काठमाडौं। नेपाली कांग्रेसको हालको अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गरेका छन्। विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेस विभाजित बनेको र यसले आगामी निर्वाचनमा प्रभाव पार्ने विश्लेषण भइरहेको छ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई पार्टीको आधिकारिकता दिएपछि कांग्रेसभित्रको विवाद थप चर्किएको छ। यस सन्दर्भमा एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवाद कानुनी र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने बताउनुभयो।
उहाँले अदालत सबैका लागि खुला रहेको उल्लेख गर्दै संविधान र कानुनअनुसार निर्णय भए–नभएको विषय अदालतले नै टुंग्याउने बताउनुभयो।
उहाँले भन्नुभयो, “अदालत जान त जसलाई पनि खुला छ नि। अदालत त्यसकै लागि गठन गरिएको हो। उजुरी आएपछि कानुनसम्मत छ कि छैन, संविधानसम्मत छ कि छैन भनेर हेर्ने काम अदालतले गर्छ।”
यता, एमाले उपाध्यक्ष रघुजी पन्तले कांग्रेसको विभाजन देश, जनता र लोकतन्त्रका लागि नकारात्मक भएको टिप्पणी गर्नुभयो। वर्तमान राजनीतिक अवस्थामा कांग्रेस फुट्नु सुखद् विषय नभएको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “देश, जनता र लोकतन्त्रको लागि अहिलेको अवस्थामा कांग्रेस फुट्नु सुखद् कुरा होइन।”
उल्लेखनीय छ, निर्वाचन आयोगले शुक्रबार गगन थापा पक्षलाई नेपाली कांग्रेसको आधिकारिकता प्रमाणित गरेको थियो। तर संस्थापन पक्षले आयोगको निर्णय एकलौटी भएको आरोप लगाउँदै सर्वोच्च अदालत जाने घोषणा गरेको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच