काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा अप्राकृतिक चुनावी गठबन्धन र सत्ता केन्द्रित सम्झौता नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगबाट मान्यता पाएपछि पहिलोपटक बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको हो । पार्टीभित्रको आपसी सद्भाव, सहकार्य र एकताबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना गर्न सकिने बैठकले निष्कर्ष निकालेको छ । पार्टी अब पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा लाग्ने स्पष्ट पार्दै पार्टी प्रवक्ता देवराज चालिसेले भन्नुभयो, ‘निर्वाचनका लागि समय निकै छोटो भएकाले तत्कालै संसदीय बोर्डको बैठक बस्ने निर्णय गरेका छौँ । बोर्डको बैठकबाट उम्मेदवार छनोटलगायत निर्वाचनसम्बन्धी कामहरू चाँडो टुंग्याइनेछ ।’
निर्वाचन आयोगबाट मान्यता पाएपछि पहिलोपटक पार्टी सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ । बैठकले पार्टीमा फर्कन आह्वान गर्ने निर्णय गरेको जानकारी दिँदै प्रवक्ता चालिसेले भन्नुभयो, ‘पार्टीमा निष्क्रिय रहनुभएका र विभिन्न कारणले पार्टी छाडेका साथीहरूलाई फेरि पनि पार्टीमा जोडिनका लागि आह्वान गरेको छ ।’ आगामी फागुन २१ गतेको निर्वाचनमा आफूलाई सरिक गर्नका लागि सबै पार्टी पंक्तिलाई सक्रियताका साथ लाग्न अपिल गरेको जानकारी दिँदै चालिसेले भन्नुभयो, ‘पार्टीका सबै पंक्ति, मतदाता, देश र विदेशमा रहेका सबै कांग्रेसजनहरू सबै साथीहरूलाई नयाँ ऊर्जाका साथ, पुनः एकताका साथ फागुन २१ को निर्वाचनमा आफूलाई सरिक गर्नका लागि सक्रियताका साथ लाग्नका लागि अपिल गर्ने निर्णय गरेको छ ।’
साथै, नेपाली कांग्रेसकै नेतृत्वमा आगाडि बढ्ने प्रक्रियामा साथ र सहयोगका लागि सम्पूर्ण देशवासीबाट साथ प्राप्त हुने विश्वास पनि बैठकले राखेको उहाँले जानकारी दिनुभयो । बैठकले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता कार्यकर्तालाई अपिल पनि गरेको छ ।
शेरबहादुर देउवाप्रति आभार व्यक्त
नेपाली कांग्रेसले निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई पु¥याएको योगदान र दिएको नेतृत्वको उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको छ । आगामी दिनमा पनि पार्टीमा निवर्तमान सभापति देउवालगायत अग्रज नेताहरूको अभिभावकत्व रहिरहने बैठकले विश्वास गरेको छ । देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा आभार व्यक्त गर्ने निर्णय गरेको जानकारी दिँदै प्रवक्ता चालिसेले भन्नुभयो, ‘शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई पुर्याउनुभएको योगदान र दिनुभएको नेतृत्वको उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय भएको छ । आगामी दिनमा पनि उहाँको अभिभावकीय भूमिका पार्टीका लागि निरन्तर रहिरहनेछ भन्ने विश्वासका साथ आजको बैठकले उहाँलाई आग्रह र सम्मान गरेको छ ।’
देउवालाई पार्टीको अभिभावक र संरक्षक बनिदिन सभापति थापाको आग्रह
नेपाली कांग्रेसका नवनियुक्त सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावक र संरक्षक बनिदिन आग्रह गर्नुभएको छ । कांग्रेसलाई एकताबद्ध गर्न आफूले शेरबहादुर देउवा र शेखर कोइरालाको सहयोगको अपेक्षा राखेको स्पष्ट पार्दै सभापति थापाले भन्नुभयो, ‘निवर्तमान सभापतिबाट अभिभावकको, संरक्षकको भूमिकाको अपेक्षा गरेको छु । अब उहाँले आह्वान गरेर भनिदिनुपर्छ- अब सकियो एक ठाउँमा आउनु भनेर ।’ सभापति थापाले देउवासँग आफूले भेटेर पनि छलफल गर्ने जानकारी दिँदै भन्नुभयो, ‘एक/दुई दिन भित्रमा एक ठाउँमा भएर छलफल गरिरहेको देख्नुहुन्छ । तीन दिनपछि चुनावको मनोनयन छ, यो बीचमा हामी सबै मिलाउँछौँ ।’
विशेष महाधिवेशनको डोब बाँकी नरहेको र अब कांग्रेस एकढिक्का भएको समेत दाबी गर्दै सभापति थापाले भन्नुभयो, ‘कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत भएन कि भन्ने र कानुनी परीक्षण गर्ने कुरा स्वाभाविक थियो, हामी पनि आयोग गएको हो । आयोगले निर्णय गरिसकेपछि सबैले स्वीकार गरेर एकै ठाउँमा बसेर निर्णय गर्न अप्ठेरो छैन ।’
मुद्दा-मामिला नगर्न अर्को पक्षलाई आग्रह
नेपाली कांग्रेसले निर्वाचन आयोगले कांग्रेसको विधान र संविधानअनुसार नै पार्टीलाई आधिकारिकता प्रदान गरिसकेको उल्लेख गर्दै यस विषयमा मुद्दा मामिला नगर्न अर्को पक्षलाई आग्रह गरेको छ । केन्द्रीय समिति बैठकले शेरबहादुर देउवा पक्षलाई अदालत गएर चुनावको मुखमा पार्टीलाई संकटमा नहाल्ने विश्वास पनि व्यक्त गरेको छ । पार्टी सबैको भएको र मुद्दा मामिला गर्नु आवश्यक नरहेको जानकारी दिँदै बैठकपछि प्रवक्ता चालिसेले भन्नुभयो, ‘असहमति हुन्छन् तर यो पार्टी सबैको हो । असहमत मतको रक्षा पार्टीले गर्छ । हिजोका घटनाको आधारमा कुनै आग्रह र पूर्वाग्रह पार्टीले राख्दैन । विगतमा टिकट वितरणमा अन्याय पार्टीले कसैलाई गर्दैन ।’
टिकट बाँड्न संसदीय बोर्ड गठन
कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । बोर्डको संयोजक सभापति गगनकुमार थापा रहनुभएको छ । जसमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहनेछन् । पार्टीका तल्ला निकायहरूको सिफारिशका आधारमा अब यो संसदीय बोर्डले उम्मेदवारहरू चयन गर्नेछ । उपसभापति विश्वप्रकाश शर्माका अनुसार १६५ क्षेत्रमै कांग्रेसले उम्मेदवारी दिनेछ । उम्मेदवारी दर्ता माघ ६ गते छ ।
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज अदालत जाँदै
नेपाली कांग्रेसको विघटित केन्द्रीय समिति पार्टीको आधिकारिकताबारे शुक्रबार निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध अदालत जाने भएको छ । शनिबार सानेपामा बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिनेगरी निर्वाचन आयोगबाट भएको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो । बैठकपछि नेता डा.प्रकाशशरण महतले भन्नुभयो, ‘निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयलाई कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ । निर्वाचन आयोगको निर्णयको खिलाफमा हामी सर्वोच्च अदालत जान्छौँ ।’ विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्यासमेत नहेरी निर्वाचन आयोगले एकलौटी रूपमा गरेको निर्णय दूषित मनशायबाट प्रेरित भएको टिप्पणी गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘विधिवत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधनानकि ढंगले परिवर्तन गरी कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनशाय प्रष्ट देखिन्छ । यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो ।’ निर्वाचन आयोगले १४औँ महाधिवेशनबाट निर्वाचित पक्षलाई नबोलाएको समेत आरोप लगाउँदै महतले भन्नुभयो, ‘हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता उहाँहरूले पूरा गर्नुभएन । नजिर, विधान, निर्वाचनसम्बन्धी व्यवस्था कुनैको पनि पालना गरेन । अन्यायपूर्ण र दूषित मनशायबाट गरेको निर्णय भएकाले सर्वोच्च अदालतल नै अन्तिम सुनुवाइ गर्ने ठाउँ हो । पहिला कानुनी लडाइँ लड्छौँ । स्टे अर्डर आउला । निर्वाचन आयोगले निर्णय गर्दैमा हामी आधिकारिक नरहने कुरा हुँदैन । त्यसकारण सर्वोच्च अदालत जाँदै छौँ ।’
निर्वाचन आयोगको निर्णयविरुद्ध मुद्दा दिन अख्तियारी पूर्णबहादुर खड्कालाई दिइएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिक पार्टीको मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ ।
कांग्रेस फेरि मिल्छ : डा. शेखर
कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद संवादबाट समाधान हुने दाबी गर्नुभएको छ । शनिबार बिहान सानेपामा तत्कालीन सभापति शेरबहादुर देउवा समूहको बैठकमा सहभागी हुन जानुभएका कोइरालाले संवादमार्फत समाधान निकाल्दै कांग्रेस पुनः एक हुने दाबी गर्दै भन्नुभयो, ‘नुटुक्रियोस् भन्ने हो । फेरि मिल्छ । मिलाउनुपर्छ । संवाद गर्नुपर्छ । संवादबाट नेपाली कांग्रेसको विवाद सल्टिन्छ । विश्वमा लडाइँहरू हुन्छन् । फेरि मिलेकै हुन्छ । सबै मिलाइन्छ ।’
कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जान्छ : उपसभापति शर्मा
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जाने बताउनुभएको छ । पार्टीका अन्य नेताहरूले पनि निर्वाचन आयोगको निर्णयलाई आत्मसात गर्ने र चुनावमा पार्टी एकताबद्ध भएर जाने दाबी गर्दै शर्माले भन्नुभयो, ‘विधि स्थापनामा लामो संघर्ष गरेका थुप्रै नेता हाम्रो पार्टीमा हुनुहुन्छ । विश्वप्रकाश र गगन थापाको उमेरजति विधि स्थापना गर्न योगदान गरिसक्नु भएका हाम्रा श्रद्धेय कुनै पनि नेताहरूले निर्वाचन आयोगले विधिपूर्वक गरेको निर्णयलाई आत्मसात गर्नु नै हुनेछ । हामी एकताबद्ध भएर निर्वाचनतर्फ अघि बढ्छौँ । निर्वाचनतर्फ मात्रै होइन । नवीन कांग्रेसमार्फत नवीन समाज बनाउने कुरामा हामी सफल हुन्छौँ ।’
महामन्त्री प्रदीप पौडेलले कांग्रेसको एकता बलियो बनाउन सबै अग्रजहरूलाई सम्मान गर्ने सबैलाई अवसर प्रदान गर्ने बताउनुभयो । एउटै पार्टीभित्रका समस्या छलफलमार्फत सहमति खोजेर अगाडि बढ्ने र जनताले चाहेको जस्तै कांग्रेस बनाउने प्रतिबद्धता व्यक्त गर्दै महामन्त्री पौडेलले भन्नुभयो, ‘विधि प्रक्रियामार्फत अघि बढेको विषयमा कसैले प्रश्न गर्नु स्वाभाविक भएन । व्यवहारगत पक्षबाट मिलाउने कुरा, अवसरहरू प्रदान गर्ने कुरा, सबैलाई समेट्ने कुरा कसैलाई बाहिर बस्न नदिएर अगाडि लैजाने कुरामा चाहिँ हामीहरू उदारतापूर्वक काम गर्नेछौँ । मुख्यगरी व्यवहार अनुदार भयो भन्ने विगतको गुनासो हुँदैन ।’
कांग्रेसमा परिवर्तन आएको छ, खुसी भएर अंगालो मार्नुपर्दछ : कोइराला
कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिँदै पार्टी फुटेको नभई परिवर्तन आएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै कोइरालाले भन्नुभयो, ‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हाँसेर खुसी भएर अँगालो मार्नुपर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु ।’ उहाँले सभापति थापालाई बीपीको विचार र गिरिजाको संगठन नबिर्सेर पार्टी हाँक्न सुझावसमेत दिनुभएको छ । कांग्रेसका नेता डा.सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच