काठमाडौं । सुरक्षा र सौखले पालिने कुकुर पछिल्लो समय व्यावसायिक बन्दै गएको छ । त्यसो त कुकुरको धार्मिक महत्वसमेत छ । कुकुर मानव सभ्यतादेखि नै मानवसँग अत्यन्त नजिक र बफादार जीव मानिन्छ । वैदिक सनातन हिन्दू परम्पराअनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी र यमराजको दूतका रूपमा मानिन्छ र पुजिन्छ । संस्कृतिविद्हरूका अनुसार ऋग्वेदमा ‘समरा’ अर्थात् कुकुरहरूकी आमाका बारेमा उल्लेख छ कि समराले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेट्टाउन सहयोग गरेको थियो । महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुरबिना स्वर्गमा जान नमानेको उल्लेख छ । तन्त्रसाधक, निडर भगवान् भैरवको वाहन पनि कुकुर नै हो ।
चाणक्य नीतिमा कुकुरलाई हल्का निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा चित्रित गरिएको छ । कुकुर यस्तो प्राणी हो, जसलाई शास्त्रले मात्रै नभई विज्ञानले समेत विश्वास गरेर अन्तरिक्षमै पठाइएको इतिहास छ । कुकुर किन मानिसको यति धेरै विश्वासिलो र स्नेही साथी बन्न पुग्यो भन्नेबारेमा वैज्ञानिकहरूले अध्ययनसमेत गरेका छन् । उनीहरूका अनुसार जंगली जनावर ब्वाँसोको विकसित रूप कुकुरको आँखीभौंमाथि एउटा विशेष मांसपेशी हुन्छ, जुन ब्वाँसोमा हुँदैन । उक्त मांसपेशीले कुकुरलाई सधैं बच्चाजस्तै माया लाग्ने अनुहार दिन्छ । कुकुरले मानिसको मन जित्न त्यस्तो विशेषता आफैं विकास गरेको हुन्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार जब कुकुरले आफ्नो माया गर्ने मान्छेको गन्ध पाउँछ, उसको दिमागको ‘खुशी भाग’ एकदमै सक्रिय हुन्छ । कुकुरले मानिसलाई मायामात्र गर्दैन, साँच्चिकै महसुस पनि गर्छ । कुकुरको उल्लेखित विशेषता र ख्यातिका कारण अत्याधुनिक सुरक्षा प्रविधिको युगमा पनि कुकुरको महत्व बढेर गएको हुनुपर्छ । केही महिनाअघि अमेरिकन आमाछोरीले भरतपुरबाट छाडा कुकुर आफूसँगै अमेरिका लगेको समाचार ‘भाइरल’ भएको थियो । पछिल्लो समय नेपालमा पनि कुकुरलाई कुकुर जस्तो नगरी परिवारको सदस्य जसरी पालन पोषण गर्ने प्रचलन सुरु भएको छ । त्यतिमात्रै नभई आफूले पालेको कुकुर मर्दा शोक मनाउने कुकुरप्रेमीहरू शहरी क्षेत्रमा प्रशस्तै भेटिन्छन् ।
कुकुर व्यावसायीकरणको सुरुवात
केनल क्लब व्यवसायीहरूका अनुसार नेपालमा २०४८ देखि व्यावसायिक रूपमा कुकुर पालन थालिएको हो । पछिल्लो समय सुरक्षाभन्दा पनि सौखका रूपमा कुकुर पाल्नेहरू धेरै छन् । बाहिर काम सकेर घरमा आएपछि कुकुरसँग दुर्ई-चार मिनेट खेल्दा मानिस आफ्नो दिनभरिको थकाइ मरेको अनुभव गर्छन् । कुकुर खानेकुरा सँगसँगै मानिससँग खेल्न रुचाउँछन् । सोही कारण पनि नीति विभेदबीच पनि नेपालमा कुकुर व्यवसाय फस्टाउँदै गएको छ । विगतमा भारत, चीन र थाइल्याण्डबाट ५० प्रतिशत हाराहारीमा कुकुर आयात हुने गरेकोमा अहिले नश्ल सुधारमार्फत् नेपालमै उन्नत जातका कुकुर उत्पादन हुने गरेकाले विदेशबाट आयात गर्नुपर्ने बाध्यता नरहेको नेपाल कुकुर (क्यानाइन) संघले जनाएको छ । संघका अनुसार विदेशबाट सधैँ ल्याउन सम्भव नभएकाले नेपालमा ती जातका भाले र पोथी ल्याएर बच्चा उत्पादन थालिएको हो । किनभने विदेशबाट ल्याइएका कुकुर यहाँको वातावरणमा मिल्न गाह्रो हुन्छ । नेपालमै उत्पादित विदेशी कुकुर यहाँका हावापानीअनुसार घुलमिल हुन सक्छन् तर कतिपय सौखिनहरूले भने अझै पनि विदेशबाट महँगा कुकुर मगाउने गरेका छन् । कोरोना महामारीसँगै भएको लकडाउनपछि कुकुरको माग ह्वात्तै बढेको क्यानाइन संघका अध्यक्ष मुकुन्द बानियाँ बताउनुहुन्छ । उहाँका अनुसार त्यतिबेला केनल क्लबहरूलाई भ्याइनभ्याइ हुन्थ्यो ।
कुकुर यस्तो प्राणी हो, जसलाई धर्मशास्त्रमात्रै नभई विज्ञानले समेत विश्वास गरेर अन्तरिक्षमै पठाइएको इतिहास छ । कुकुर किन मानिसको यति धेरै विश्वासिलो र स्नेही साथी बन्न पुग्यो भन्नेबारेमा वैज्ञानिकहरूले अध्ययन नै गरेका छन् । निर्यातको राम्रो सम्भावना भएको नेपाली भोेटे कुकुर संरक्षण अभावमा लोपोन्मुख अवस्थामा पुगेको भोटे कुकुर ब्रिडिङ हबका सञ्चालक कर्माचार्य बताउनुहुन्छ ।
नेपालमा दुर्ई घरमध्ये औसतमा एउटा घरमा कुकुर हुने गरेको बताइन्छ । नेपालमा करिब ६० लाख घरधुरी रहेको राष्ट्रिय जनगणनाको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा करिब ३० लाख कुकुर छन् । ती कुकुरमध्ये धेरै सामुदायिक कुकुरहरू छन् र कम घरपालुवा कुकुर छन् भने केही कुकुर व्यावसायिक प्रयोजनका लागिसमेत पालिएका छन् । तर, घरपालुवा कुकुरको संख्या यकिन तथ्यांक छैन । सन् २०१६ मा गरिएको एउटा अध्ययनमा २७.९ प्रतिशत घरमा कुकुर पालिएको पाइएको थियो । संघका अध्यक्ष मुकुन्द बानियाँका अनुसार काठमाडौं उपत्यकामा झण्डै दुर्ई सय केनाइन फर्म छन् भने उपत्यकाबाहिरका शहरमा करिब ५० वटा यस्ता फर्म छन् । काठमाडौंपछि पोखरा, चितवन, हेटौँडा, धरान र विराटनगरमा पनि केही फर्महरू रहेका छन् ।
निर्यात सम्भावना भएको भोटे कुकुर लोपोन्मुख
संरक्षणको अभावमा नेपाली मौलिक भोटे कुकुर संकटमा परेको छ । संघका अध्यक्ष बानियाँका अनुसार नेपालको भोटे कुकुर निर्यातको सम्भावना छ तर संरक्षण नहुँदा नेपालमै लोपोन्मुख अवस्थामा पुगेको हो । आजभन्दा करिब तीन दशकअघि नै केनल क्लबहरूको रिपोर्टिङका क्रममा काठमाडौंका एक केनल क्लब व्यवसायीले भोटे कुकुर प्रसंगमा भनेका थिए कि भोटे कुकुर खोज्दै नेपालमा आएको एक विदेशी टोली हेलिकप्टर नै रिजर्भ गरेर कुकुर खोज्न निस्किएको थियो तर चाहिए जति संख्यामा नपाएपछि टोली त्यत्तिकै फर्किएको थियो ।
उल्लेखित घटनाक्रमबाट पनि नेपालमा पहिल्यैदेखि भोटे कुकुर संकटपूर्ण अवस्थाबीच गुज्रिँदै आएको पुष्टि हुन्छ । भोटे कुकुर संरक्षण र प्रवद्र्धन गर्दै आउनुभएका काठमाडौंको चोभारस्थित काठमाडौं भोटे कुकुर ब्रिडिङ हबका सञ्चालक सत्यनारायण कर्माचार्य भने भोटे कुकुरको जथाभावी ब्रिडिङ गर्ने प्रवृत्तिका कारण समस्या आएको बताउनुहुन्छ । उहाँका अनुसार कतिपय ब्रिडरले नेपाली भोटे कुकुर र तिब्बतीय मस्टिफको क्रस छाउरा बिक्री गर्ने गरेका कारण एकातिर बजारमा बिग्रिएको छ भने अर्कोतिर नेपाली भोटे कुकुर नै लोप हुने खतरा बढेको छ । भोटे कुकुरको निर्यात सहजीकरण गर्ने हो भने ठूलो संख्यामा निर्यात सम्भावना रहेको पनि कर्माचार्य बताउनुहुन्छ । किनभने नेपालमा भोटे कुुकुरका पहिलो ब्रिडर जयनारायण सिंहले आजभन्दा ४७ वर्षअघि नै भोटे कुकुर जर्मनी निर्यात गर्नुभएको थियो तर अहिले कुकुर निर्यात सहज छैन । कर्माचार्यका अनुसार निर्यात प्रक्रिया एकदमै खर्चिलो र झन्झटिलो छ । नेपालमा ६० हजारदेखि ९० हजार रुपैयाँ पर्ने भोटे कुकुर तेस्रो मुलुक निर्यात गर्दा सातदेखि आठ लाख रुपैयाँसम्म लागत पर्न आउँछ । लागत खर्च कम हुने भएकाले भारततर्फ भने भोटे कुकुर निर्यात हुने गरेको उहाँले बताउनुभयो । हुन पनि तेस्रो मुलुकतर्फ नेपालबाट औपचारिक रूपमा कुकुर आयात, निर्यात तथ्यांकमा देखिँदैन । व्यापार तथा निकासी प्रवद्र्धनका सूचना अफिसर कृष्णराज बजगाईंले कुकुरको आयात निर्यातको तथ्यांक नभेटिएको बताउनुभयो । खर्चिलो र झन्झटिलो प्रक्रियाका कारण कुकुरको आयात, निर्यात औपचारिकभन्दा व्यक्तिगत रूपमा बढी हुने गरेको बताइन्छ ।
कुकुरका लागि १८ करोड बढीको आहार आयात
आयातित आहारको तथ्यांकहरूले पनि नेपालमा घरपालुवा कुकुरको संख्या बढेको देखाउँछ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २००८/०९ मा जम्मा ५२ मेट्रिक टन कुकुर बिरालाका लागि तयार आहार(खाना) आयात भएकोमा आर्थिक वर्ष २०२४/२५ मा उक्त परिमाण बढेर आठ सय एक मेट्रिक टन पुगेको छ । अर्थात सन् २००८/०९ मा करिब ४४ लाख ५७ हजार रुपैयाँ बराबरको आयात भएकोमा २०२४/२५ मा रकम बढेर १७ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । सन् २०१०/११ पछि कुकुर-बिरालाको आहार आयातमा निरन्तर वृद्धि भएको देखिन्छ । सन् २०१४/१५ मा दुई सय २६ मेट्रिक टन(तीन करोड ३३ लाख) रुपैयाँभन्दा बढीको आयात भएको थियो भने सन् २०१७/१८ मा आयात बढेर सात सय ३८ मेट्रिक टन(तीन करोड ७५ लाख)रुपैयाँ बराबरको आयात भएको थियो । खासगरी कोरोनापछि आयात ह्वात्तै बढेको देखिन्छ । सन् २०२०/२१ मा छ सय एक मेट्रिक टन(१० करोड ८२ लाख) रुपैयाँ बराबरको आयात भएकोमा सन् २०२१/२२ र २०२२/२३ मा आयात क्रमशः बढेर छ सय २६ र छ सय ७१ मेट्रिक टन पुगेको थियो भने सन् २०२४/२५ मा हालसम्मकै उच्च आठ सय एक मेट्रिक टन अर्थात् करिब १८ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
आहारमात्रै नभई कुकुर बाँध्ने साङ्लो, बेल्ट, खोरलगायत कुकुरका लागि आवश्यक अन्य सामानहरू पनि आयात हुने गरेको तर ती सामानको यकिन तथ्यांक छैन । पशु चिकित्सक र व्यवसायीहरूका अनुसार शहरीकरण, एकल परिवारको वृद्धि, विदेशबाट फर्किएका नेपालीको प्रभाव र घरपालुवा जनावरप्रतिको बढ्दो लगावले तयारी आहारा प्रयोग बढाएको हो । विगतमा कुकुरलाई घरकै खाना खुवाउने गरिन्थ्यो तर अहिले पोषणयुक्त तयारी खाना प्रयोग गर्ने चलन बढेकाले आयात पनि बढेको उनीहरूको भनाइ छ ।
उल्लेखित तथ्यांकहरूले नेपालमै कुकुर बिरालाको आहार उद्योगको सम्भावना रहेको देखाउँछ । हुन त पछिल्लो समय नेपालमै पनि कुकुर बिरालाको तयारी आहारका केही उद्योग सञ्चालनमा आएका पनि छन् । आयातमात्रै होइन, नेपालबाट कुकुरका लागि अन्तर्राष्ट्रिय बजारमा छुर्पी निर्यात पनि हुँदै आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट झण्डै चार अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार सो अवधिमा तीन अर्ब ९२ करोड ७० लाख रुपैयाँको छुर्पी निर्यात भएको हो । पछिल्ला वर्षहरूमा छुर्पी निर्यात बढ्दोक्रममा रहेको छ । विशेषगरी कुकुरका लागि ‘डग च्यू’ का रूपमा नेपाली छुर्पीको माग अमेरिका, युरोप, जापानलगायतका देशमा बढ्दो छ ।
नेपाली भोटे कुकुरको ट्रेडमार्क लिने प्रयास हुँदैछ
मुकुन्द बानियाँ, अध्यक्ष, नेपाल कुकुर (क्यानाइन) संघ
नेपाल कुकुर (क्यानाइन) संघले के गर्छ ?
कुकुर व्यवसायसँग सम्बन्धित सबै क्षेत्रको व्यवसायीको छाता संगठनका रूपमा २०८० मा स्थापना भएको संस्था हो । संघमा हामीले कुकुर ब्रिडरमात्र नभई पेटसपदेखि यस क्षेत्रमा काम गर्ने सबैलाई समेटेका छौं । ब्रिडर, पेटसप, ट्रेनर र ग्रुमर सबै गरेर करिब डेढ सय सदस्य आबद्ध छन् ।
कुकुर व्यवसायको अवस्था चाहिँ कस्तो छ ?
विगतभन्दा व्यवस्थित हुँदै गएको छ । विगतमा देखासिकी हिसाबमा गर्ने प्रवृत्ति थियो तर अहिले त्यस्तो छैन । अहिले जाने बुझेरमात्रै यो व्यवसायमा लाग्नेहरू छन् । यो व्यवसायलाई व्यवस्थित गर्न अहिले संघले नै कुकुर व्यवसायको मापदण्ड बनाएर दिएको छ । अब ४० दिनभन्दा मुनिको छाउरा बेच्न पाइँदैन भने ट्राभलिङ गर्ने बेला छाउरालाई कार्टुनमा राख्न पनि पाइँदैन, बास्केटमा नै राख्नुपर्छ । किनभने छाउराको पनि त हेल्थ इस्यु हुन्छ । कार्टुनमा एनिमल राइट्सको कुरा आउँछ । त्यही भएर हामी प्रविधिबाहेक देखासिकी र एक्सपिरियन्सको भरमा मात्रै कुकुरको ट्रिटमेन्ट गर्न दिँदैनौं ।
मानिसहरूमा कुकुर पालनप्रति आकर्षण चाहिँ कस्तो छ ?
आकर्षण त छ । कुकुर पालन भनेको व्यक्तिको सामाजिक सिम्बोल पनि हो । त्यही भएर कतिले लाखौं लाख पर्ने कुकुर बाहिरबाट मगाउने गरेका छन् । अन्य वस्तु जस्तो कुकुरको मूल्य तोकिएको हुँदैन । गुणस्तरअनुसारको ब्रिडर आफैंले मूल्य तोकेर कुकुरको कारोबार गर्दै आएको अवस्था छ ।
कुकुर व्यवसायका समस्या के छन् ?
मुख्य समस्या भनेकै नीतिगत समस्या हो । कुकुर पालन व्यवसायलाई सरकारले चिन्दैन । अर्थात् कुकुरलाई सरकारले पशुमा सूचीकृत गरेको छैन । कुकुर भनेको लग्जरी आइटममा पर्छ तर कुकुर पशु हो भने कुकुरलाई सरकारले पशुमा सूचीकृत गर्न किन नचाहेको हो, हामीले बुझ्न सकेका छैनौं । हामीले त एउटा भैरवको बाहन भनेर कुकुर पूजा गर्छौं, जसरी गाईगोरु पूजा गर्छौं । हुन त सरकारले कुकुर पाल्नु, ब्रिडिङ गर्नुलाई गैरकानुनी मानेको छैन । अर्को कुरा, जति पनि एनिमल राइट्सका लागि काम गर्ने पशु अधिकारकर्मीहरू छन्, उनीहरूले कुुकुरको राइट्सको मात्रै कुरा गरेको देखिन्छ । कुकुर व्यवसायीसँग सहकार्यभन्दा पनि एनिमल राइट्सका नाममा अनावश्यक दबाब दिने प्रवृत्ति देखिएको छ । त्यसैगरी कुकुर व्यवस्थापनमा पनि समस्या छ । मरेको कुकुरको व्यवस्थापन गर्ने ठाउँ छैन । नगरपालिकाहरूले त्यसका लागि जग्गा व्यवस्थापन गरिदिएमा सहज हुने थियो । पहल त भइरहेको छ तर कार्यान्वयनको चरणमा पुगिसकेको अवस्था छैन ।
सरकारले गाई भैंसी, बाख्रा पालनमा अनुदान दिन्छ, त्यो कुकुर पालनमा पनि दिनुपर्यो भन्ने माग हो ?
त्यस्तो पनि होइन, कृषि, पशुपालन जस्तो कुकुर व्यवसाय होइन, कृषि पशुपालन बाध्यता हो तर कुकुर सौखको व्यवसाय हो । तर, सौखको व्यवसाय गर्न पाइन्छ भने त्यसका लागि पनि केही केही रुल्स एण्ड रेगुलेसन त चाहियो नि, अहिले कुकुर व्यवसायको नियामक निकाय नै छैन । अन्य पशुको बीमा हुन्छ, कुकुरका लागि बीमा सुविधासमेत छैन ।
कुकुर निर्यात पनि हुने गरेको छ ?
आयात, निर्यात दुवै हुन्छ । विगतमा नेपालबाट धेरै भोटे कुकुर निर्यात हुने गथ्र्यो । जयनारायण सिंहले पहिलोपटक नेपाली भोटे कुकुर बाहिर पठाउनुभएको थियो । हाम्रो संघमा आबद्ध काठमाडौं भोटे कुकुर ब्रिडिङ हबले पनि भोटे कुकुर ओरिजनसमेत उल्लेख गरेर बेच्ने गरेको छ तर कतिपयले ओरिजन नखुलाई बेच्ने गरेको पनि पाइएको छ । त्यसैले नेपाली भोटे कुकुरको ब्राण्डिङ हुनुपर्यो । ट्रेडमार्क दर्ता हुनुपर्यो भनेर हामी लागिरहेका छौं ।
अन्य पशुपक्षीसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मेलन हुने गरेको छ तर डगसम्बन्धी सम्मेलन चाहिँ हुँदैन ?
हुन्छ । हामीले डग शोहरू आयोजना गर्दै आएका पनि छौं । विस्तारै व्यवसायलाई अपग्रेड गर्दै गएका छौं । डगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भने गर्न सकेका छैनौं । त्यसका लागि खर्च व्यवस्थापन त्यति सहज नभएर हो । किनभने अन्तर्राष्ट्रियस्तरको डग शो, सम्मेलन खर्च धेरै लाग्छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच