सिन्धुली । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुलीमा आवश्यक तयारीलाई तिव्र गतिमा अगाडि बढाइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन, सुरक्षा निकाय तथा निर्वाचन कार्यालय सक्रिय बनेका हुन् । जिल्लामा राजनीतिक दहरुले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तिव्र पारेका छन् ।
शुक्रबार निर्माणाधिन जिल्ला समन्वय समितिको नयाँ भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय एकै साथ स्थापना गरिएसँगै निर्वाचन केन्द्रित गतिविधिलाई दु्रत रुपमा अगाडि बढाइएको हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई वटा निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ का लागि मुख्य निर्वाचन अधिकृतसहितको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निर्वाचन केन्द्रित शिक्षा तथा सचेतना, मतदान केन्द्र व्यवस्थापन, सामग्री संकलन तथा वितरण योजना, कर्मचारी खटाउने कार्य लगायतका आवश्यक तयारीलाई समेत तिव्र बनाइएको बताउनुभयो ।
राजनीतिक दल, उम्मेदवार, पत्रकार तथा सरोकारवालालाई आचारसंहिता पूर्ण रुपमा पालना गर्न उहाँको आग्रह छ । निष्पक्ष निर्वाचनमार्फत जनताको मताधिकार सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक भौतिक पूर्वाधार, सुरक्षाको व्यवस्था तथा पहुँचयुक्त मतदान केन्द्र निर्माणमा विशेष ध्यान दिइएको छ । जिल्ला सुरक्षा समितिको बैठकमार्फत निर्वाचन अवधिभर शान्ति, सुरक्षा मजबुत बनाउने, कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्ने तथा मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण सिर्जना गर्ने निर्णय समेत भएको छ ।
सिन्धुलीमा २७२ मतदान केन्द्र, १५१ मतदान स्थल कायम
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि जिल्लामा २ सय ७२ निर्वाचन केन्द्र र १५१ मतदान स्थल कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीकाअनुसार प्रतिनिधि सभा क्षेत्र नं १ मा १ सय ३८ र निर्वाचन क्षेत्र नं. २ मा १ सय ३४ मतदान केन्द्र कायम गरिएको हो । प्रतिनिधि सभा क्षेत्र नं १ मा ७७ मतदान स्थल र निर्वाचन क्षेत्र नं. २ मा ७४ मतदान स्थल कायम गरिएको छ ।
त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचन कुल मतदाता २ लाख १५ हजार १९ जना रहेका छन् । यसमध्य १ लाख ११ हजार ३२४ पुरुष मतदाता र १ लाख ३ हजार ६९५ महिला मतदाता रहेका हुन् ।
प्रतिनिधि सभा क्षेत्र नं. १ मा १ लाख १० हजार ३ सय ९१ जना मतदाताले मतदान गर्नेछन् । जसमा ५७ हजार २ सय २ जना पुरुष र ५३ हजार १ सय ८९ जना महिला मतदाता रहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ मा १ लाख ४ हजार ६ सय २८ जना मतदाता रहेका छन् । जसमा ५४ हजार १ सय २२ पुरुष र ५० हजार ५ सय ६ जना महिला रहेका छन् ।
मतदान केन्द्रको संवेदनशीलता मूल्यांकन
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा रहेको जिल्ला सुरक्षा समितिले १० वटा सूचकका आधारमा स्थलगत अध्ययन, निरीक्षण तथा अनुसन्धान गरी जिल्लाभरका मतदान केन्द्रको संवेदनशीलता मूल्यांकन गरेको छ।
सुरक्षा समितिको अध्ययनअनुसार जिल्लाका २५ वटा मतदान स्थल अति संवेदनशील, ६५ वटा संवेदनशील र ६१ वटा मतदान स्थल सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । सोही वर्गीकरणका आधारमा आगामी निर्वाचनलाई लक्षित गरी आवश्यक सुरक्षा सतर्कता तथा व्यवस्थापनका कार्यहरू कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, “नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु हाम्रो दायित्व हो । स्वच्छ, भयरहित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको साथ, सहयोग, समन्वय र सहकार्य हुने अपेक्षा लिएका छौँ ।”
उहाँकाअनुसार हालसम्म जिल्लामा निर्वाचनलाई विथोल्ने वा निर्वाचन विरोधी गतिविधि भएका छैनन् । तथापि, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सूक्ष्म निगरानी बढाएको र आवश्यक तयारी तीव्र पारेको उहाँले बताउनुभयो ।
जिल्ला सुरक्षा समितिले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले बनाएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ ।
निर्वाचन प्रहरी छनोट
निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउनका लागि निर्वाचन सुरक्षामा खटिने प्रहरी जनशक्ति छनोट प्रक्रिया अगाडी बढाइएको छ । जिल्लामा निर्वाचन सुरक्षाका लागि एक हजार सात सय एकजना निर्वाचन प्रहरीको माग गरिएकोमा कुल दुई हजार ७५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमध्ये एक हजार चार सय ७४ जना पुरुष र ६०१ जना महिला रहेका छन् ।
१८ देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूले निर्वाचन प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राप्त आवेदनहरूका आधारमा भोलिदेखि (सोमबार) छनौट प्रक्रिया अगाडि बढाइने तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापनमा कार्य भइरहेको बताउनुभयो । उहाँकाअनुसार निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै तयारीलाई तिव्रता दिइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच