काठमाडौं । नेपाली चलचित्र तथा संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित ‘म्युजिक नेपाल’ले मुलुकमै पहिलोपटक डल्बी एट्मस प्रविधिबाट मान्यताप्राप्त पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ ।
चार दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय म्युजिक नेपालले करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा अत्याधुनिक ‘म्युजिक नेपाल अडियो भिजुअल’ स्टुडियो निर्माण गरेको हो । शुक्रबार आयोजित उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि थिए भने वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कलाकारद्वयले पानसमा दीप प्रज्वलन गरी स्टुडियोको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
शनिबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको यो स्टुडियो भारतपछि दक्षिण एसियामा डल्बीले विस्तार गरेको पहिलो ठूलो परियोजना हो । डल्बीबाट सर्टिफाइड यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा उत्कृष्ट स्टुडियोमध्ये एक हो भने नेपालमा भने पहिलो डल्बी एट्मस साउण्ड मिक्सिङ स्टुडियो हो ।
स्टुडियोको प्रमुख विशेषता ३२.१ डल्बी एट्मस कन्फिगरेसन हो । सामान्य ५.१ वा ७.१ साउण्ड सिस्टमभन्दा फरक, ३२ वटा च्यानल र शक्तिशाली सब–वुफरमार्फत ध्वनिलाई थ्री-डी प्रभाव दिइने भएकाले दर्शकले आवाजको बीचमा रहेको अनुभूति गर्न सक्नेछन् । वर्षा, चराको उडान वा हेलिकप्टरको आवाज बहुआयामिक रूपमा महसुस गर्न सकिने यो प्रविधिले हलिउड र बलिउडस्तरको ‘इमर्सिभ’ अनुभव दिने दाबी गरिएको छ ।
स्टुडियो सेटअपका लागि बलिउडका चर्चित साउण्ड इन्जिनियर दमन सुद, डल्बी भारतका निर्देशक समीर सेठ र वरिष्ठ इन्जिनियर भरत रेड्डी काठमाडौं आउनुभएको थियो । यश चोपडा, करण जोहर र सञ्जय लीला भन्सालीका चलचित्रमा काम गरिसक्नुभएका दमन सुदले यो स्टुडियो भविष्यलाई लक्षित अत्याधुनिक संरचना भएको बताउनुभयो । उहाँका अनुसार, यसले नेपाली चलचित्रलाई अस्कर र संगीतलाई ग्रामी अवार्डसम्म पुर्याउने क्षमता राख्छ ।
नेपाली मौलिकता झल्काउन स्टुडियोका विभिन्न कक्ष हिमाल र राष्ट्रिय चराका नामबाट नामकरण गरिएको छ । सगरमाथा कक्षमा डल्बी एट्मस मिक्सिङ, मनास्लु कक्ष बहुउद्देश्यीय, अन्नपूर्ण र ल्होत्से एडिटिङ तथा मिक्सिङ स्विट, धौलागिरी रेकर्डिङ तथा कन्ट्रोल रूम र डाँफे डीआई (डिजिटल इन्टरमिडियरी) रूम रहेका छन् ।
नेपाली चलचित्रको कमजोर मानिने साउण्ड पक्ष सुधार्ने उद्देश्यले म्युजिक नेपालले विशेष सहुलियतसमेत घोषणा गरेको छ । स्टुडियो बुकिङ गर्ने पहिलो तीन ग्राहकलाई ५० प्रतिशत छुट दिइनेछ भने जनवरी ३१ सम्म सेवा लिने सबैलाई २५ प्रतिशत छुट उपलब्ध गराइने म्युजिक नेपालका प्रमुख सन्तोष शर्माले बताउनुभयो । उहाँका अनुसार, डल्बीबाट सर्टिफाइड भएपछि नेपाली र हलिउड फिल्मको ध्वनि गुणस्तर बराबर हुने छ ।
स्टुडियोमा सम्पादन, डीआई, रेकर्डिङ, प्रि-मिक्सलगायत सम्पूर्ण पोष्ट–प्रोडक्सन कार्य हुनेछन् । साथै, दक्ष प्राविधिक उत्पादनका लागि डल्बीका इन्जिनियर भरत रेड्डीले चलचित्र विकास बोर्डसँगको सहकार्यमा नेपालका २० जना साउण्ड इन्जिनियरलाई विशेष तालिमसमेत प्रदान गरिसक्नुभएको छ । यससँगै नेपाली फिल्मको पोष्ट–प्रोडक्सनका लागि विदेश जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । भरत रेड्डी ‘थ्री इडियट्स’, ‘पुष्पा’, ‘सितारे जमिन पर’लगायत चर्चित भारतीय चलचित्रसँग आबद्ध डल्बी सर्टिफाइड प्रशिक्षक हुनुहुन्छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच