काठमाडौं । आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा नेपाली टोलीले पहिलो जित हात पारेको छ । नेपालले शनिबार जिम्बाब्वेलाई ६ विकेटले हराएको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले १९.३ ओभरमा केवल चार विकेट गुमाएर १३३ रन बनाउँदै विजय लक्ष्य चुमेको थियो ।
नेपाली टोलीको जितमा उप-कप्तान पूजा महतोले उत्कृष्ट अर्धशतकीय रनको योगदान गर्नुभयो । यसक्रममा उहाँले ५० बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ५२ रन बनाउनुभयो ।
कप्तान इन्दु बर्माले जितमा २२ रनको योगदान गर्नुभयो । बोल्ड हुँदै पेभेलियन फर्किनुअघि उहाँले २३ बलमा एक छक्का र दुई चौका पनि प्रहार गर्नुभएको थियो ।
ओपनर बिन्दु रावलले १५ रन जोड्नुभयो । उहाँले १७ बलमा दुई चौका प्रहार गर्नुभएको थियो । यस्तै, अर्की ओपनर सम्झना खड्का सात बलमा एक चौकाको मद्दतले नौ रन बनाउँदै आउट हुनुभएको थियो । त्यस्तै, सीता रानामगर ११ रन बनाउँदै ‘रिटायर्ड हर्ट’ भएर मैदानबाट बाहिरिनुभएको थियो । उहाँले १५ बलमा एक चौका प्रहार गर्नुभएको थियो ।
रुविना क्षेत्री दुई रनमा अविजित रहनुभयो भने नेपाली टोलीले अतिरिक्त रूपमा २१ रन पाएको थियो । जिम्बाब्वेकी बलर जोसेफिन एनकोमोले दुई विकेट लिनुभयो ।
त्यसअघि, जिम्बाब्वेका लागि चौथो नम्बरमा क्रिज सम्हाल्न आउनुभएकी केलिस एनधोलुले अविजित ५२ रन बनाउनुभएको थियो । उहाँले ३६ बलमा आठ चौका हान्नुभएको थियो । त्यस्तै, ओपनर बिलभ्ड बिजाले ३४ रन बनाउनुभयो । उहाँले ३५ बलमा चार चौका प्रहार गर्नुभएको थियो । मोडेस्टर मुपाचक्वाले १४ रन बनाउनुभयो ।
जिम्बाब्वेले अतिरिक्त रूपमा १० रन पाएको थियो । नेपाली टोलीका बलर रिया शर्माले दुई तथा कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुविना क्षेत्रीले एक-एक विकेट लिनुभएको थियो ।
जिम्बाब्वेको ‘सुपर-६’ चरणमा पुग्ने र आगामी महिला टी-२० विश्वकप खेल्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ । जिम्बाब्वेले आफ्नो अन्तिम खेल खेलेको हो । नेपाली टोलीको भने ‘सुपर-६’ चरणमा पुग्ने सम्भावना कायमै छ । जारी छनोट प्रतियोगितामा नेपालले अझै एक खेल खेल्न बाँकी छ ।
नेपालले आफ्नो अन्तिम खेल सोमबार स्कटल्याण्डसँग खेल्नेछ । ‘सुपर-६’ चरणमा पुग्ने सम्भावना कायम राख्न त्यो खेलमा नेपालले स्कटल्याण्डलाई हराउनैपर्ने हुन्छ ।
समूह ‘बी’ तालिकामा तीन खेलबाट ६ अंक बटुलेको नेदरल्याण्ड्स पहिलो स्थानमा छ । नेदरल्याण्ड्स प्रतियोगिताको ‘सुपर-६’ चरणमा पनि पुगिसकेको छ । तीन खेलबाट चार अंक जोडेको स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट चार अंक नै बटुलेको थाइल्याण्ड तेस्रो स्थानमा छ । तीन खेल खेलेको नेपाल दुई अंकसहित तालिकाको चौथो स्थानमा छ । चारवटै खेलमा पराजित भएको जिम्बाब्वेले भने अंक जोड्न सकेन ।
जारी ग्लोबल छनोट प्रतियोगिताका दुवै समूहबाट तीन-तीनवटा टोली ‘सुपर-६’ चरणमा पुग्ने प्रावधान छ । यो प्रतियोगिताबाट चार टोली आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच