हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले अबदेखि कृषकलाई दिइने सरकारी अनुदान उत्पादनमा आधारित हुने स्पष्ट पार्नुभएको छ । आइतबार पाँचौं राष्ट्रिय बाख्रा दिवसको अवसरमा आयोजित “नेपालमा बाख्रा पालन व्यवसायको सम्भावना र चुनौती” विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री पौडेलले अनुदान प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताउनुभयो ।
यसअघि वितरण गरिएका अनुदान वास्तविक कृषकभन्दा कागजी प्रक्रिया पूरा गर्ने गैर कृषकले पाएको गुनासो बढ्दै गएकाले मन्त्रालयले नयाँ व्यवस्था लागू गर्न लागेको मन्त्री पौडेलको भनाइ छ। उहाँका अनुसार अब अनुदान तीन आधारमा मात्र प्रदान गरिनेछ—उत्पादनमा आधारित अनुदान, शिक्षित युवाले सञ्चालन गरेका कृषि कार्यक्रमलाई लक्षित सहयोग, ब्याज र अनुदान व्यवसाय नगरी सरकारबाट रकम मात्र लिने प्रवृत्ति बढेकाले नीतिगत सुधार अपरिहार्य भएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल बाख्रापालक व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद सुबेदीले हालको सरकारी कार्यविधिले वास्तविक कृषकभन्दा कागजी किसानलाई लाभ पुग्ने अवस्था सिर्जना गरेको आरोप लगाउनुभयो। कृषकमैत्री भनिएका अनुदान कार्यक्रमहरू समेत जटिल प्रक्रियाका कारण प्रभावकारी हुन नसकेको उहाँको विश्लेषण थियो। बाख्राको बड्कौला प्रयोग गरेर प्राङ्गारिक मल उत्पादन तथा प्याकेजिङ गर्न सके कृषकले दाना खरिद बराबरको आम्दानी गर्न सक्ने भए पनि सरकारी बेवास्ताका कारण यस्तो सम्भावना उपयोग हुन नसकेको उहाँले बताउनुभयो ।
नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष एकराज उप्रेतीले अनुदानकै भरमा व्यवसाय सुरु गर्ने मानसिकता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । पेशा छनोट र व्यवसाय सुरु गरेपछि मात्र अनुदान खोज्ने संस्कार विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, स्थानीय र प्रदेश सरकारले अनुदानसँगै प्राविधिक तालिम तथा बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
गोष्ठीमा सहभागी कृषकहरूले पशु बीमामा मूल्यांकन रकम वास्तविक मूल्यभन्दा कम राखिने गरेको गुनासो गरे। पशु मरेपछि बीमा दाबी प्रक्रिया लामो, झन्झटिलो र ढिलो हुने भएकाले कृषकहरू थप मर्कामा पर्ने गरेको उनीहरूको भनाइ थियो।
कार्यक्रम अन्तर्गत हेटौंडा–३ स्थित सिमलथली एग्रो प्रालिमा पालिएका बाख्रा तथा बोका कृषि मन्त्री पौडेलले माल्यार्पण गर्दै उद्घाटन गरेका थिए। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, नेपाल बाख्रापालक व्यवसायी महासंघ मकवानपुरका अध्यक्ष बद्री प्रसाद अधिकारी, पशु चिकित्सक कुमार सिंह खत्री, महासंघ कोशी प्रदेश उपाध्यक्ष घनश्याम वास्तोला, कृषि विकास बैंक हेटौंडा शाखाका प्रमुख नुर प्रसाद गौतम, मकवानपुर उद्योग वाणिज्य संघकी महासचिव प्रतिमा श्रेष्ठलगायत देशभरका बाख्रापालक कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच