काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने अझै भन्न नसकिने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूमाथि सरकारले अपमान गरेको आरोप लगाउनुभयो । ‘झापाबाट फर्कंदा विमानस्थलमा सुन तस्कर हो कि जस्तो गरी चेकिङ गरेर हैरान पारियो । विदेश जाँदा पनि चिनेका ठाउँमा त्यस्तो गर्दैन । तर, हिजो एयरपोर्टमा त्यसरी हेपियो । किन ? भन्दा माथिबाट आदेश आएको छ रे’, उहाँले भन्नुभयोे, ‘यो सरकार हामीलाई दुःख दिने कामतिर लागिरहेको छ । यो सरकार अराजनीतिक र असभ्य छ ।’
सरकारको मति नेताहरूको अपमान गर्ने रहेको ओलीले आरोप लगाउनुभयो । ‘त्यो व्यवहार ममाथि देखियो । सभ्य संसारमा हामी छैनौँ कि जस्तो लागेको छ’, उहाँले भन्नुभयो । अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ देखिएको बताउँदै उहाँले आफूहरू देश बनाउने काममा जुटेको दाबी गर्नुभयो ।
नयाँका नाममा आएका पार्टीहरूको कुनै गन्तव्य नभएको पनि उहाँले आरोप लगाउनुभयो । ‘केका लागि कुदेको, केका लागि अरूको चरित्रहत्या गरेको त्यो पनि थाहा छैन । गन्तव्य नभएको ट्रेडमिलको यात्रा गरेजस्तो’, उहाँले भन्नुभयोे, ‘एमाले त्यस्तो होइन । गन्तव्यसहितको पार्टी हो ।’
सेयर कारोबारी अग्रवालसहितका व्यवसायीहरू एमालेमा प्रवेश
जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा सेयर कारोबारी दीपेन्द्र अग्रवालसहितका उद्योग व्यवसायीहरू नेकपा एमालेमा प्रवेश गरेका थिए । एमाले अध्यक्ष ओलीले च्यासलमा आयोजित कार्यक्रममा अग्रवालसहितका उद्योग व्यवसायीहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो । स्टक मार्केट इन्भेष्टर र ट्रेडरका रूपमा परिचित अग्रवाल उक्त क्षेत्रका अग्रणी व्यवसायी हुनुहुन्छ । उहाँ विराटनगर महानगरपालिका-९ का बासिन्दा हुनुहुन्छ । अग्रवाल सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित पारेको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आउनुभएको छ । ओलीले अग्रवालसहितका व्यवसायीलाई खादा र टिका लगाएर पार्टीमा प्रवेश गराउनुभएको हो । नवप्रवेशीहरूलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।
हरिबोलसहितका नेता नेकपाबाट निष्कासित
नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका, तिनका प्रस्तावक, समर्थक र प्रचारकहरूलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनात्मक कारबाही गर्दै सात जनालाई पार्टी सदस्यताबाट हटाइएको जनाउनुभएको छ । निष्कासित हुनेमा सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल हुनुहुन्छ । हरिबोल प्रचण्ड प्रधानमन्त्री हुँदा मुख्य सल्लाहकार हुनुहुन्थ्यो । उता, दाङका कुलप्रसाद केसी पनि निष्कासित हुनुभएको छ । लुम्बिनीका पूर्व-मुमख्यमन्त्री उहाँले मेटमणि चौधरीविरुद्ध दाङ २ मा बागी हाल्नुभएको छ । उदयपुर २ मा बागी उठेका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जीवछ साह पनि निष्कासित हुनुभएको छ ।
यसैगरी, विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनीहरू शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युवाहरूलाई स्वागत गर्नुभयो ।
नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी संयोजक प्रचण्डले देश वर्तमान संकटबाट मुक्त गराउन नेपाली कम्युनिष्ट पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको बताउनुभयो । चुनावका क्रममा हुने आर्थिक तथा अन्य प्रकारका चलखेल रोक्न सकिए आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्ने सम्भावना प्रबल रहेको उहाँले दाबी गर्नुभयोे । ‘निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा पहिलो पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्नसक्छ,’ प्रचण्डले भन्नुभयो, ‘कमरेडहरू, अगाडि बढौँ । यो पार्टीलाई बलियो बनाएर मात्र राष्ट्र र जनताको हित सुनिश्चित गर्न सकिन्छ । जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच