इन्टरनेसनल माउण्टेन लिडरले परिचित हुनुहुन्छ कृष्णकुमार मगर । उहाँको जन्म र बाल्यकाल दोलखाको जिरीमा बितेको थियो । सगरमाथाको मूलद्वार मानिने जिरीमै हुर्किनुभएका उहाँ सानैदेखि पर्यटनतर्फ आकर्षित हुनुभयो । कक्षा ८ सम्म जिरी र त्यसपछि काठमाडौंमा अध्ययन गर्नुभएका उहाँले माध्यमिक तह पढ्दै गर्दा नै पर्यटन क्षेत्रमा पाइला टेक्नुभएको थियो । आर्थिक अभाव र लाहुरे बन्ने प्रयास असफल भएपछि उहाँले ट्रेकिङ रोज्नुभयो । सुरुवातमा ५०-५५ किलोसम्म भारी बोकेर भरियाका रूपमा काम गर्नुभएका उहाँलाई यसले शारीरिक र मानसिकरूपमा अझ बलियो बनायो । यही संघर्षले आज उहाँलाई गाइड, प्रशिक्षक र ट्रेकिङ कम्पनी सञ्चालकसम्मको यात्रामा पु¥याएको छ ।
नेपाल र फ्रान्सबाट माउण्टेन लिडरको डिप्लोमा हासिल गर्नुभएका मगर नेपालकै पहिलो इन्टरनेसनल माउण्टेन लिडर हुनुहुन्छ । उहाँले लोबुचे पिक, आइल्याण्ड पिक र सगरमाथासहित विभिन्न हिमाल तथा पिकहरूको सफल आरोहण गर्नुभएको छ । हाल उहाँ गाइडिङ, आरोहण र प्रशिक्षण कार्यमा सक्रिय हुनुहुन्छ भने मनास्लु र अमादब्लम आरोहणको योजना बनाइरहेको बताउनुहुन्छ । नेपालमा अझै धेरै ट्रेकिङ ट्रेल र पिक प्रवद्र्धन हुन बाँकी रहेको बताउनुहुन्छ । पर्यटन विकासमा सरकार र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको धारणा राख्नुहुने कृष्णकुमार मगरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले नेपालमा पर्यटकहरूको अफ-सिजन रहेकाले म व्यक्तिगतरूपमा नेपालका विभिन्न हिमाली क्षेत्रहरूमा हुने ट्रेकिङ तथा पर्वतारोहणको व्यापक प्रचार–प्रसारमा सक्रिय छु । साथै, मसँग नेपाल आउन इच्छुक पर्यटकहरूलाई नेपाल र उनीहरू घुम्न चाहने क्षेत्रसम्बन्धी आवश्यक जानकारी प्रदान गर्दै छु । म नेपाल पर्वतीय लिडर संघको तालिम समितिमा पनि आबद्ध रहेकाले समितिका साथीहरूसँग मिलेर आगामी दिनहरूमा सञ्चालन हुने तालिमहरूको वार्षिक कार्यतालिका तयार गर्ने तथा सुरक्षित र दिगो पर्वतीय पर्यटनको विकासमा सक्रियरूपमा लागिरहेको छु ।
‘अन्तर्राष्ट्रियस्तरमा नेपाली कामदार, गाइड र लिडरहरूको इमानदारी, सहनशीलता, दक्षता र अनुभवको खुलेर प्रशंसा हुने गर्छ । यी गुणहरूलाई आत्मसात गरेर हामीले नेपाल आउने पर्यटकहरूको सेवा गर्नुपर्छ भन्ने लाग्छ । नेपाल प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र जैविक विविधताले भरिपूर्ण देश हो । यसैले हाम्रो देशमा अथाह सम्भावना छ र सम्भावनामा विश्वास गर्नु सम्पूर्ण नेपालीको कर्तव्य हो । अन्त्यमा म भन्न चाहन्छु कि नेपालमै सपना ठूलो देख्नुहोस्, इमानदारीपूर्ण मिहिनेत गर्नुहोस्, धैर्यता राख्नुहोस् र आफ्नो सफलता तथा भविष्य नेपालमै बनाउन प्रयासरत रहनुहोस् ।’
नेपालको पहिलो माउण्टेन लिडर हुँदा कस्तो अनुभव हुँदोरहेछ ?
नेपालको पहिलो युआइएमएल प्रमाणित माउण्टेन लिडर बन्नुलाई म व्यक्तिगत उपलब्धिभन्दा पनि नेपालको पर्वतीय पर्यटन क्षेत्र र सम्पूर्ण नेपाली ट्रेकिङ गाइड, माउण्टेन लिडर समुदायको ठूलो उपलब्धिका रूपमा हेर्छु । यस उपलब्धिले मलाई गर्व दिलाएको छ भने त्यससँगै अझ ठूलो जिम्मेवारी पनि महसुस गराएको छ ।
तपाईंले कहाँ लिनुभयो ट्रेनिङ ?
मैले युआइएमएल मान्यता प्राप्त अन्तर्राष्ट्रिय माउण्टेन लिडर तालिम नेपाल र युरोपको फ्रान्समा विभिन्न चरणमा पूरा गरेको हुँ । सन् २०१८ मा नेपालमै आवश्यक तालिम पूरा गरी प्रशिक्षक भइसकेको थिएँ । फ्रान्समा पनि निरन्तररूपमा तालिम लिँदै आएको थिएँ । यही निरन्तर तालिम, अभ्यास र मूल्यांकनको परिणामस्वरूप सन् २०२१ मा मैले युआइएमएल प्रमाणित अन्तर्राष्ट्रिय माउण्टेन लिडरको प्रमाणपत्र प्राप्त गर्न सफल भएँ ।
के-कस्ता चुनौती सामना गर्नुभयो ?
जति बेला मैले माउण्टेन लिडर तालिम सुरु गरेँ, त्यतिबेला धेरै खालका चुनौतीहरू सामना गर्नुपरेको थियो । मुख्यरूपमा आर्थिक कठिनाइ, तालिममा पहुँचको अभाव र सीमित अवसरहरू थिए । त्यससँगै फ्रान्समा तालिम लिन जाँदा भिसा प्रक्रिया, भाषा समस्या, खानपानको फरकपन र पूर्णरूपमा नौलो वातावरणमा घुलमिल हुनुपर्ने चुनौतीहरू पनि प्रमुखरूपमा रहेका थिए ।
अहिले नेपाल आउने पर्यटकको अवस्था कस्तो छ, जस्तो बढेको, घटेको अथवा ठीकै छ ?
भूकम्प र कोभिड-१९ पछि नेपालमा पर्यटकहरूको आगमन क्रमशः बढ्दै गएको अवस्था थियो । गत भदौ महिनामा भ्रष्टाचार र बेथितिविरुद्ध जेन-जी (युवा) पुस्ताले गरेको आन्दोलनका कारण पर्यटक आगमनमा केही असर परेको देखियो । तर, समग्र अवस्था हेर्दा आगामी सिजनमा पर्यटकहरूको संख्या फेरि बढ्ने संकेत देखिन्छ । यद्यपि, फागुन महिनामा हुने निर्वाचनले पर्यटन क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अहिले नै निश्चितरूपमा भन्न भने सकिने अवस्था छैन ।
तपाईं मगर समुदायको मान्छे, प्रायः यो फिल्डमा भनेको शेर्पा समुदायका मान्छेहरू धेरै आउनुभएको छ, सुरुमा के-कस्ता अप्ठ्यारा अथवा साह्रोगाह्रो फेस गर्नुभयो ?
यो पेशामा प्रवेश गर्न मैले निकै चुनौतीहरू सामना गर्नुपर्यो र निरन्तर मिहिनेत गर्नुपर्यो । म मगर समुदायबाट आएको व्यक्ति भएकाले त्यस समय मगर, गुरुङ र राई समुदायका धेरैजसो युवाहरू लाहुरे बन्न प्रेरित हुन्थे, अहिले पनि त्यो प्रवृत्ति धेरै हदसम्म यथावत् छ । मैले पनि त्यो बाटो रोज्ने प्रयास नगरेको होइन तर त्यसमा सफल हुन सकिनँ । पर्यटन क्षेत्रमा आउन मेरो परिवार वा आफन्तहरू यो क्षेत्रमा नभएकाले काम खोज्नका लागि अरू व्यक्तिहरूकहाँ धाउनुपथ्र्यो । काम माग्न जाँदा प्रायः ‘तिमीलाई काम आउँदैन’ वा ‘तिमीले यो काम गर्न सक्दैनौ’ भन्ने उत्तरहरूमात्र सुन्नुपथ्र्यो । तर, निरन्तर प्रयासपछि बल्ल पर्यटन क्षेत्रमा भारी बोक्ने काम अर्थात् भरियाको अवसर पाएँ । मेरो पर्यटन यात्राको सुरुवात यही भरियाबाट भएको हो । भरिया हुँदै ट्रेकिङ गाइड, त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउण्टेन लिडर बन्ने यात्रा तय गरेँ । आज आएर म आफ्नै ट्रेकिङ तथा पर्वतारोहण कम्पनी सञ्चालन गरिरहेको छु, जुन मेरो निरन्तर संघर्ष, धैर्य र आत्मविश्वासको परिणाम हो ।
नेपालका प्रायः सबै ठाउँहरूमा पुग्नुभएको छ होला ?
पर्यटकहरूलाई घुमाउने वा मार्गदर्शन गर्ने क्रममा मैले नेपालका अधिकांश हिमाली क्षेत्रहरू तथा अन्य प्रमुख पर्यटकीय गन्तव्यहरूमा पुगिसकेको छु । यद्यपि, नेपालभित्रै अझै केही स्थानहरू यस्ता छन्, जहाँ पुग्ने इच्छा हुँदाहुँदै पनि भ्रमण गर्न बाँकी नै छन् ।
यो क्षेत्रका समस्याहरू के-कस्ता छन् ?
पर्यटन, विशेषगरी पर्वतीय पर्यटन क्षेत्रमा रहेका मुख्य समस्याहरूमा भौतिक पूर्वाधारको अभाव, मौसमको अनिश्चितता, दक्ष जनशक्तिको कमी, सिजनमा निर्भर तथा सामाजिक सुरक्षाको कमजोर व्यवस्था प्रमुख छन् । यो पेशा शारीरिक क्षमता र उमेरसँग प्रत्यक्षरूपमा जोडिने भएकाले बल र उमेर हुँदासम्म मात्र सक्रियरूपमा काम गर्न सकिने अवस्था छ । जब उमेर ढल्किँदै जान्छ, तब यो क्षेत्रमा काम गर्न कठिन हुन्छ । त्यसैले भविष्यमा उमेर बढेपछि के गर्ने भन्ने विषयमा धेरै लिडर तथा गाइडहरू अझै पनि अन्योलमै छन् ।
सरकारले के गरिदियोस् भन्ने लाग्छ ?
सरकारले पर्वतीय पर्यटन क्षेत्रलाई अझ गहिरोरूपमा बुझेर नीतिगत प्राथमिकता दिन आवश्यक देखिन्छ । विशेषगरी दक्ष जनशक्ति उत्पादनमा जोड दिनु अत्यन्त जरुरी छ । साथै, उद्धार प्रणालीलाई छिटो, सरल र प्रभावकारी बनाउनुपर्छ । उदाहरणका लागि मुस्ताङ, मनास्लु, डोल्पा जस्ता दुर्गम क्षेत्रमा आपत्कालीन हेली उद्धार गर्नुपर्दा अहिले पनि कागजी प्रक्रिया र अनुमति लिनुपर्ने झन्झट धेरै छ, जसले उद्धार कार्यमा ढिलाइ भइरहेको छ । त्यसैले उद्धारसम्बन्धी प्रक्रिया सरल बनाउँदै तत्काल उद्धार गर्नुपर्ने प्रणालीको विकास गर्नुपर्छ । यससँगै नेपालको पर्यटन प्रवद्र्धनलाई नयाँ सोच र रणनीतिका साथ अघि बढाउन तथा गुणस्तर, सुरक्षित र दिगो पर्यटन नीति प्रभावकारीरूपमा लागू गर्न सरकारले उच्च प्राथमिकता दिनुपर्छ ।
कुनै त्यस्तो अविस्मरणीय क्षण छ तपाईंको काम गर्ने क्रममा ?
मैले गरेका प्रायः सबै ट्रेकिङ, पर्वतारोहण र तालिमहरू अविस्मरणीय नै छन्, किनकि प्रत्येक यात्रामा नयाँ-नयाँ व्यक्तिहरूसँग भेट हुन्छ र अनुभव आदान–प्रदान गर्ने अवसर मिल्छ, जसबाट धेरै कुरा सिक्न पाइन्छ । यद्यपि, केही क्षणहरू भने मेरो जीवनमा विशेषरूपमा स्मरणीय छन् । विशेषगरी, पहिलोपटक ट्रेकिङ भरियाका रूपमा काम सुरु गरेको क्षण, गाइड लाइसेन्स प्राप्त गरेको समय, पहिलोपटक फ्रान्सेली नागरिकहरूको निमन्त्रणामा फ्रान्स पुगेको क्षण, युआइएमएल प्रमाणित अन्तर्राष्ट्रिय माउण्टेन लिडर बनेको क्षण र सफलतापूर्वक सगरमाथा आरोहण गरेको क्षण मेरा जीवनका सबैभन्दा महत्वपूर्ण र अविस्मरणीय पलहरू हुन् ।
तपाईंले अहिलेसम्म लिडरको ट्रेनिङ कतिलाई दिइसक्नुभयो ?
मैले अहिलेसम्म ठ्याक्कै कति जनालाई तालिम दिएको भन्न त सक्दिनँ तर धेरैजनालाई तालिम प्रदान गरिसकेको छु । उदाहरणका लागि विभिन्न संघसंस्थाद्वारा आयोजना गरिएका ट्रेकिङ गाइडहरूको क्षमता वृद्धिका तालिमहरू र अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउण्टेन लिडर तालिमहरूमा सहभागीहरूलाई मैले सिकेका, जानेका कुराहरू र मेरा अनुभवरू प्रदान गर्ने अवसर पाएको छु । साथै, फ्रेन्च भाषा सिक्न चाहने ट्रेकिङ गाइडहरूलाई पनि भाषा तालिम प्रदान गरिसकेको छु ।
कत्तिको अप्ठ्यारो छ ?
यो क्षेत्रमा काम गर्न शारीरिकमात्र होइन, मानसिक स्वास्थ्य पनि अत्यन्तै महत्वपूर्ण हुन्छ । विशेष गरी जब हामी नेतृत्व गर्दै पर्यटकहरूलाई हिमाली क्षेत्रमा लग्छौं, सम्पूर्ण जिम्मेवारी हाम्रो काँधमा हुन्छ । समूहमा रहेका सबै पर्यटक र नेपाली कामदारहरूको जीवनको सुरक्षा गर्नु हाम्रो कर्तव्यमा पर्दछ । यसकारणले गर्दा यो काम शारीरिकभन्दा पनि मानसिकरूपमा बढी चुनौतीपूर्ण हुन्छ ।
अन्त्यमा ?
सर्वप्रथम, म हजुरलाई र यस मिडियालाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु । अन्तर्राष्ट्रियस्तरमा नेपाली कामदार, गाइड र लिडरहरूको इमानदारी, सहनशीलता, दक्षता र अनुभवको खुलेर प्रशंसा हुने गर्छ । यी गुणहरूलाई आत्मसात गरेर हामीले नेपाल आउने पर्यटकहरूको सेवा गर्नुपर्छ भन्ने लाग्छ । नेपाल प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र जैविक विविधताले भरिपूर्ण देश हो । यसैले हाम्रो देशमा अथाह सम्भावना छ र सम्भावनामा विश्वास गर्नु सम्पूर्ण नेपालीको कर्तव्य हो । अन्त्यमा म भन्न चाहन्छु कि नेपालमै सपना ठूलो देख्नुहोस्, इमानदारीपूर्ण मिहिनेत गर्नुहोस्, धैर्यता राख्नुहोस् र आफ्नो सफलता तथा भविष्य नेपालमै बनाउन प्रयासरत रहनुहोस् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच