काठमाडौं । नेपाली कराँतेकी स्टार खेलाडी एरिका गुरुङले विश्व कराँते महासंघ (डब्लुकेएफ) को आयोजनामा टर्कीको इस्तानबुलमा सम्पन्न कराँते वान प्रिमियर लिगमा रजत पदक जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउनुभएको छ । महिलातर्फ ६८ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नुभएकी एरिका फाइनलमा काजकिस्तानकी सोफियासँग ४-२ ले पराजित हुँदै रजतमै सीमित हुनुभयो । कडा प्रतिस्पर्धाबीच फाइनलमा पुग्नुभएकी एरिकाले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।
यसअघि सेमिफाइनलमा एरिकाले इंग्ल्याण्डकी वाल्टर्स रोसेललाई ४-१ ले पराजित गर्दै फाइनल यात्रा तय गर्नुभएको थियो । क्वाटरफाइनल चरणमा पुग्नुअघि उहाँले साइप्रसकी जियामुकी थेओदोसियालाई ५-१ ले हराउनुभएको थियो । पुल चरणमा जापान र चिलीका बलिया प्रतिद्वन्द्वीलाई पछि पार्दै एरिकाले अन्तिम आठमा स्थान सुरक्षित गर्नुभएको थियो ।
एरिका र सोफियाबीचको यो भेट अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो हो । यसअघि १९औँ एसियाली खेलकुदको फाइनलमा सोफियाले एरिकालाई पराजित गर्नुभएको थियो भने २०औँ एकेएफ च्याम्पियनसिपको सेमिफाइनलमा एरिकाले सोफियामाथि जित निकाल्दै बदला लिनुभएको थियो ।
एरिका गुरुङ एसियाली खेलकुदको कराँतेमा रजत पदक जित्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ । उहाँले सन् २०२५ मा मोरक्कोमा सम्पन्न कराँते वान प्रिमियर लिगमा कांस्य पदक जित्नुभएको थियो । यसैगरी, मलेसियामा भएको कराँते वान सिरिज ‘ए’ प्रतियोगितामा उहाँले स्वर्ण पदक जित्दै नेपाली कराँतेको स्तर अन्तर्राष्ट्रिय रूपमा प्रमाणित गर्नुभएको थियो । एरिकाको पछिल्लो उपलब्धिले नेपाली कराँते खेलको सम्भावना र भविष्यप्रति थप आशा जगाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…