काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गते झापामा आयोजना हुने चुनावी साधारणसभामा दुई समूहबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । उच्च अदालत पाटन र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्वाचन प्रक्रिया तत्काल अघि नबढाउन दिएको निर्देशनलाई बेवास्ता गर्दै एन्फा नेतृत्व निर्वाचनमा अघि बढेको हो ।
मनोनयन दर्ताको अन्तिम दिन शनिबार दीर्घबहादुर केसी (कुमार) ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएसँगै दुई समूहबीचको चुनावी भिडन्त औपचारिक बनेको हो । केसीले आफ्नै समूह बनाएर निर्वाचनमा होमिनुभएको छ । उहाँले अदालत र राखेपको निर्देशनविपरीत बाध्य भएर उम्मेदवारी दिनुपरेको प्रतिक्रिया दिनुभएको छ ।
यता, वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङले यसअघि नै अध्यक्ष पदमा दोहोरिने गरी उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । नेम्वाङले हालको कार्यसमितिका अधिकांश पदाधिकारीलाई आफ्नो टिममा समेट्दै निरन्तरताको पक्षमा चुनावी अभियान अघि बढाउनुभएको छ ।
शनिबार नै वरिष्ठ उपाध्यक्ष पदमा सुन्दर नरसिंह जोशीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपाध्यक्ष पदका लागि उत्तमराज भण्डारी, अनिल श्रेष्ठ र पेमा डोल्मा लामाले उम्मेदवारी दिनुभएको छ ।
यसअघि उच्च अदालत पाटन र राखेपले एन्फामा अर्ली इलेक्सनको आवश्यकता नरहेको ठहर गर्दै तत्काल निर्वाचन प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएका थिए । अदालतले दुवै समूहलाई माघ ६ गते छलफलका लागि बोलाएको छ भने राखेपले एन्फालाई विधानमा ११ बुँदे संशोधन गरेर मात्रै निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, एन्फा नेतृत्वले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को स्वीकृतिका कारण निर्वाचन प्रक्रिया अघि बढाउनुपरेको दाबी गर्दै आएको छ ।
यसैबीच, यसअघि नै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका विराटजंग शाहीले भने उम्मेदवारी दर्ता गराउनुभएन । उहाँले राखेप र अदालतको आदेशको अवहेलना हुने भन्दै निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय लिएको बताउनुभएको छ ।
एन्फाको निर्वाचनलाई लिएर देखिएको यो विवादले नेपाली फुटबल प्रशासन थप अन्योल र टकरावतर्फ धकेलिएको देखिएको छ । अदालत र राखेपको आगामी निर्णयले निर्वाचनको भविष्य कस्तो हुने भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच