काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी सभा मधेस प्रदेशबाट सुरु गर्ने भएको छ । कांग्रेसले यही माघ १६ गते शहीद दिवसको अवसर पारेर जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको हो । चुनावी सभालाई पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ । कांग्रेसले उपसभापति शर्मालाई चुनावी प्रचारप्रसार केन्द्रीय समितिको संयोजक बनाएको छ । जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले नै संयोजन गर्ने बताइएको छ । सभाको तयारीको प्रदेश समितिले आवश्यक तयारी सुरु गरिसकेको मधेसका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिनुभएको छ ।
माघ १६ गते हुने बृहत् सभामा लाखौँ मान्छे सहभागी हुने गुप्ताको दाबी छ । यसपटकको निर्वाचनमा दलहरूले मधेसलाई केन्द्र बनाएर आफ्ना निर्वाचन गतिविधिहरू सक्रिय बनाएका छन् । कांग्रेस सभापति थापा सर्लाही-४ बाट उम्मेदवार बन्नुभएको छ । यसअघि जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी सभा गरेको थियो । जनकपुरको सभाबाटै काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साहले औपचारिक रूपमा चुनावी सभामा सम्बोधन गरेका थिए ।
देउवा समूहले किन बोलाउँदै छ राष्ट्रिय भेला ?
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । दलहरू चुनाव प्रचारप्रसारको क्रममा मतदाताको घरदैलो पुगिरहेका छन् । तर, चुनावी माहोल उकालो लाग्दै गर्दा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूह राष्ट्रिय भेलाको तयारीमा लागेको छ । विशेष महाधिवेशनबाट किनारा लागेको उक्त समूह ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनपछि राष्ट्रिय भेलाको तयारीमा लागेको हो । राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहका नेताहरूसँग परामर्श गरिरहनु भएको छ । खड्कासँग शनिबार छलफल गरेका नेताहरूले आफूहरू राष्ट्रिय भेलाको तयारीमा लागेको जानकारी दिएका हुन् । पुसमा सम्पन्न विशेष महाधिवेशनपछि विकसित पार्टीको आन्तरिक राजनीति र त्यस अघिको परिस्थितिका बारेमा समूहका नेता–कार्यकर्ताहरूलाई जानकारी दिन र आगामी रणनीति तय गर्न भेलाको तयारी भइरहेको नेताहरूको भनाइ छ । राष्ट्रिय भेलाको मिति भने अझै तय भइनसकेको समूहका नेताहरूले बताएका छन् ।
भेलामा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, पूर्व–राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई बोलाउने तयारी गरिएको छ । विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई देउवा समूहले अझै स्वीकार गरिसकेको छैन । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा समूह अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत गएको थियो । तर, सर्वोच्चले देउवा समूहको पक्षमा अन्तरिम आदेश दिएन । न्यायाधीश सुनील पोखरेलको इजलासले ६ माघमा निर्वाचन आयोगलाई कारणसहित १५ दिनभित्र लिखित जवाफ लिएर उपस्थित हुन निर्देशन दिएको छ ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुअघि कार्यवाहक सभापति खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई स्वीकार नगरे पनि देउवा समूहका नेताहरूले सभापति गगन थापाले हस्ताक्षर गरेको चुनाव टिकट लिएर प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनिसकेका छन् ।
आँट गरेर मधेस झरेको हुँ : सभापति थापा
कांग्रेस सभापति गगन थापाले काठमाडौं-४ मा आफूले सहजै जित निकाल्ने अवस्था भए पनि मधेस झरेको बताउनुभएको छ । सर्लाही–४ मा युवाहरूसँगको छलफलमा सभापति थापाले काठमाडौं-४ मा आफ्नो प्रतिस्पर्धी नै नभएको जिकिरसमेत गर्दै भन्नुभयो, ‘मैले यसअघि तीनपटक चुनाव जितिसकेको थिएँ, मलाई सजिलो अवस्था थियो । मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने कुराको टुंगो नलागेसम्म अरू प्रतिस्पर्धी पार्टीहरूले उम्मेदवार बन्ने मान्छे नै पाएन । म काठमाडौं नलड्ने भनेपछि मात्रै नयाँ होस् वा पुरानो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भयो ।’ आफू सर्लाही ४ मा झरेपछि काठमाडौंका मतदाता स्तब्ध बनेका उल्लेख गर्दै सभापति थापाले भन्नुभयो, ‘मैले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन । तर, म आफैँले चाहिँ जानेर बुझेर नै सर्लाही-४ रोजेको हुँ । मैले अघिल्लोपटक नै मधेस झर्न चाहेको थिएँ । अहिले आँट गरेर आएको हुँ ।’ कांग्रेसको सभापति भएपछि मधेसलाई नजोडी नहुने भएकाले आफ्नो जोड मधेसमा रहेको उहाँको स्पष्टोक्ति छ । आफू मधेस नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने बुझाई आफूमा रहेको सभापति थापाको बुझाई छ । कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा आज (आइतबार) सर्लाही जाँदै हुनुहुन्छ । सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही-४ का युवासँगको अन्तरक्रियामा भन्नुभयो, ‘भोलि म सर्लाही जाँदै छु । पटक/पटक म गएको छु, क्षेत्र नम्बर ४ मा । तर, पोलिटिकल कार्यक्रममा गएको छु । योपटक म उम्मेदवार बनेर जाँदै छु । मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट (उत्साह) छ । म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही-४ आएको छु, तपाईंहरूको भर परेर ।’ सभापति थापाले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनका बेला सर्लाही गइदिन पनि आग्रह गर्नुभएको छ । सभापति थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको थियो । उपसभापति विश्वप्रकाश शर्माले अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा राखेको उक्त प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको थियो ।
प्रधानमन्त्री उम्मेदवारहरूबीच सार्वजनिक बहस गरौँ : सहमहामन्त्री थापा
कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका नेताहरूलाई एउटै मञ्चमा राखेर भावी योजनाबारे बहस गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । बहसले लोकतन्त्र बलियो हुने भएकाले प्रश्नबाट कोही भाग्न नहुने उल्लेख गर्नुभएका सहमहामन्त्री राणाले बहसका लागि कांग्रेस तयार रहेको स्पष्ट पार्दै भन्नुभयो, ‘यसपटक सबैजसो प्रमुख राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका छन् । यतिबेला हरेक नागरिकको स्वाभाविक जिज्ञासा छ, यी प्रधानमन्त्रीका उम्मेदवारलाई एकै मञ्चमा राखेर सार्वजनिक बहस किन नगर्ने ? बहसबाट प्रधानमन्त्रीका उम्मेदवारको देश निर्माण बारेको ठोस नीति, योजना र कार्यक्रम, अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासनको सवालमा दृष्टिकोण थाहा हुन्छ ।’ साझा बहसले आमनागरिकलाई प्रधानमन्त्रीका उम्मेदवारहरूलाई नजिकबाट बुझ्ने अवसर दिने र निर्वाचनमा मताधिकार प्रयोग गर्दा विवेकपूर्ण निर्णय गर्न थप सजिलो हुने राणाको जिकिर छ । कांग्रेस सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिएको छ । एमालेले अध्यक्ष केपी ओली र रास्वपाले वरिष्ठ नेता बालेन साहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।
सभापति थापाको निर्वाचन क्षेत्र संवेदनशील सूचीमा
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा बढी संवेदनशील सूचीमा छन् । जसमध्ये कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाहीको क्षेत्र-४ पनि संवेदनशील सूचीमा छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा र विद्रोही उम्मेदवारका कारण चर्चामा रहेको सर्लाही-४ यसपटक थापाको आगमनसँगै बहस र चर्चाको केन्द्रमा पनि छ । २०७९ मा सर्लाही-४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहले जित्नुभएको थियो । कांग्रेसबाट टिकट नपाएपछि सिंह स्वतन्त्र उम्मेदवार उठ्नुभएको थियो । जिल्लामा कुल ३१२ मतदानस्थलमध्ये १५८ वटा अति संवेदनशील तथा १३१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । २३ मतदानस्थल मात्र सामान्य सूचीमा जिल्ला सुरक्षा समितिले राखेको छ । क्षेत्र नम्बर ४ को ८१ मतदानस्थल अति संवेदनशील तथा संवेदनशीलको सूचीमा छन् । जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, नेपाल-भारत सीमानजिक मतदानस्थल, विगतका निर्वाचनमा दलबीच भएका झडप तथा आपराधिक क्रियाकलापका आधारमा वर्गीकरण गरेको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच