जोरपाटी गोकर्णका अर्याल गाउँका बद्रीनाथ आचार्य १९८० सालमा जन्मिनुभएको हो । अहिले उहाँका तीन पुस्तक मेरा हातमा छन् । यी पुस्तक एकसाथ २०६१ सालमा प्रकाशित भएका हुन् अथवा अहिले भन्दा २१ वर्षअघिका पुस्तक हुन् यी । थाहा छैन बद्रीनाथ अहिले हुनुहुन्छ कि हुनुहुन्न ? यदि हुनुहुन्छ भने उहाँ अहिले १०२ वर्षको हुनुहुन्छ । उहाँका पुस्तकहरूमध्ये एउटाको शीर्षक ‘देश सन्देश’ हो भने अर्को पुस्तकको शीर्षक हो ‘मान्छेसँग भित्र पस्न खोज्दा’ र तेसे पुस्तकको शीर्षक हो ‘यस्तै हो’ । यीमध्ये ‘देश सन्देश’ र ‘यस्तै हो’ काव्य हुन् भने ‘मान्छेसँग भित्र पस्न खोज्दा’ कवितासङ्ग्रह हो ।
समान ठाउँमा समान छपाइ, समान कागज प्रयोग भएको हुनाले पुस्तकको पार्थक्य केलाउनु आवश्यक भएन । कागज पहेँलो हलुका प्रयोग भएको छ, छपाइ राम्रो छ । कतै अशुद्धिहरू भने भेटिन्छन् । बद्रीनाथ आचार्यको लेखन र लगनशीलताको कदर वर्तमान पुस्ताले गर्नैपर्छ ।
यी तीनवटै पुस्तक सानासाना आकारका छन् । यी स्ट्यान्डर्ड साइज अथवा पकेट साइज भनिने साना साइजमा रचना भएका छन् । यीमध्ये उहाँको कवितासङ्ग्रह ‘मान्छेसँग भित्र पस्न खोज्दा’ अरूभन्दा अलिक ठूलो छ । यो भूमिका खण्डमा आठ र पाठ्य खण्डमा १३२ गरी जम्मा १४० पृष्ठको छ । यी सबै पुस्तकमा रघुनाथ आचार्य प्रकाशक रहनुभएको छ र सबै यी पुस्तक एक हजारको सङ्ख्यामा छापिएका छन् । सामुदायिक प्रिन्टर्स प्रा.लि.थापाथलीबाट मुद्रण भएका छन् । पुस्तकमा अरुण सिंहको आवरण रहेको पाइन्छ ।
पृष्ठावरणमा फोटोसहित लेखकको चिनारी दिएको छ जसनुसार उहाँ नेपाल सरकारको कर्मचारीका रूपमा ३६ वर्ष सेवा गरेको, शिक्षण पनि गरेको र धार्मिक तथा सामाजिक काम गरेको बताइएको छ । उहाँका आधा दर्जन जति पुस्तकहरू प्रकाशित भएका र केही पुस्तक प्रकाशनको क्रममा रहेका बताइएको छ । सबै पुस्तकमा प्रसिद्ध साहित्यकार घटराज भट्टराईको भूमिका रहेको यस कवितासङ्ग्रहमा १३२ वटा कविता समेटिएका छन् । यी सबै कविताहरू छन्दमा लेखिएका हुनाले उहाँ छन्दकवि भएको कुरा पुष्टि हुन्छ । उहाँका कविताहरूमा धर्म, अध्यात्म, समाज, प्रकृति, राष्ट्रियतालगायत विभिन्न विषय समेटिएको पाइन्छ ।
उहाँका ‘देश सन्देश’ र ‘यस्तै हो’ काव्य हुन् । अन्य प्राविधिक पक्षहरू सबै पुस्तकमा समान रहेको पाइन्छ भने पृष्ठावरणको विवरण पनि समान छ । ‘देश सन्देश’ मा देशको सन्देश झल्किने गरी उहाँद्वारा रचित ३४५ श्लोक समावेश गरिएको पाइन्छ । यसले राष्ट्र र राष्ट्रियतामा जोड दिएको छ । पुस्तकको भूमिका खण्डमा पाँच र पाठ्य खण्डमा ८७ पृष्ठ छन् । यसको आवरणमा नेपालको नक्सा राखिएको छ । यसैगरी उहाँको अर्को पुस्तक हो ‘यस्तै हो’ । यो शोक काव्यका रूपमा आएको छ । उहाँका स्वर्गीय पुत्र सुशील आचार्यको सम्झनामा उहाँले रचना गर्नुभएको शोक काव्य हो ।
यसका अन्य विवरणहरू अरू पुस्तक समान छन् भने यसमा उहाँका स्वर्गीय पुत्र सुशीलको तस्वीर राखिएको छ । पृष्ठावरणको विवरण पनि अरू समान छ । यसको भूमिका पनि घटराज भट्टराईकै छ । यो पुस्तक उहाँले २५१ श्लोकमा लेख्नुभएको छ । भूमिकाखण्डमा पाँच र पाठ्य खण्डमा ५१ पृष्ठ रहेका छन् । उहाँका यी तीन पुस्तकमध्ये यो सबैभन्दा सानो पुस्तक हो । समान ठाउँमा समान छपाइ, समान कागज प्रयोग भएको हुनाले पुस्तकको पार्थक्य केलाउनु आवश्यक भएन । कागज पहेँलो हलुका प्रयोग भएको छ, छपाइ राम्रो छ । कतै अशुद्धिहरू भने भेटिन्छन् । बद्रीनाथ आचार्यको लेखन र लगनशीलताको कदर वर्तमान पुस्ताले गर्नैपर्छ । उहाँले नेपाली साहित्यमा छोडेर जानुभएका यी पुस्तकहरू पठनीय छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि