जुम्ला, म्याग्दी, बैतडी । मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । मौसम परिवर्तनसँगै पश्चिम र मध्य नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपात भएको हो । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णालीका पहाडीसँगै उच्च पहाडी र हिमाली भेगसहित म्याग्दी-मुस्ताङलगायत जिल्लामा समेत हल्का वर्षासँगै हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हल्का वर्षा र हिमपातले विभिन्न ठाउँको जनजीवन प्रभावित भए पनि लामो समयदेखि पानी नपरेर चिन्तित किसान भने खुसी भएका छन् ।
हिमपातले आवागमनमा समेत कठिनाइ भएको छ । यद्यपि, लामो समयदेखि वर्षाको अभाव झेल्दै आएका किसानले भने बालीनाली सप्रिने आशामा राहत महसुस गरेका हुन् । हिमपातका कारण शनिबार रुकुम (पूर्व)मा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो । हिमपातका कारण लोकमार्गको लुकुम-पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ । लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकेका थिएनन् ।
कर्णाली प्रदेशका कालिकोटसहित जुम्ला, हुम्ला, मुगु र डोल्पामा भारी वर्षासँगै हिमपात भएको छ । हिमाली जिल्लाका लेकाली भेगमा बाक्लो हिउँ जमेसँगै बेँसीमा पनि हिउँ पर्न सुरु भएको छ । निरन्तर हिउँ परेकाले बालबालिका, वृद्धवृद्धा र ज्याला मजदुरी गर्ने मानिसहरू बढी प्रभावित भएका छन् ।
सुदूरपश्चिमका उच्च हिमाली जिल्लाहरूमा पनि हिमपात भएको छ । बाजुरा, दार्चुला, बैतडी, डोटीलगायत जिल्लाका उच्च स्थानमा हिमपात भएको हो । यस्तै, गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र म्याग्दी जिल्लाका उच्च हिमाली क्षेत्रमा पनि हिमपात भएको छ । यसैगरी, मुस्ताङस्थित कोरोला नाका आसपास क्षेत्रमा बिहीबार बिहानदेखि बाक्लो हिमपात सुरु भएको थियो ।
काठमाडौं उपत्यकामा समेत शनिबार दिनभरजसो बाक्लो हुस्सु लागेको थियो । उपत्यकामा प्रदूषण र धुलोका कारण पनि हुस्सु लामो समयसम्म कायम रहने मौसमविद्हरू बताउँछन् । तराईका जिल्लाहरूमा त झन् बाक्लो हुस्सु र कुहिरोले जनजीवन पहिल्यैदेखि प्रभावित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सोही प्रभावले उच्च भेगमा हिमपात र पहाडी जिल्लाहरूमा वर्षा भइरहेको हो ।
हुम्लामा तीन इञ्च हिउँ जम्यो
कर्णालीमा सबैभन्दा धेरै हिउँ पर्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । शनिबार बिहानदेखि जिल्लामा हिमपात सुरु भएको हो । शनिबार सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको थियो भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायत क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्य चौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको उहाँले बताउनुभयो । हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई सेवा पनि प्रभावित बनेको छ । जिल्लाबाहिर जाने यात्रुसमेत शनिबार सिमकोटमै रोकिएका थिए । हिउँ परेपछि यहाँका सरकारी कार्यालयहरू प्रभावित भएका छन् । हिमपात भएसँगै हुम्लामा अत्यधिक चिसो बढेर तापक्रम माइनस डिग्रीमा झरेको छ ।
किसानलाई बाली सप्रिने आशा
लामो समयपछिको हिमपातले किसानहरू भने खुसी भएका छन् । हिमपातले खडेरीले सुकेको जेठासी र कात्तिके बाली लगाउन सहज हुने भएपछि किसान खुसी भएका हुन् । जेठमा पाक्ने उवा, जौ र गौँ बालीलाई योपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने कालिकोटका सान्नित्रिवेणी गाउँपालिका–३ का तपेन्द्र विश्वकर्मा बताउनुहुन्छ । ‘केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनि मात्र बालीनाली सप्रिन्छ, उत्पादन बढ्छ । हिउँदे बाली जौ, गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुन्छ,’ उहाँले भन्नुभयो । हिमपातले विशेषगरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताउनुभयो । हिउँ नपरेर बाली सुक्न थालेको थियो । उहाँले भन्नुभयो, ‘बाली सुक्ने, उत्पादन घट्ने चिन्तामा किसान थिएँ । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन हुने ठाउँमा मद्धत पुग्छ ।’
हुम्लाका किसान हिमपात किसानका लागि सुनजस्तै भएको बताउँछन् । किसान टक्क शाही लामो समय खडेरी परेको कारण लगाएका विरुवा सुक्न थालेको समयमा हिमपात र वर्षा भएपछि अब विरुवा हुर्किन सहज भएको बताउनुहुन्छ । किसानहरू खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा थिए । यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने हुम्लाका किसान दल भण्डारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो वर्ष पहिलोपटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था हो, यतिबेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए ।’ लामो समयको खडेरीपछि हिमपात हुँदा स्थानीय र बालबालिका हिउँमा रमाएका छन् । चिसोले भाइरल ज्वरो आउन सक्ने भएकाले अत्यावश्यक कामबाहेक बाहिर नआउन र झोलिला पदार्थ खान चिकित्सकको सुझाव छ ।
यसैगरी, हिमपातका कारण जुम्लालगायत माथिल्लो कर्णालीका किसान खुसी भएका छन् । यो वर्षको पहिलो हिउँ माघ महिनाको दोस्रो सातामा परेपछि किसानले लगाएको हिउँदे बालीलाई निकै राम्रो हुने जुम्लाको तिला गाउँपालिका-१ स्थानीय लंक बुढाले जानकारी दिनुभयो । अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । हिउँ परेपछि बढेको अत्यधिक जाडोले जिल्लाको जनजीवन कष्टकर बनेको छ । निजी विद्यालयमा पठनपाठनदेखि हवाई मार्गसमेत बन्द भएको छ । जिल्लाको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।
स्याउका नयाँ विरुवा लगाउने समय पनि भएकाले हिउँ पर्दा सहज भएको किसान बताउँछन् । हिमपातपछि जुम्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् । लामो समयदेखि हिमपात नहुँदा सुक्न थालेको हिउँदे बालीमा राहत पुगेपछि स्थानीय किसानले राहत महसुस गरेका छन् । यसले गहुँ, जौ, आलुलगायत हिउँदे बालीलाई फाइदा पुग्ने किसानको भनाइ छ । हिमपातपछि कर्णालीको हवाई सेवासमेत अवरुद्ध भएको नागरिक उडान कार्यालय जुम्लाले जनाएको छ ।
बैतडीमा असोजपछि पहिलोपटक वर्षा
सुदूरपश्चिमको बैतडीमा यसवर्षकै पहिलोपटक हिमपातसहित हिउँदे वर्षा भएको छ । लामो खडेरीका कारण गहुँलगायत हिउँदेबाली सुक्न थालेपछि चिन्तित बनेका यहाँका किसानलाई हिमपातसहित वर्षा भएपछि राहत भएको हो । यहाँका उच्च लेकाली भेग खोड्पे, श्रीभावर, बाझपानी सत्बाझ, देहिमाण्डौंलगायत क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा वर्षा भएको छ । चार महिनापछि हिमपातसहित वर्षा भएकाले किसानहरूले थोरै भए पनि राहत मिल्ने पाटन नगरपालिका-१० स्थानीय किसान दलबहादुर विष्टले बताउनुभयो । ‘लामो खडेरीपछि वर्षासहित हिमपात भएको छ,’ उहाँले भन्नुभयो, ‘हिमपातले गहुँ, जौ लगायतका हिउँदेबाली सप्रिनेछ ।’ यहाँका अधिकांश जमिनमा आकाशे पानीको भरमा खेती गरिँदै आएको छ । ‘असोजपछि वर्षा भएको थिएन । शुक्रबार राति हिमपात र वर्षा भएको छ’, सिगास गाउँपालिका–९ का स्थानीय लक्ष्मी शाह चन्दले भन्नुभयो, ‘यसले हिउँदेबाली र तरकारी सप्रिने भएपछि किसानहरू खुसी भएका छौँ ।’
हिउँ पग्लिएपछि माटोमा चिस्यान कायम रहने भएकाले गहुँ, जौ, आलु लगायतका हिउँदे बालीका लागि फाइदा पुग्ने चन्दले बताउनुभयो । बैतडीसहित सुदूरपश्चिमका उच्च लेकाली भेगहरूमा हिमपात भएको छ । जिल्लामा २५ हजार ७०० हेक्टर जमिनमा खेती गरिँदै आएको छ । जसमा १० हजार ९०० हेक्टर क्षत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
म्याग्दीका उच्च क्षेत्रमा सतर्कता अपनाउन आग्रह
म्याग्दीको उच्च लेकाली क्षेत्रमा यो वर्षकै पहिलो हिमपात र हिउँदे वर्षा भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका-१ गुर्जा, लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा, कुइनेमंगलेको उच्च क्षेत्रमा हिमताप भएको हो । शनिबार बिहानैदेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको धवलागिरि गाउँपालिका-२ लुलाङका शेरबहादुर विकले जानकारी दिनुभयो । लामो समयसम्म हिमपात र वर्षा नहुँदा चिन्तित बनेका यहाँका किसानहरू हिउँदे वर्षा र हिमपात भएपछि खुसी भएका छन् । लामो समयसम्म पनि वर्षा नहुँदा यहाँ गहुँबाली लगायतका हिउँदे बाली सुक्दै गएका थिए । ‘अलिअलि हिउँ र पानी परेको छ । यसले सुक्न लागेको गहुँबाली राम्रो हुन्छ कि भन्ने आशा पलाएको छ,’ रघुगंगा-८ कुइने मंगलेका अंकित पुनले भन्नुभयो । यो वर्षको पहिलो हिउँ परेको हो । म्याग्दीका उच्च क्षेत्रमा स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख सूर्य थापाले जानकारी दिनुभयो । यस्तै, हिमाली जिल्ला मुस्ताङमा पनि यो वर्षको पहिलो हिमपात भइरहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच