काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ जारी गरेको छ । कार्यविधिको मुख्य उद्देश्य कृषक तथा कृषि उद्यमीको योगदानलाई उच्च सम्मान गर्दै उनीहरूको मनोबल बढाउनु, कृषि पेशालाई थप आकर्षक र सम्मानित बनाउनु तथा कृषक समुदायमा स्वस्थ प्रतिस्पर्धा सिर्जना गरी कृषिलाई व्यावसायिक बनाउनु रहेको मन्त्रालयले जनाएको छ । कार्यविधिअनुसार हरेक वर्ष देशका विभिन्न जिल्लाबाट १४ जना कृषकलाई उत्कृष्ट कृषकका रूपमा सम्मान गरिनेछ । उक्त कार्यक्रम देशभरका व्यक्तिगत कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फार्म तथा कृषि उद्यमीहरूलाई लक्षित गरिएको छ ।
खाद्यान्न बाली, तरकारी तथा मसला बाली, आलु, औद्योगिक बाली, निर्यातजन्य बाली, फलफूल, आलंकारिक बिरुवा, बीउ उत्पादन, माछापालन, भेडा, बाख्रा, बंगुर, गाईभैंसी, पन्छीपालन, खाद्य प्रशोधन तथा याक र चौंरी गरी १४ वटा विधामा पुरस्कार प्रदान गरिनेछ । पुरस्कारका लागि आवेदन दिन कृषकले तोकिएका न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ । खाद्यान्न बालीतर्फ तराईमा कम्तीमा १५ कट्ठा वा पहाडमा १० रोपनी क्षेत्रफल हुनुपर्नेछ भने तरकारी खेतीका लागि तराईमा पाँच कट्ठा वा पहाडमा दुई रोपनी वा एक हजार वर्गफिटको प्लास्टिक हाउस अनिवार्य गरिएको छ ।
गाईपालनका लागि २० माउ गाई वा भैंसीपालनका लागि १५ माउ भैंसी तथा पन्छीपालनतर्फ स्थानीय कुखुरा वा हाँस कम्तीमा एक हजारवटा हुनुपर्नेछ । प्रदेशस्तरबाट पुस महिनाको तेस्रो हप्ताभित्र २१ दिनको म्याद दिएर आवेदन माग गरिनेछ भने मूल्यांकनका लागि प्रदेशमा तीन सदस्यीय प्राविधिक उपसमिति र मन्त्रालयमा केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ । कुल एक सय पूर्णांकका आधारमा मूल्यांकन हुने व्यवस्था गरिएको छ, जसमा स्थलगत अनुगमनलाई सबैभन्दा बढी ३० अंक दिइएको छ । उत्पादन अवस्था, रोजगारी सिर्जना तथा लगानीको अवस्थालाई पनि मूल्यांकनको प्रमुख आधार बनाइएको छ । केन्द्रीय समितिको सिफारिसमा छनोट भएका कृषकलाई मन्त्रालयले हरेक वर्ष जेठ १५ गते विशेष कार्यक्रम आयोजना गरी सम्मान गर्नेछ । तर, पुरस्कार प्राप्त गर्ने कृषकले झुटो विवरण पेश गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुनेछ ।
मन्त्रालयले उक्त कार्यविधिले नेपालको भौगोलिक विविधताअनुसार व्यावसायिक कृषिलाई प्रोत्साहन गर्दै खाद्य सुरक्षा र दिगो आर्थिक वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि