स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। एमालेले स्याङ्जा क्षेत्र नम्बर १ बाट मीनप्रसाद गुरुङ र क्षेत्र नम्बर २ बाट खिमबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
क्षेत्र नम्बर १ का उम्मेदवार गुरुङ गण्डकी प्रदेशसभाका पूर्वसदस्य तथा नेकपा एमाले स्याङ्जाका पूर्वअध्यक्ष हुनुहुन्छ। उहाँले विभिन्न सामाजिक सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको अनुभव छ।
क्षेत्र नम्बर २ बाट उम्मेदवार चयन भएका थापा कालीगण्डकी गाउँपालिकाका बहालवाला अध्यक्ष हुनुहुन्छ। उहाँ २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा विजयी हुनुभएको थियो। दोस्रो कार्यकालमा गाउँपालिका अध्यक्ष रहँदै थापालाई पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको हो। उम्मेदवार चयन भएसँगै गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिएर निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुने उहाँले बताउनुभएको छ। थापा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका महासचिव तथा एमाले केन्द्रीय सदस्यसमेत हुनुहुन्छ।
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भई गतिविधि सञ्चालन भइरहेका छन्। जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
यसपटक स्याङ्जामा कुल दुई लाख ४८ हजार ८१६ जना मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार पुरुष मतदाता एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक जना रहेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा एक लाख १७ हजार ९३० मतदाता छन्।
एमालेबाहेक अन्य राजनीतिक दलहरूले भने स्याङ्जामा हालसम्म आधिकारिक रूपमा उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच