काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं जिल्लाका मतदान केन्द्रहरूको सुरक्षा स्थिति विश्लेषण गरी प्रहरीले विस्तृत सुरक्षा रणनीति तयार पारेको छ । निर्वाचन सुरक्षामा करिब दुई लाख सुरक्षाकर्मी परिचालन गरिने योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा अन्य सुरक्षा निकाय विभिन्न भूमिकामा खटिनेछन् । जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला निर्वाचन अधिकृतको कार्यालय तथा सम्बन्धित निर्वाचन क्षेत्रहरूसँग समन्वय गरी क्षेत्रगत सुरक्षा योजना बनाएको जनाएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा मात्रै ८१७ वटा मतदान केन्द्र रहनेछन्, जसमा ४१९ वटा मतदान केन्द्रलाई सुरक्षा दृष्टिकोणले ‘संवेदनशील’ सूचीमा राखिएको छ ।
निर्वाचन क्षेत्र नम्बर-१
मतदान केन्द्र : ५७ मतदाता : ४८,४८९ संवेदनशील : १२ सामान्य : ४५
प्रहरी विश्लेषणअनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ मा अधिकांश मतदान केन्द्र सामान्य श्रेणीमा रहेका छन् । यद्यपि, केही स्थानमा सुरक्षा चुनौती देखिएकाले १२ वटा केन्द्र संवेदनशील सूचीमा राखिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर-२
मतदान केन्द्र : ७२ मतदाता : ६४,४७९ संवेदनशील : ७०, सामान्य : दुई
कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाका केही वडा समेटिएको यो क्षेत्र सुरक्षा दृष्टिले सबैभन्दा संवेदनशील मानिएको छ । अधिकांश मतदान केन्द्र संवेदनशील सूचीमा परेका छन् ।
निर्वाचन क्षेत्र नम्बर-३
मतदान केन्द्र : १०० मतदाता : ८८,७०८ संवेदनशील : ७०, सामान्य : ३०
शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका तथा काठमाडौं महानगरपालिकाका केही वडा समेटिएको यो क्षेत्रमा मतदाता संख्या सबैभन्दा बढी रहेको छ । त्यसअनुसार सुरक्षा चुनौती पनि उच्च देखिएको प्रहरीको निष्कर्ष छ ।
निर्वाचन क्षेत्र नम्बर-४
मतदान केन्द्र : ८८ मतदाता : ७६,१४१ संवेदनशील : ४०, सामान्य : ४८
बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाका केही वडा समेटिएको यो क्षेत्रमा झण्डै आधा मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर-५
मतदान केन्द्र : ९० मतदाता : ७८,११४ संवेदनशील : ३४ सामान्य : ४४
काठमाडौं महानगरपालिका, टोखा नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका केही वडा समेटिएको यो क्षेत्रमा सुरक्षा चुनौती मध्यमस्तरको रहेको प्रहरीको मूल्यांकन छ ।
निर्वाचन क्षेत्र नम्बर-६
मतदान केन्द्र : ७९ मतदाता : ६७,७५९ संवेदनशील : ४८, सामान्य : ३१
काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ, टोखा र तारकेश्वर नगरपालिकाका केही वडा समेटिएको यो क्षेत्र सुरक्षा संवेदनशीलताका हिसाबले महत्वपूर्ण मानिएको छ ।
निर्वाचन क्षेत्र नम्बर-७
मतदान केन्द्र : ७८ मतदाता : ६७,४११ संवेदनशील : ३५, सामान्य : ३२
बालाजु, लैनचौर, न्युरोड, गोलढुंगा, स्वयम्भू क्षेत्रसँगै नागार्जुन र तारकेश्वर नगरपालिकाका केही वडा समेटिएको यो क्षेत्रमा मिश्रित सुरक्षा अवस्था रहेको छ ।
निर्वाचन क्षेत्र नम्बर-८
मतदान केन्द्र : ६५ मतदाता : ५७,८११ संवेदनशील : २५, सामान्य : ४०
काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाका केही वडा समेटिएको यो क्षेत्र मतदाता संख्या कम भए पनि सुरक्षा सतर्कता अपनाइएको छ ।
निर्वाचन क्षेत्र नम्बर-९
मतदान केन्द्र : ९० मतदाता : ७८,४९५ संवेदनशील : ४८ सामान्य : ३०
काठमाडौं महानगरपालिका, चन्द्रागिरि र नागार्जुन नगरपालिकाका केही वडा समेटिएको यो क्षेत्रमा करिब आधा मतदान केन्द्र संवेदनशील सूचीमा छन् ।
निर्वाचन क्षेत्र नम्बर-१०
मतदान केन्द्र : ९८ मतदाताः ८३,३०१ संवेदनशील : ५१, सामान्य : ४७
दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाका केही वडा समेटिएको यो क्षेत्र भौगोलिक रूपमा ठूलो र सुरक्षा दृष्टिले चुनौतीपूर्ण मानिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा आपसी समन्वयमा सुरक्षाकर्मी परिचालन गरिनेछ । उहाँले भन्नुभयो, ‘अहिले प्रत्येक निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत, स्थानीय तहका प्रतिनिधि र उम्मेदवारहरूसँग भेटेर वस्तुस्थिति बुझ्ने काम भइरहेको छ । हामी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न पूर्ण रूपमा तयार छौं ।’
डिजिटल गतिविधि निगरानीमा राखेका छौैँ ः प्रहरी प्रवक्ता काफ्ले
प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले निर्वाचनको निष्पक्षता कायम गर्न प्रहरी कर्मचारीलाई राजनीतिक उम्मेदवारसँग तस्वीर तथा भिडियो खिच्न, त्यस्ता सामग्री लाइक, सेयर वा पोष्ट गर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रहरी नियमावली-२०७१, मिडिया नीति-२०६० तथा २०७७ को आचारसंहिताले प्रहरी कर्मचारीलाई कुनै पनि असम्प्रदायिक वा राजनीतिक रूपमा पक्षपाती व्यवहार गर्न रोक लगाएको छ । ‘हामीसँग स्पष्ट दिशानिर्देश छन् ।
ती निर्देशिकाअनुसार राजनीतिक उम्मेदवारसँग फोटो खिच्नु वा सामाजिक सञ्जालमा लाइक, सेयर र पोष्ट गर्नु पनि निषेधित कार्य हो’, उहाँले भन्नुभयो । डिआइजी काफ्लेले मातहतका सबै कार्यालयमा यससम्बन्धी परिपत्र जारी गरिसकिएको जानकारी दिँदै यस्ता कार्यमा संलग्न कर्मचारीलाई विभागीय अनुशासनात्मक कारबाही गरिने स्पष्ट पार्नुभयो । साथै, प्रहरी कर्मचारीको डिजिटल फुटप्रिन्टसमेत निगरानीमा राखिएको उहाँको भनाइ छ ।
काठमाडौं जिल्लाका अधिकांश मतदान केन्द्रहरू सुरक्षा दृष्टिले संवेदनशील मानिएकाले यसपटकको निर्वाचनमा सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ । प्रहरी प्रशासन, निर्वाचन प्रशासन र स्थानीय तहबीचको समन्वयमार्फत शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित निर्वाचन सम्पन्न गराउने लक्ष्य लिइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच