काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई आत्मसमीक्षा गर्दै एकता प्रक्रियामा फर्किन आग्रह गर्नुभएको छ । कम्युनिष्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लैजान एकता अपरिहार्य रहेको उहाँले बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा र नेकपा (माओवादी-एकता पक्षधर) बीचको एकता घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले छरिएर रहेका सम्पूर्ण पूर्वमाओवादी धारलाई एकताबद्ध हुन आह्वान गर्नुभयो । उहाँले समाजवादी मोर्चाको समयदेखि नै विप्लवसँग गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै पछिल्लो चरणमा एकता लगभग टुंगिएको अनुभूति भए पनि विभिन्न कारणले सफल हुन नसकेको बताउनुभयो ।
प्रचण्डका अनुसार समाजवादी मोर्चालाई नै नेपाली कम्युनिस्ट पार्टीका रूपमा अगाडि बढाउने उद्देश्यले आफू र सह–संयोजक माधवकुमार नेपालले विप्लवलाई विशेष महत्व दिनुभएको थियो । ‘हामीले नेकपा आवेगमा बनाएनौँ’, उहाँले भन्नुभयो, ‘एकताको प्रक्रियामा विप्लवजीहरूको भूमिका निकै महत्वपूर्ण हुने विश्वास थियो । तर, बिनाकारण पछाडि हट्ने अवस्था आयो ।’ उहाँले आफू स्वयं विप्लवको निवासमा पुगेर लामो र गम्भीर छलफल गरेको स्मरण गराउँदै एकता टुंगिने विश्वाससमेत गरिएको बताउनुभयो । तर, त्यो प्रयास व्यवहारमा सफल हुन नसकेको उहाँको भनाइ थियो । प्रचण्डले ‘जेन-जी’ आन्दोलनपछि विप्लव नेतृत्व वैचारिक अन्योल र अस्थिरताको ‘ठूलो तुवाँलो’ भित्र फसेजस्तो देखिएको टिप्पणी गर्नुभयो । ‘मुख्य नेतृत्व नै भुमरीमा परेको जस्तो देखियो’, उहाँले भन्नुभयो, ‘यताउता भड्किएर केही हुनेवाला छैन ।’
पुरानो सहयात्रीको नाताले विप्लवप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको स्पष्ट पार्दै प्रचण्डले नेकपा नै उनीहरूको वास्तविक राजनीतिक घर भएको बताउनुभयो । ‘यो आत्मसमीक्षा गर्ने बेला हो’, उहाँले भन्नुभयो, ‘अझै अवसर पूरै गुमिसकेको छैन ।’
आगामी निर्वाचन नजिकिँदै गर्दा पनि मुलुकको असहज राजनीतिक परिस्थिति पूर्णरूपमा समाधान नभएको प्रचण्डको भनाइ थियो । ‘चुनाव अगाडि छ, तर यसले के दिन्छ भन्नेबारे अझै कन्फ्युजन छ’, उहाँले चेतावनी दिनुभयो, ‘यदि परिवर्तनकारी शक्तिहरू एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने देश फेरि अर्को दुर्घटनातर्फ जानसक्छ ।’ उहाँले पार्टीपंक्तिलाई एकताबद्ध भई निर्वाचनमा केन्द्रित हुन निर्देशनसमेत दिनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी) को एकता पक्षधर समूहका संयोजक चिरञ्जीवी ढकालको नेतृत्वमा केन्द्रीय सदस्यसहित नेता तथा कार्यकर्ता नेकपामा समाहित भएका थिए । प्रचण्डले मुलुकको समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिष्ट आन्दोलनको संरक्षणका लागि फेरि एकपटक एकतामार्फत सामर्थ्यवान बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कृष्णा केसीलाई पार्टीबाट निष्कासन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्य कृष्णा केसी ‘नमुना’लाई पार्टीबाट निष्कासित गरेको छ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले प्रेस विज्ञप्ति जारी गरी केसीलाई कारबाही गरेको जनाउनुभएको छ । उहाँले अन्य दलको चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराएकाले कारबाही गरिएको जनाइएको छ । ‘आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृष्णा केसी नमुना (बाँके) ले अन्य दलको निर्वाचन चिह्नमा उम्मेदवारी दिएकोले निजलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ । उहाँ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाँके-१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवार बन्नुभएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत दल मिलेर नेकपा बनेपछि जनार्दन शर्मा लगायतको नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको थियो । उहाँ त्यसैमा क्रियाशील रहँदै आउनुभएको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि