काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप क्वालिफायर आज (आइतबार)देखि सुरु हुँदैछ । माघ १८ गतेसम्म सञ्चालन हुने ग्लोबल क्वालिफायरका खेलहरू काठमाडौंका दुई मैदानमा हुनेछन् । टी-२० विश्वकपको विश्व छनोटका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी मैदानमा हुनेछन् । खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्याण्डविरूद्ध हुनेछ । छनोटको खेल निःशुल्क हेर्न पाइने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ग्लोबल छनोटका खेल हेर्न दर्शकले शुल्क तिर्नुपर्ने छैन ।
समूह ‘बी’मा रहेको नेपालले स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । थाइल्याण्ड एसिया छनोटको च्याम्पियन टोली हो । विश्व वरीयतामा १२औँ स्थानमा रहेको थाइल्याण्डसँग नेपालले विगतमा सातपटक प्रतिस्पर्धा गरे पनि सबै खेलमा पराजित भएको थियो । त्यसपछि १४औँ वरीयताको नेदरल्याण्ड्ससँग नेपालले विगतमा खेलेका तीनवटै खेलमा पराजय भोग्नुपरेको थियो । महिला टोलीले ११औँ वरीयताको स्कटल्याण्ड र १५औँ वरीयताको जिम्बाब्वेसँग भने पहिलोपटक खेल्दैछ । वरीयताका आधारमा हेर्दा नेपालका लागि पहिलो खेलदेखि नै कडा चुनौतीको सामना गर्नुपर्नेछ । वास्तवमा घरेलु मैदान र दर्शक नै महिला टोलीको मनोबल बढाउने प्रमुख हतियार हुने ठानिएको छ ।
नेपालको पहिलो खेल आइतबार माथिल्लो मूलपानी मैदानमा थाइल्याण्डविरुद्ध हुनेछ । नेपालले दोस्रो खेल माघ ८ गते नेदरल्याण्ड्ससँग माथिल्लो मूलपानी मैदानमा खेल्नेछ । नेपालको तेस्रो खेल जिम्बावेविरुद्ध त्रिवि मैदानमा माघ १० गते हुनेछ भने माघ १२ गते त्रिवि मैदानमा स्कटल्याण्डसँग चौथो तथा अन्तिम खेल हुनेछ । प्रारम्भिक चरणको खेलपछि दुईवटै समूहबाट तीन-तीन टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर-६’ चरणको खेलपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले आगामी महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।
यद्यपि, ‘सुपर-६’ चरणको खेलपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले सेमिफाइनल र फाइनल खेलका लागि पनि भिडन्त गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल र फाइनल खेल भने कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ ।
नेपालमा आयोजना हुन लागेको यो हालसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगितामा विश्वका विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगिताबाट चारवटा टोलीले सन् २०२६ मै आयोजना हुने आइसिसी महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । समूह ‘ए’मा बंगलादेश, आयरल्याण्ड, पिएनजी, नामिबिया र अमेरिका छन् । समूह ‘बी’मा स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बावे, नेदरल्याण्ड्स र नेपाल छन् ।
महिला टी-२० विश्वकपको १०औँ संस्करण सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिख (२०८३ जेठ २९ देखि असार २१) सम्म आयोजना हुनेछ । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने उक्त विश्वकपमा १२ टोलीको सहभागिता रहनेछ ।
आठवटा टोलीले यसअघि नै आगामी विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् भने चारवटा टोलीको टुंगो नेपालमा आयोजना हुने यही ग्लोबल छनोट प्रतियोगिताबाट लाग्नेछ । नेपालमा आयोजना हुने विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी टोलीमध्ये बंगलादेशले यसअघि ६ पटक महिला टी-२० विश्वकप खेलिसकेको छ । यसका अतिरिक्त आयरल्याण्डले चार तथा स्कटल्याण्ड र थाइल्याण्डले एक-एकपटक विश्वकपको अनुभव बटुलिसकेका छन् । नेपालले भने हालसम्म महिला टी-२० विश्वकप खेल्ने अवसर पाएको छैन । त्यसैले घरेलु मैदानमा छनोट चरण पार गर्दै पहिलोपटक विश्वकप खेल्ने यो गतिलो अवसर पनि हो ।
विश्वस्तरीय छनोट प्रतियोगिताका लागि सहभागी सबै राष्ट्रले टोलीको घोषणा पनि गरिसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पनि आफ्नो टोलीको घोषणा यसअघि नै गरिसकेको छ । घोषित नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचनाकुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् । विश्वकप छनोटका लागि घोषित नेपाली टोली सन्तुलित छ । टोलीमा अलराउण्डर खेलाडीको बाहुल्यता देखिन्छ । टोलीमा अनुभवी र युवा खेलाडीको समिश्रण पनि छ ।
महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअघि खेलिएका सबै खेलमा नेपाल पराजित भएको थियो । अभ्यास खेलमा आयरल्याण्ड, स्कटल्याण्ड र नेदरल्याण्ड्सले जित हात पारेका छन् । आयरल्याण्डले बलियो प्रतिद्वन्द्वी जिम्बाब्वेलाई चार विकेटले हरायो । अभ्यास खेलमा आयरल्याण्डको यो लगातार दोस्रो जित हो । यसअघि आयरल्याण्डले नेपाललाई ९९ रनले हराएको थियो । जिम्बाब्वेको भने अभ्यास खेलमा यो लगातार दोस्रो हार हो । पहिलो अभ्यास खेलमा जिम्बाब्वेको टोली पपुवा न्युगिनी (पिएनजी)सँग ११ रनले पराजित भएको थियो । अर्को खेलमा स्कटल्याण्डले पिएनजीलाई सात विकेटले हरायो । स्कटल्याण्डको टोली भने पहिलो अभ्यास खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।
सन् २००९ देखि आइसिसी टी-२० विश्वकप सुरुवात भएको हो । आइसिसीले ग्लोबल क्वालिफायर भने २०१३ देखि मात्र आयोजना गर्न थालेको हो । जुन २०१४ को चौथो संस्करणको टी-२० महिला विश्वकपका लागि थियो । त्यसयता निरन्तर ग्लोबल छनोट आयोजना भइरहेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच