काठमाडौं । आइसिसी टी-२० महिला विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपालले हारबाट यात्रा सुरु गरेको छ । आइतबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भयो । सामान्य लक्ष्य प्रस्तुत गर्न नसक्दा नेपाल प्रतियोगिताको सुरुवाती खेलमै दबाबमा परेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनमात्र जोड्न सक्यो । नेपालका लागि ओपनर विन्दु रावल सर्वाधिक रन बनाउने खेलाडी बन्नुभयो । उहाँले ५६ बलको सामना गर्दै ६ चौकासहित ४४ रनको उपयोगी पारी खेल्नुभयो । उहाँलाई सुरुवातमा साथ दिनुभएकी अर्की ओपनर सम्झना खड्का आक्रामक देखिनुभयो । सम्झनाले ११ बलमा ६ चौकासहित २६ रन जोड्दै छोटो तर प्रभावशाली योगदान दिनुभएको थियो ।
ओपनिङ जोडीले राम्रो सुरुवात दिलाए पनि मध्यक्रम धराशायी हुँदा नेपाल ठूलो स्कोर बनाउन असफल भयो । सातौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएकी रुविनाले १७ रन जोड्नुभयो भने उपकप्तान पूजा महतोले १२ रन बनाउनुभयो । यीबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्, जसले टोलीको समग्र ब्याटिङ कमजोर देखियो ।
थाइल्याण्डका बलरहरू निकै अनुशासित देखिए । थिपात्चा पुथावङले सर्वाधिक ३ विकेट लिँदै नेपाली ब्याटिङलाई धराशायी पार्नुभयो । त्यसैगरी ओन्निता कामचोम्पुले २ विकेट लिनुभयो भने चनिदा सुथ्थरुवाङ, सुलीपोर्न लाओमी र सुनीदा चातुरोंगातानाले समान १-१ विकेट लिनुभयो ।
१२३ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको थाइल्याण्डले १६.५ ओभरमै मात्र दुई विकेट गुमाउँदै लक्ष्य सहजरूपमा पूरा गर्यो । थाइल्याण्डकी ओपनर नथाकन चन्थामले उत्कृष्ट ब्याटिङ गर्दै ३९ बलमा ९ चौका र १ छक्कासहित ५७ रनको अविजित पारी खेल्नुभयो । उहाँलाई अर्की ओपनर अफिसरा सुवानचोनराथीले २८ रनको सहयोग गर्नुभयो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आउनुभएकी नन्नापात कोनचारोयकाईले ३२ रन जोड्दै टोलीको जित सुनिश्चित गर्नुभयो ।
नेपालका लागि बलिङतर्फ सीता रानामगरले केही आशा देखाउनुभयो । उहाँले दुई विकेट लिँदै थाइल्याण्डलाई सुरुवाती ‘ब्रेक थ्रु’ दिलाउनुभएको थियो । खेलको १०औँ ओभरको पहिलो बलमा उहाँले ओपनर अफिसरा सुवानचोनराथीलाई बोल्ड गर्नुभयो । त्यसपछि १६औँ ओभरमा विकेटकिपर नन्नापातलाई एलबिडब्लुको शिकार बनाउँदै आफ्नो दोस्रो विकेट हात पार्नुभयो । तर, अन्य बलरहरूबाट अपेक्षित साथ नपाउँदा नेपाल खेलमा फर्कन सकेन ।
यस हारसँगै नेपाललाई अब बाँकी खेलहरूमा जित अनिवार्य बनेको छ । विश्वकपमा स्थान सुरक्षित गर्न नेपालले आगामी खेलहरूमा ब्याटिङ र बलिङ दुवै पक्षमा सुधार गर्नुपर्ने देखिएको छ । यो जितसँगै थाइल्याण्डले प्रतियोगितामा दुई अंक जोडेको छ ।
नेपालमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीको सहभागिता छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्युगिनी (पिएनजी) र अमेरिका रहेका छन् । समूह ‘बी’ मा भने आयोजक नेपालसँगै नेदरल्याण्ड्स, स्कटल्याण्ड, थाइल्याण्ड र जिम्बाब्वे परेका छन् ।
प्रारम्भिक चरणको खेलपछि दुईवटै समूहबाट तीन-तीन टोली प्रतियोगिताको ‘सुपर-६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर-६’ चरणको खेलपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले आगामी महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन् । यद्यपि, ‘सुपर-६’ चरणको खेलपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले सेमिफाइनल र फाइनल खेलका लागि पनि भिडन्त गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल र फाइनल खेल भने कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ ।
यो छनोट प्रतियोगिताबाट चारवटा टोलीले आगामी आइसिसी महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् । महिला टी-२० विश्वकपको १०औँ संस्करण सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिख (२०८३ जेठ २९ देखि असार २१) सम्म आयोजना हुनेछ । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने उक्त विश्वकपमा १२ टोलीको सहभागिता रहनेछ । आठवटा टोलीले यसअघि नै आगामी विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् भने चारवटा टोलीको टुंगो यही ग्लोबल छनोट प्रतियोगिताबाट लाग्नेछ । नेपालले भने हालसम्म महिला टी-२० विश्वकप खेल्ने अवसर पाएको छैन ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच