एजेन्सी । यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा यूक्रेन, रूस र अमेरिकाका प्रतिनिधिसँग भएको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई मुख्य प्राथमिकताका रूपमा राखिएको जानकारी दिनुभएको छ । यी वार्ता रूसको करिब चार वर्ष लामो आक्रमण समाप्त गर्ने प्रयासको हिस्सा हुन् । संयुक्त अरब इमिरेट्स (युएई) को विदेश मन्त्रालयले वार्ता शुक्रबार सुरु भएको र शनिबारसम्म सञ्चालन हुने योजना बनाइएको जानकारी दिएको छ । मन्त्रालयले यसलाई ‘संवाद प्रवद्र्धन र राजनीतिक समाधानको खोजी’को रूपमा व्याख्या गरेको छ । अमेरिकी प्रशासनले पनि वार्ता सकारात्मक र उत्पादक भएको जनाएको छ ।
वार्ता सुरु हुनुअघि, रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि स्टिभ विटकोफ र जारेड कुशनरसँग रातभरि विस्तृत छलफल गर्नुभयो । क्रेमलिनले दीर्घकालीन शान्ति सम्झौता अघि यूक्रेनले पूर्वी क्षेत्रमा रूसले अवैध कब्जा गरेको भू-भागबाट आफ्ना सैनिक फिर्ता गर्नु आवश्यक रहेको जनाइरहेको छ ।
राष्ट्रपति जेलेन्स्कीले डाभोसमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि भन्नुभयो, ‘पूर्वी यूक्रेनमा रूसले कब्जा गरेको भूभागको भविष्य अझै स्पष्ट नभए तापनि शान्ति प्रस्ताव ‘लगभग तयार’ भएको छ । यससँग सम्बन्धित व्यापारिक र आर्थिक पहलका लागि पूर्वी यूक्रेनमा स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने प्रस्ताव ट्रम्पसँग छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।’
वार्ता यसअघिसम्म पहिलो पटक भएको हो, जसमा अमेरिकी प्रशासनका अधिकारीले एकै साथ यूक्रेन र रूसका प्रतिनिधिसँग बैठक गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले टेलिभिजन सम्बोधनमा बताउनुभयो, ‘हाम्रो प्रतिनिधि टोली वार्तामा नियमित रूपमा रिपोर्ट गरिरहेको छ । उहाँहरूले युद्ध अन्त्यका मापदण्डमा छलफल गरिरहेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा रूसले यो युद्ध अन्त्य गर्ने इच्छा देखाउनु हो ।’
क्रेमलिनले वार्तालाई केवल ‘सुरक्षासम्बन्धी कार्य समूह’को रूपमा व्याख्या गरेको छ । प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, ‘यूक्रेनी सैनिकको पूर्वी डोनबासबाट फिर्ता हुनु रूसका लागि दीर्घकालीन शान्ति सम्झौताको अनिवार्य शर्त हो ।’ रूसका परराष्ट्र सल्लाहकार युरी उषाकोभले वार्ता ‘खुला, रचनात्मक र फलदायी’ भएको बताउनुभयो ।
वार्ताका केही घण्टा अघि, राष्ट्रपति जेलेन्स्की डाभोसमा राष्ट्रपति ट्रम्पसँग करिब एक घण्टा भेट्नुभयो । ट्रम्पले भन्नुभयो, ‘दुवै राष्ट्रपति–पुटिन र जेलेन्स्की-सम्झौता गर्न इच्छुक छन् र सबै पक्षले केही न केही सहमति दिइरहेका छन् ।’ उहाँले सीमाको निर्धारण वार्ताको मुख्य चुनौती रहेको पनि औंल्याउनुभयो ।
डाभोसमा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले युरोपलाई ढिलो निर्णय लिनु, सुरक्षा खर्च पर्याप्त नगर्नु, रूसको ‘छायाँ तेल जहाज’ रोक्न असफल हुनु यूक्रेनलाई आर्थिक सहयोग नगर्नु जस्ता विषयमा आफ्नो विचार व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘युरोपले आफ्नो क्षमता अझ सुदृढ गर्न आवश्यक छ र विश्वशक्तिको रूपमा आफ्नो भूमिका सुनिश्चित गर्नुपर्छ ।’ उहाँले थप्नुभयो, वार्ता केवल यूक्रेनको इच्छामात्रमा निर्भर छैन, रूसले पनि युद्ध अन्त्य गर्ने इच्छा देखाउन आवश्यक छ, जसले दुवै पक्षबीच स्थायी शान्ति स्थापना गर्न सहयोग पुग्ने छ ।
यसैबीच युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा भएको रूसी आक्रमणमा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ ।
किएभका सैन्य अधिकारीले ड्रोन र ब्यालेस्टिक मिसाइलको खतरा रहेको जानकारी दिएका छन् । किएभका मेयर भिताली क्लित्स्कोले टेलीग्राममा लेख्नुभएको छ, ‘किएभमा ठूलो आक्रमण भइरहेको छ । कृपया आश्रय स्थलबाट बाहिर ननिस्कनुहोस् । केही गैर–आवासीय भवनमा क्षति पुगेको छ ।’
एकजनाको मृत्यु भएको छ र चारजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनालाई अस्पतालमा भर्ना गरिएको छ । ड्रोनको अवशेषले केही भवनमा आगो लगाएको छ भने राजधानीका केही क्षेत्रमा तातो पानी र जलसेवा अवरुद्ध भएको छ । किएभ बाहिरका चारजना थप घाइते भएका छन् ।
पूर्वी युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा मेयर इगोर तेरेखोवका अनुसार इरानी निर्माण शहेद ड्रोनले केही आवासीय भवनमा क्षति पु¥याएको छ । प्रहरीले खार्किभमा १५ जना घाइते भएका छन् र दुई स्वास्थ्य संस्था पनि क्षतिग्रस्त भएको बताएको छ ।
यी आक्रमण त्यस्तो समयमा भएका छन्, जब रूस, युक्रेन र अमेरिकाका वार्ताकारले अबुधाबीमा चार वर्ष लामो युद्ध अन्त्य गर्ने योजनामा पहिलो प्रत्यक्ष वार्ता गरेका थिए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जÞेलेन्स्कीले भूमि विवाद अझै प्रमुख अड्चन बनेको बताउनुभएको छ र मस्कोले किएभलाई पूर्वी डोनबास क्षेत्रबाट फिर्ता हुन दबाब दिइरहेको छ । रासस/एपी/एएफपी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच