नवलपरासी । विशेष महाधिवेशनसम्म शेरबहादुर देउवा पक्षमा खुलेर लाग्दै आएका निवर्तमान नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले गगन थापा नेतृत्वको आधिकारिक नेपाली कांग्रेसलाई समर्थन जनाउनुभएको छ। देउवा पक्षीय कांग्रेसले निर्वाचन आयोगको निर्णयप्रति असहमति जनाउँदै अदालत जाने तयारी गरिरहेका बेला सोही पक्षका केन्द्रीय सदस्य कँडेलले शनिबार विज्ञप्ति जारी गर्दै नवनिर्वाचित नेतृत्वसँग एकताबद्ध भएर अघि बढ्ने घोषणा गर्नुभएको हो।
कँडेलले जारी गर्नुभएको विज्ञप्तिमा विशेष महाधिवेशनपछि केही समय नेपाली कांग्रेसभित्र देखिएको अन्यौलता माघ २ गते निर्वाचन आयोगले दिएको निर्णयसँगै समाप्त भएको उल्लेख गरिएको छ। उहाँले ‘रुख चिन्ह र चारतारे झण्डा’ मुनि एकढिक्का भई युवाको चाहना र भावनाअनुसार नवनिर्वाचित सभापति गगन कुमार थापाको नेतृत्वमा अघि बढ्न नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ। कंडेलले आज आफ्नो फेसबुकवालमार्फत थापालाई बधाई र सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।
पूर्वगृहराज्यमन्त्रीसमेत रहनु भएका कँडेलले जिल्लाबाट विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका केही प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता गराउन भूमिका खेलेको बताइएको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएसँगै कँडेलले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न उक्त पक्षलाई समर्थन गरेको चर्चा जिल्लाका कांग्रेस कार्यकर्ताबीच सुरु भएको छ।
आयोगको निर्णयपछि नेपाली कांग्रेसले उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएको छ। यही प्रक्रियासँगै आगामी निर्वाचनका लागि टिकट सुनिश्चित गर्ने उद्देश्यले कँडेलले विज्ञप्ति निकाल्दै आधिकारिक कांग्रेसमा एकताबद्ध हुन आह्वान गरेको चर्चा समेत जिल्लामा भइरहेको छ।
कँडेल नवलपरासीबाट सातौँ पटक प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहनुभएको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट कँडेलसहित अन्य नेताहरूको नाम यसअघि नै सिफारिस भइसकेको छ। उहाँले यसअघि ६ पटक निर्वाचन लडिसक्नु भएको छ। २०५१, २०५६ र २०७४ सालको निर्वाचनमा विजय हासिल गर्नुभएका कँडेल २०६४, २०७० तथा २०७९ सालको निर्वाचनमा पराजित हुनुभएको थियो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच