लण्डन । युरोपेली क्लब फुटबलको क्यालेण्डरमा अबको बुधबार एउटा विशेष मिति बन्ने संकेत देखिँदैछ । एउटै रात १८ खेल, ३६ क्लब र पूरै युरोपको ध्यान च्याम्पियन्स लिगतर्फ केन्द्रित हुनेछ । तर, यो केवल खेलको भिड होइन, यस रातले युरोपेली फुटबलको शक्ति सन्तुलनबारे पनि स्पष्ट सन्देश दिनेछ- यस सिजनको कथा इंग्लिस क्लबहरूको बर्चस्वको हो ।
नयाँ ढाँचामा अघि बढेको च्याम्पियन्स लिगमा शीर्ष आठ स्थान हासिल गर्ने टिमले सिधै अन्तिम १६ मा प्रवेश पाउँछन् । यो चरणसम्म पुग्नु भनेको केवल क्वालिफाइ हुनु मात्र होइन, रणनीतिक रूपमा ठूलो फाइदा हो । थकान कम, तालिका हलुका र घरेलु प्रतियोगितामा ध्यान केन्द्रित गर्ने अवसर । त्यसपछि नवौँदेखि २४औँ स्थानसम्मका टिमलाई प्लेअफको तनाव झेल्नुपर्नेछ, जहाँ दुई लेगको खेलले भविष्य निर्धारण गर्छ । २५औँ स्थानदेखि तल पर्ने टिमका लागि भने युरोपेली यात्रा यहीँ समाप्त हुन्छ ।
लिग चरणको अन्त्यतिर आइपुग्दा एउटा चित्र स्पष्ट बन्दै गएको छ । सात चरण सकिँदा तालिकाको माथिल्लो भागमा इंग्लिस क्लबहरूको बाक्लो उपस्थिति देखिन्छ । आर्सनल २१ अंकसहित शीर्ष स्थानमा छ- लगातार सात जित, युरोपमा मात्रै होइन, घरेलु प्रिमियर लिगमा पनि उनीहरूको प्रभाव देखिएको छ । बायर्न म्युनिक दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा रहे पनि शीर्ष आठको भिड हेर्दा दृश्य फरक देखिन्छ ।
लिभरपुल, टोटनहम, न्युकासल युनाइटेड र चेल्सी- चारै इंग्लिस क्लब शीर्ष आठभित्र छन् । डिफेण्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन पनि त्यही समूहमा भए तापनि तालिकाको स्वरूपले इंग्ल्याण्डलाई केन्द्रमा राखेको छ । बार्सिलोना, एट्लेटिको मड्रिड, इन्टर मिलान, युभेन्ट्सजस्ता युरोपेली दिग्गजहरू भने पछ्याउने भूमिकामा सीमित देखिन्छन् ।
अझ रोचक त के भने म्यानचेस्टर सिटी जस्तो टोली ११औँ स्थानमा हुँदा पनि अन्तिम दिनको नतिजाले उनीहरूको यात्रा सकिने संकेत छैन । अर्थात् इंग्ल्याण्डका प्रतिनिधि कुनै पनि क्लबको चुनौती बुधबार रातसँगै टुंगिने सम्भावना न्यून छ । एजेन्सी





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच