काठमाडौं । नेपाल विज्ञापन संघ(आन)ले विगत केही समयअघि ‘कान्तिपुर दैनिक’मा प्रकाशित ‘सरकारी विज्ञापनमा तीन अर्ब गायब’ शीर्षकको समाचार र सोही विषयलाई लिएर नेपाल रिपब्लिक मिडियाबाट जारी गरिएको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एउटा जिम्मेवार व्यावसायिक संस्थाको नाताले विज्ञापन बजारको पारदर्शिता र मर्यादासँग जोडिएका उल्लेखित समाचारहरूले आमजनमानस र सरोकारवाला निकायमा अनावश्यक भ्रम सिर्जना गरेको आनको भनाइ छ ।
आन महासचिव कृष्णप्रसाद घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार माध्यममा उल्लेख गरिएको ‘तीन अर्ब गायब’ भन्ने विषयको कुनै ठोस तथ्यांक र कानुनी आधार देखिँदैन । सार्वजनिक खरिद प्रक्रियामार्फत् हुने सरकारी विज्ञापनको वितरण र भुक्तानी प्रक्रियालाई नै गलत ढंगले व्याख्या गर्दा समग्र विज्ञापन जगत्को छविमा आँच पुगेको छ ।
आनले ‘कान्तिपुर दैनिक’मा प्रकाशित ‘सरकारी विज्ञापनमा तीन अर्ब गायब’ शीर्षकको समाचार र सोही विषयलाई लिएर नेपाल रिपब्लिक मिडियाबाट जारी गरिएको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सञ्चारगृहहरू आफैंमा विज्ञापन बजारका अभिन्न हिस्सा हुन् । राज्यको चौथो अंगका रूपमा समाजमा भए गरेका गलत कार्यको तथ्य आधारसहित उजागर गर्ने महत्वपूर्ण जिम्मेवारीसहित व्यावसायिक दायित्व बहन गरेका सञ्चारगृहहरूले अर्को सञ्चारगृह वा विज्ञापन एजेन्सीहरूलाई लक्षित गरी पुष्टि नभएका विषयमा भ्रम फैलाउनु व्यावसायिक मर्यादा र पत्रकारिताको मूल्य मान्यता विपरीत छ ।’
उल्लेखित ‘भ्रामक’ समाचारले विज्ञापन चक्रमा रहेका विज्ञापनदाता, एजेन्सी र सञ्चार माध्यमबीचको विश्वासको वातावरण धमिल्याउनुका साथै विज्ञापन पेशा–व्यवसायलाई नै धराशायी बनाउने जोखिम बढेको आनले जनाएको छ । विज्ञापन बजार व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन आन सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै विज्ञापन कारोबार गर्दा विज्ञापन एजेन्सीका रूपमा दर्तामात्र नभई संगठनात्मक आबद्धता र मान्यता भएका फर्म वा कम्पनीहरूसँग मात्र गर्न आनले विगतदेखि नै सञ्चारगृहहरूलाई आह्वान गर्दै आएको जनाएको छ ।
विज्ञापन नै सञ्चार माध्यमहरूको आर्थिक स्वावलम्बनको एकमात्र आधारस्तभ भएको तर विज्ञापन दररेटका विषयमा अर्थतन्त्रमा कुनै वैज्ञानिक आधार नहँुदा सञ्चार माध्यमबीच मूल्य घटाघटको स्थिति उत्पन्न भई व्यावसायिक सञ्चार माध्यमहरूमा आर्थिक अस्थिरतारहित आत्मनिर्भरतामा नै प्रश्नचिह्न खडा भएको भन्दै आनले त्यस्तो अस्वस्थ प्रतिस्पर्धालाई मध्यनजर गर्दै गत वर्ष नै आनको पहलमा सञ्चारगृहहरूको छाता संगठन नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपालसहित चारवटा व्यावसायिक संस्थाबीच सञ्चार माध्यमहरूमा विज्ञापनको न्यूनतम दररेट कायम गर्ने सम्बन्धी व्यावसायिक सम्झौता भएको स्मरणसमेत गराएको छ ।
कुनै पनि निकायमा अनियमितता भएको खण्डमा त्यसको छानविन गर्ने संवैधानिक र कानुनी बाटोहरू हुँदाहुँदै सञ्चार माध्यमबाटै एकपक्षीय र भ्रामक सूचना सम्प्रेषण हुनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । साथै उल्लेखित ‘भ्रामक’ समाचारहरूको पछि नलाग्न सम्पूर्ण विज्ञापनदाता, एजेन्सी सञ्चालक तथा सरोकारवालामा हार्दिक अपिल गर्दै आनले सम्बन्धित सञ्चारगृहहरूलाई पनि सत्यतथ्य बुझेरमात्र सूचना तथा समाचार सम्प्रेषण गरी व्यावसायिक धर्म निर्वाह गर्न आग्रह गरेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच