काठमाडौं । नेपालमै पहिलोपल्ट चेसको पजल सोल्भिङ प्रतियोगिता आज (आइतबार) हुने भएको छ । हिमालयन चेस एकेडेमीले वल्र्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसिसी) सँग सहकार्य गर्दै देशकै पहिलो पजल सोल्भिङ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
एकेडेमीका निर्देशक याइशाष यासिर खम्बूले भन्नुभयो, ‘चेसमा पजल सोल्भ गर्दा खेलको विश्लेषणलाई सहज बनाउँछ । समग्रमा पजल सोल्भिङले चेस खेल्ने क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले डब्लुएफसिसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट २०२६ को एउटा प्रतियोगिताका रूपमा नेपालमा पहिलोपल्ट पजल सोल्भिङ कन्टेस्ट आयोजना गर्न लागिएको हो ।’
इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आइएससी) सन् २००५ मा सुरु भएको हो । गत वर्ष भएको २१औँ संस्करणमा २८ देशका ४६ शहरमा ७४५ जनाले प्रतिस्पर्धा गरेका थिए । त्यसैले २२औँ संस्करणमा नौ सय बढी खेलाडीको उपस्थिति हुने अपेक्षा गरिएको छ, जहाँ २७ देशका ६५ शहरमा एकसाथ २५ जनवरी (आइतबार) मा आयोजना गरिँदैछ । यसमा नेपालका (काठमाडौं) तथा भारतका नौ शहर पनि छन् ।
पजल सोल्भिङ कन्टेस्ट हिमालयन चेस एकेडेमीले काठमाडौं ११ थापाथलीस्थित आफ्नै चेस हलमा प्रतियोगिता सञ्चालन गर्दैछ । यहाँ उत्कृष्ट नतिजा ल्याउने खेलाडीले २०२६ अगस्टमा जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म सञ्चालन हुने ४९औँ वल्र्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागी हुने अवसर पाउनेछन् ।
एकेडेमीका निर्देशक खम्बूका अनुसार डब्लुएफसिसीको रेटेड इभेन्टका रूपमा आयोजना हुने सोल्भिङ कन्टेस्टमा अनुभवी खेलाडीले क्याटगोरी १, कम अनुभवीले क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीले जुनियरको क्याटगोरी ३ मा प्रतिस्पर्धा गर्नेछन् । क्याटगोरी १ र २ का पजल सोल्भरले डब्लुएफसिसीको रेटिङ पाउनेछन् । कन्टेस्टमा करिब ३० जना सहभागी हुने अपेक्षा गरिएको छ ।
खेलाडीले पजल सोल्भ गरेर पेपर गरेपछि त्यो पेपरलाई एकेडेमीले डब्लुएफसिसीमा पठाउनेछ । त्यहाँ पुनः पेपर जाँच गरेपछि अन्तिम नतिजा सार्वजनिक गर्ने पनि खम्बूले बताउनुभयो । २०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रूपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १२औँ प्रतियोगिता पनि हो- पजल सोल्भिङ कन्टेस्ट । उसले यसअघि ब्ल्ट्जि, र्यापिड र क्लासिकल चेसका ११ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच