नेपाली कांग्रेस राजनीतिक परिवर्तनपछि एकदम हतारमा विभिन्न निर्णय गरिरहेको छ । यो हतारो र चटारो आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका कारणले आइपरेको हो कि अरू कुनै कारणले हो ? निष्कर्ष प्रकट भएको छैन । अब नेपाली कांग्रेस भन्नाले विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापा नेतृत्वको कांग्रेस भनिए पनि अर्को पक्ष अदालत समक्ष पुगेको र फैसला नभएसम्म विवाद यथावत् रहने भएको छ । तथापि विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको हुँदा अहिले व्यवहारतः आधिकारिक रूपमा यो पक्ष नै नेपाली कांग्रेस भएको छ । निर्वाचन आयोगबाट आधिकारिक रूपमा मान्यता पाएपछि यस पार्टीले पहिलोपटक आफ्नो केन्द्रीय समितिको बैठक सम्पन्न गरी विभिन्न निर्णयहरू गरेको सार्वजनिक भएको छ ।
विशेष महाधिवेशन पक्ष जसरी फड्को मारेर आधिकारिक नेपाली कांग्रेस बन्न पुग्यो त्यसरी नै यसले छिटोछिटो विभिन्न निर्णय गरिरहेको छ । यसको कारण भोलि ६ गते मंगलबार प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन पत्र दर्ताको मिति तोकिएको छ । त्यसले गर्दा कांग्रेसलाई यति हतारो परेको हो । तथापि नेपाली कांग्रेसको तत्कालीन संस्थापन पक्षले यसलाई स्वीकार गरिरहेको छैन । विशेष महाधिवेशन र निर्वाचन आयोगले गरेको निर्णयका विरुद्धमा तत्कालीन संस्थापन पक्ष न्यायिक लडाइँमा छ । तर, नवगठित कार्य समिति पक्षले अब विशेष महाधिवेशनको डोब मेटिसकेको, नेपाली कांग्रेस एउटा बाटोमा लागिसकेको र यसको नयाँ स्वरूप निर्माण भइसकेको अवस्थामा मुद्दा मामिलाको बाटो छोडेर एकताबद्ध हुन आग्रह गरेको छ ।
सभापति गगन थापाले अत्यन्त आदरका साथ वरिष्ठ नेता शेरबहादुर देउवालाई पार्टीको अभिभावकत्व स्वीकारी पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने सदासयताका लागि आग्रह गर्नुभएको छ । विशेष महाधिवेशन सञ्चालन भइरहेका बेलामा समेत पार्टी सभापति देउवाले आएर त्यहाँ सम्बोधन गर्नुहुन्छ भन्ने अपेक्षा धेरैको थियो तर त्यो हुनसकेन । यसका विपरीत भृकुटीमण्डपमा विशेष अधिवेशन भइरहेको बेला सानेपामा पार्टीको बैठक गरी तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई कारबाही गर्ने निर्णय भयो । यस्तो निर्णय गर्नै थियो भने आरम्भमा नै हुनुपर्ने थियो अन्यथा अनुशासनको कुरा गर्नुभन्दा पार्टीलाई एकताबद्ध राख्न महाधिवेशनस्थलमा सबै कांग्रेसजन जुट्नुपर्ने थियो ।
यसबाट अरिंगालको गोलामा ढुंगा हानेर रमिता हेरेको अवस्थामा नेपाली कांग्रेस पुग्यो र अन्ततः मौलिक रूपमा विभाजन भयो । यद्यपि कानुनी र भौतिक रूपमा पुष्टि हुन बाँकी देखिन्छ । कानुनी रूपमा विभाजन हुने हो कि भन्ने विषय अदालतको निर्णय आएपछि मात्रै देखिने अवस्था हो । कानुनतः अहिलेसम्म कांग्रेस एउटै छ । यस्तो अवस्थामा अहिले शेरबहादुर देउवाका पक्षमा भएका कांग्रेसका शिखर नेताहरू नवगठित कांग्रेसमा फर्किने हो र वर्तमान नेतृत्वले संयमतापूर्वक पुरना नयाँ सबैलाई समेट्न प्रयास गर्ने हो भने कांग्रेस पुनः एक भएको सन्देश आमनागरिकमा पुग्नसक्छ । अन्यथा अवस्थामा आसन्न निर्वाचनले नयाँ नेतृत्वको कांग्रेसका सपना चकनाचूर पार्न पर्याप्त हुने निश्चित छ ।
यस्तो अवस्थामा कांग्रेसले एकताबद्ध भएर अगाडि बढ्ने हो भने कांग्रेस सफल, सक्षम र दृढ बन्नसक्छ र पुनः इतिहासमै जसरी यसले नेपालको राजनीतिलाई नेतृत्व र अभिभावकत्व प्रदान गरेर हाँक्न सक्छ । होइन भने नेपाली कांग्रेस कमजोर बन्ने निश्चित छ । न्यायिक लडाइँको बाटो रोज्दा त्यसको फैसला नआउन्जे कुर्नुपर्ने अवस्था आउँछ र फैसलाबाट पनि कांग्रेसको एउटा पक्ष हार्ने र अर्को पक्ष जित्ने हुँदा कमजोर बन्ने त निश्चितै छ । यतिखेर देउवा वा गगनलाई कृष्णप्रसाद भट्टराई सूत्र अवलम्बन गर्नु व्यावहारिक देखिन्छ । गिरिजाप्रसाद सूत्र महँगो सावित हुने छ । यस प्रसंगलाई पुरानो प्रसंगले सम्झाउनु उचित हुन्छ । नेपाली कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको बाल्यकालको साइकल प्रकरण नेपाली राजनीतिमा निकै चर्चामा आएकै हो । उहाँले सानो हुँदा पिताजी कृष्णप्रसाद कोइरालाले सबै छोराहरूका लागि समान रूपमा प्रयोग गर्न किनिदिएको साइकल अरू कसैलाई चढ्न नदिएर आफूमात्रै चढ्नु हुन्थ्यो रे र दाजुहरूले चढे भनेर रिसले त्यसलाई टुक्रा टुक्रा पारेर फालिदिनुभएको थियो रे ।
उहाँले २०४८ सालको निर्वाचनपछि आफू प्रधानमन्त्री छँदा आफ्नो सरकारको नीतिलाई संसद्बाट पारित गराउन नसक्दा प्रतिनिधिसभा नै भंग गर्नुभएको थियो । त्यसबेला उहाँले साइकल बिगारेको किस्सा तत्कालीन धेरै नेताहरूका मुखबाट सुन्ने गरिन्थ्यो । उहाँहरूकै उत्तराधिकारी भएर पार्टी चलाइरहनुभएका नेताहरूले उहाँकै पदचाप पछ्याउँदै संसद् विघटन गर्ने पार्टी फुटाउने काम गर्नुभयो । यो उदाहरण देउवा वा गगन पक्ष दुवैका लागि मननीय होला ।
आफू नरहे पनि कांग्रेस रहोस्, कांग्रेस सधैंभरि बाँचोस् र पार्टी मजबुत भई एक ढिक्का भएर चलोस् भन्ने भावना राख्ने हो भने अब महाधिवेशनको धारबाट बाहिर पर्नु भएका तर कांग्रेसमा वरिष्ठताको छवि बनाइसक्नुभएका नेताहरूलाई समेट्ने सामथ्र्य र लचकता गगन नेतृत्वमा रहनु जति आवश्यक छ त्यति नै कांग्रेसको इतिहासका कर्मशील, संघर्षशील नेताहरू पनि लचक हुनु आवश्यक छ । नयाँले सममान गर्ने र पुरानाले स्नेह गर्ने वातावरण बन्नसके कांग्रेसभित्रको तिक्तता साँघुरिँदै जाने हुनसक्छ । आपसको तिक्तता कम भयो भने कांग्रेस अब पनि नेपालको पहिलो पार्टी बन्नसक्ने अनुमान गर्न सकिन्छ । यद्यपि बहुदलीय व्यवस्थामा को ठूलो पार्टी को सानो भन्ने हुँदैन । सबै समान हुन् । विवादको सन्दर्भमा मात्रै कांग्रेस बारे टिप्पणी गरिएको हो । त्यसो हुन नसकेकाखण्डमा कांग्रेसलाई आफ्नो इतिहास र स्वत्व जोगाउनका साथै आफू दृढताका साथ अगाडि बढ्न निकै कठिन हुनेमात्रै होइन आउने निर्वाचन फलामको चिउरा सावित हुने निश्चित छ ।
त्यसमाथि पहिले पहिले सरकार बनाउने गठबन्धन, चुनावी गठबन्धनहरू जस्ता गठबन्धनका संस्कार गलत थिए भन्दै नवगठित कार्य समितिका सभापति थापाले कसैसँग चुनावी गठबन्धनका साथै सत्ताकेद्रित अप्राकृतिक अन्य गठबन्धन तथा सम्झौता नहुने बताउनुभएको अवस्थामा र कांग्रेसको एउटा पक्षले नसघाउने अवस्थामा कांग्रेस पहिलो पार्टी बन्छ भन्ने अपेक्षा गर्न मुस्किल छ । कांग्रेस फुटेकोमा चिन्ता गर्ने अरू पार्टीहरू अगाडि आएर नेतृत्व गर्लान् त्यसलाई कसैले पनि अन्यथा ठहराउने अवस्था हुँदैन । तैपनि नेपाली कांग्रेसको एकता र सफलतामा नेपाली कांग्रेस नै लाग्नुपर्छ । बुढो रूख ढाल्नेतिर कांग्रेसकै सदस्यहरू लाग्ने हो भने यसका सबै भूमिका निरर्थक र निष्प्रभावी हुनु स्वाभाविक हुनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच