमेरिकामा लगानी गरेको भए रेड कार्पेटमा स्वागत हुन्थ्यो तर हाम्रोमा आगो लगाइयो । कसले आगो लगाएको भन्ने पनि थाहा छ । सबै सिसिटिभीमा देखिन्छ तर कारबाही के भयो त तिनीहरूलाई ? अहिले होटललाई इन्स्योरेन्सको पैसा लिन पनि गाह्रो भइरहेको छ । अहिलेको सरकार चुनावी सरकार भए पनि विध्वंशकारीहरूलाई कारबाही गर्न कानुनले रोकेको छैन त ? नेपालमा हातहतियार लुटिएका छन् । कैदीबन्दी भागेका छन् । यसरी डरत्रासको वातावरणमा कसैले पनि काम गर्न सक्दैन ।
नेपालमा अधिकांश परम्परागत पर्यटकीय गन्तव्यहरूको मात्रै प्रवद्र्धन भइरहेको देखिन्छ, नयाँ गन्तव्य प्रवद्र्धनको अवस्था चाहिँ के छ ?
नयाँ पर्यटकीय गन्तव्यहरू पनि पहिचान भएका छन् । सातवटै प्रदेशमा टुरिस्ट डेस्टिनेसनहरू छन् । तर, नयाँ गन्तव्यहरूमा पूर्वाधारको विकास भने हुन सकेको छैन । सडक, पानी, बिजुली हामीले बनाउने कुरा भएन । हामीले त होटल बनाइदिन्छौं । रारामा पूर्वाधार भयो भने होटल म नै पनि बनाउन तयार छु । त्यहाँ पूर्वाधार भयो भने तुरुन्तै विकास पनि हुन्छ । हुन त पहिलेभन्दा अहिले धेरै विकास भएको छ । मानिसहरू पनि अहिले नयाँ-नयाँ ठाउँ जान थालेका छन् । आन्तरिक पर्यटन बढ्दै गएको छ । सरकारले पनि कर्मचारीहरूलाई देश दर्शन भ्रमण प्याकेज घोषणा गरेको थियो । घोषणा चाहिँ भयो तर कार्यान्वयन भएन ।
अहिले आन्तरिक पर्यटनको अवस्था कस्तो छ ?
कुनै पनि देशको पर्यटन विकासको आधार भनेकै आन्तरिक पर्यटन हो । जुन देशमा डोमेस्टिक टुरिजम बलियो हुन्छ, त्यो देश सधैं माथि जान्छ । हाम्रो नजिकै रहेको तिब्बतमा चाइनाबाट महिनामा एक करोड चिनियाँहरू घुम्न आउँछन् । त्यहाँ त विदेशी नगए पनि पुगिहाल्यो त, त्यसो त हाम्रो नेपालमा पनि आजको दिनमा ठूला-ठूला होटलहरूमा नेपाली पर्यटकहरू धेरै बढेका छन् । आजभन्दा १० वर्षअघिसम्म सोल्टी होटलजस्ता ठूला होटलहरूमा ७० प्रतिशत विदेशी पर्यटक हुन्थे भने १०-१५ प्रतिशतमात्रै नेपालीहरू हुन्थे तर आज त्यसको ठीक उल्टो अवस्था छ । ७० प्रतिशत नेपाली हुन्छन्, विदेशी त फाट्टफुट्टमात्रै हुन्छन् । नेपालीहरूको पनि क्रयशक्ति बढेको छ । फेरि हामी नेपालीहरू भनेका घुम्ने जात नै हौं । त्यसका लागि अलिकति व्यवस्था मिलाउनु त प¥यो । देशैभरि जुन हाम्रा च्याप्टरहरू छन् । जहाँ नेपालीहरूलाई स्पेसल प्याकेज हुन्छ । नेपालीहरूको अमिलो, पिरो, खसीको मासुको झोल खाने आफ्नै परम्परा हुन्छ । रमाइलो गर्ने, नाचगान गर्ने हुन्छ । नेपालीहरूलाई हामीले त्यस्तै किसिमका प्याकेज बनाएका छौं । त्यसलाई संस्थागत गर्न त अलिकति राज्यले पनि सहजीकरण गरिदिनुप¥यो । तीन चार लाख सरकारी कर्मचारी छन् । उनीहरूलाई देश दर्शन कार्यक्रम दियो भने त त्यसबाटै हाम्रो आन्तरिक पर्यटन त बढिहाल्यो नि, राज्यले तीन चार दिन पेड होलिडे दियो भने त घुम्न निस्किहाल्छन् । जस्तो बैंकका कर्मचारी, स्कुलका शिक्षक कर्मचारी होलान् ।
जुन देशमा डोमेस्टिक टुरिजम बलियो हुन्छ, त्यो देश सधैं माथि जान्छ ।
एयरपोर्ट त चलेन, चलेन, बाटोघाटो ठेक्कासमेत तोड्दै हिँडेका छन् ।
प्रचारले मात्रै पर्यटक बढ्दैनन्, कनेक्टिभिटी हुनुपर्छ ।
आधा घण्टासम्म जहाज हावामा होल्ड गरेर पर्यटक आउँछन् ?
भ्याटले गर्दा हवाई भाडा अत्यधिक महँगो भयो ।
हवाई टिकट महँगो भएकाले पनि पर्यटनमा समस्या परेको व्यवसायीको गुनासो थियो नि ?
हो, नेपालमा आउने जुन हवाई भाडा हो, त्यो अत्यधिक महँगो छ । महँगो हुनुको कारण हाम्रो हवाई भाडामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर(भ्याट) हो । जबकि अरू देशमा हवाई भाडामा भ्याट लाग्दैन । आज दिल्लीबाट अमेरिका जान ८० हजार भारतीय रुपैयाँ लाग्छ । काठमाडौंबाट अमेरिका जाने हो भने त्यसको झण्डैै डबल भाडा लाग्छ । अहिलेको जमाना फोनबाट सबै कुरा बुक हुन सक्छ भने नेपालबाट टिकट किन किन्नुपर्यो ?, जहाँबाट किने पनि भयो । त्यसैले अहिले राज्यले पाउने कर पनि गुमिरहेको छ भने ट्राभल एजेन्सीहरूको काम पनि बाहिर गइरहेको अवस्था छ । कुनै पनि फोरम वा डेलिगेसन जाँदा हामी निरन्तर राज्यलाई यसबारेमा ध्यानाकर्षण गराइरहेका हुन्छौं तर कार्यान्वयन भइरहेको छैन ।
एउटा फरक प्रसंग, नेपालका तारे होटलहरूले नेपाली कृषि उत्पादन प्रयोग गर्दैनन्, आयातितमात्रै प्रयोग गर्छन् भन्ने अधिकांश कृषि उद्यमीको गुनासो छ नि ?
मूल्य र गुणस्तरका कारण होटलहरूले आयातित वस्तु प्रयोग गर्नुपरेको हो किनभने होटल व्यवसायीले ठूलो लगानी गरेका हुन्छन् । आफ्नो गुडविलको पनि कुरा हुन्छ । जथाभावी गर्न थाल्यो भने होटलप्रति विश्वास घट्छ । गुुणस्तरपछि मूल्यको कुरा पनि हुन्छ । सामान प्रतिस्पर्धी मूल्यमा पाउनुपर्यो । खाद्यान्न, अण्डा, मासुलगायत अधिकांश नेपाली उत्पादन महँगो छ । त्यसो त सकेसम्म स्वदेशी वस्तु नै प्रयोग गर्ने मन हुन्छ तर यहाँ कृषि उपजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ । अरू देशमा पाँच प्रतिशतमात्रै भ्याट लाग्छ । भनेपछि नेपालको भन्दा बाहिरबाट ल्याउने कृषि उपज सस्तो पर्ने भयो ।
नेपालमा पर्यटनको भविष्य कस्तो देख्नुहुन्छ ?
पर्यटनले देशको आर्थिक कायापलट गर्न सक्छ, त्यो पनि छोटो समयमै ।तपाईंले उद्योग खोल्नुभयो अथवा व्यापार गर्नुभयो भने समय लाग्छ । उद्योग खोल्न अझै लामो समय लाग्न सक्छ तर टुरिजममा त गेष्टहरू एयरपोर्टमा ल्याण्ड गर्नेबित्तिकै, भिसा लिनेबित्तिकै खर्च गर्ने काम सुरु भइहाल्यो । इकोनोमीमा उसले पैसा त पम्प गर्न थालिसकेको हुन्छ । हुन त नेपालको सरदर दिनमा ४८ डलर भनेको छ । त्योभन्दा बढी खर्च गरेको हुन्छ । तर, यसको उचित व्यवस्थापन गर्न जान्नुपर्यो । व्यवस्थापन गर्न नजान्दा अलिकति लगानी पलायन पनि भइरहेको छ । किनभने भोलि कुन सरकार र कुन मन्त्री आउने हो, उसको पोलिसी के आउने हो, थाहा हुँदैन । सरकार भनेको त अविच्छिन्न उत्तराधिकारी निकाय हुनुपर्ने हो नि तर यहाँ अर्को चेन्ज हुनेबित्तिकै सबै कुरा चेन्ज हुन्छ । तर पनि सकारात्मक सोचौं, यसमा सुधार हुँदै जाला ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच