काठमाडौं । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को ३०औं अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन आज (शुक्रबार) देखि काठमाडौंको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा सुरु हुँदैछ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित विश्वका १५ देशबाट आठ सयभन्दा बढी अंग्र्रेजी भाषा शिक्षक, प्रशिक्षक तथा विज्ञहरूको सहभागिता रहनेछ ।
‘भावी पुस्ताका लागि अंग्र्रेजी भाषा शिक्षणः मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा.दीपक अर्यालले गर्नुहुनेछ ।
नेल्टाका अध्यक्ष प्राडा.लक्ष्मण ज्ञवालीका अनुसार सम्मेलनमा अमेरिका, बेलायत, चीन, भारत, जापान, अष्ट्रेलियालगायत विभिन्न मुलुकबाट आएका विज्ञ तथा नेपाली शिक्षकहरूले अंग्रेजी भाषा शिक्षणका समसामयिक पद्धति, चुनौती र अवसरबारे अनुभव आदान-प्रदान गर्नेछन् ।
सम्मेलनमा पाँच वटा ‘किनोट’ सत्र, ६ वटा ‘प्लेनरी’ सत्रसहित १३४ वटा समानान्तर सत्र (कन्करेन्ट सेसन), कार्यशाला तथा शैक्षिक बहसहरू सञ्चालन हुने आयोजकले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै यस वर्ष सम्मेलनको अवधि छोट्याएर दुई दिनमा सीमित गरिएको नेल्टाले जानकारी दिएको छ ।
नेल्टाका द्वितीय उपाध्यक्ष डा. भीम गौतमले विषम परिस्थिति भए पनि संस्थाको ३० वर्षदेखिको अन्तर्राष्ट्रिय साख जोगाउन तथा शैक्षिक निरन्तरता कायम राख्न सम्मेलन आयोजना गरिएको बताउनुभयो । त्यसैगरी, प्रथम उपाध्यक्ष जयराम खनालले असहज अवस्थामा पनि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र १५ भन्दा बढी देशको सहभागिता नेल्टाको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।
आयोजकले निर्वाचन आयोगको आचारसंहिता र स्थानीय प्रशासनले तोकेको सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै सम्मेलनमा शैक्षिक बहस र प्राज्ञिक गतिविधिमात्र सञ्चालन गरिने स्पष्ट पारेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच