एउटा व्यक्तिको काम गर्ने शैली, प्रतिबद्धता र दृष्टिकोणले कुनै पनि संस्थाको गति र गन्तव्य नै बदल्न सक्छ भन्ने पछिल्लो सशक्त उदाहरण हुनुहुन्छ, बहुआयामिक व्यक्तित्वका धनी दिनेश डिसी । उहाँको नेतृत्वशैली, कामप्रतिको हुटहुटी र नतिजामुखी सोचकै कारण चलचित्र विकास बोर्डले अत्यन्त छोटो समयमै उल्लेखनीय र प्रत्यक्ष देखिने उपलब्धि हासिल गर्न सफल भएको छ । दायित्व सम्हालेको सुरुवाती चरणमै डिसीले पदलाई सुविधा होइन, जिम्मेवारीका रूपमा ग्रहण गर्नुभयो । पहिलो छ महिनासम्म उहाँले दैनिक कम्तीमा १४ घण्टा काम गर्नुभयो । शनिबार, बिदा वा औपचारिक समयको सीमाले उहाँको कामलाई रोक्न सकेन । अझ महत्वपूर्ण कुरा, उक्त अवधिमा उहाँ कुनै विदेश भ्रमणमा जानुभएन, सम्पूर्ण समय, ऊर्जा र ध्यान संस्थाभित्रै केन्द्रित रह्यो । कामप्रतिको यही समर्पण क्रमशः अझ तीव्र बन्दै गयो । छ महिनापछि उहाँको कार्यसमय १६ देखि १८ घण्टासम्म विस्तार भयो । यो केवल लामो समय काम गर्नु मात्र होइन, स्पष्ट लक्ष्यसहित योजनाबद्ध ढंगले काम गर्नु थियो । नीतिगत सुधार, संरचनात्मक व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता र संस्थागत अनुशासन कायम गर्ने विषयमा उहाँको सक्रियता स्पष्ट देखियो । त्यसको परिणाम पनि सोही अनुपातमा देखिन थाल्यो । चलचित्र विकास बोर्डमा लामो समयदेखि थन्किएका विषयहरूले गति पाए, निर्णय प्रक्रियामा स्पष्टता आयो र कार्यान्वयनमा दृढता देखियो । कर्मचारीदेखि सरोकारवाला निकायसम्म कामप्रति उत्तरदायी बन्ने संस्कार विकास भयो । दिनेश डिसीको कार्यशैलीले एउटा महत्वपूर्ण सन्देश दिएको छ, संस्था परिवर्तन गर्न निष्ठा, परिश्रम र निरन्तर उपस्थित नेतृत्व चाहिन्छ । उहाँको बहुआयामिक व्यक्तित्व र अथक मिहिनेतले चलचित्र विकास बोर्डलाई केवल चलायमानमात्र बनाएको छैन, परिणाम दिने संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ । यतिबेला चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२ योजनालाई मूर्तरूप दिन लागिरहेको डिसीको भनाइ छ । स्पष्ट भिजन र मिसनका कारण नै सफलता प्राप्त हुँदै गएको बताउने बोर्डका अध्यक्ष दिनेश डिसीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
तपाईं चलचित्र विकास बोर्डको नेतृत्वमा आएपछि नेपाली चलचित्र क्षेत्रमा के-कस्ता काम भए भन्ने लाग्छ ?
धेरै काम भए भन्ने लाग्छ । हामीले तत्कालीन र दीर्घकालीन योजना बनाएर काम सुरु गर्यौं । जसमा केही भइरहेका छन्, केही कार्यान्वयनको चरणमा छन् भने केही योजनामा छन् । चलचित्र विकास बोर्डको मूल उद्देश्य नेपाली चलचित्र उद्योगलाई व्यवस्थित, व्यावसायिक र अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउनु हो । मैले नेतृत्व सम्हालेपछि पहिलो प्राथमिकता नीतिगत सुधार, निर्माणदेखि प्रदर्शनसम्मको संरचनागत विकास र चलचित्रकर्मीको अधिकार संरक्षणलाई प्राथमिकता दिएको छु । साथै डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय सहकार्य र नयाँ पुस्तालाई प्रोत्साहन गर्नु पनि हाम्रो मुख्य एजेण्डा रह्यो ।
‘हामीले बोर्डका सबै कुराहरू डिजिटलाइजेसन गर्यौं । करिब आठ सय जति चलचित्रका कथाहरूको अर्काइभ बनायौं । २० वर्ष काम गरेकालाई ७५ हजार र तीस वर्ष काम गरेकालाई डेढ लाखसम्मको स्वास्थ्य बीमा व्यवस्था गर्यौं । २५ वर्षको अवसरमा २५ वटा धेरै कमाउने फिल्मलाई सम्मान गर्यौं । बक्स अफिस रिपोर्ट निकाल्यौं । जसले गर्दा फेक रिपोर्ट निकाल्ने निर्माताहरू गलत साबित हुनुभयो । र, अहिले सार्वजनिक गर्न छाड्नुभयो । त्यसबाहेक राष्ट्रिय चलचित्र दिवसको घोषणा गरियो । पहिलो चलचित्रलाई हुलाकी टिकटका रूपमा राख्यौं । यस्तै अन्य काम पनि भएका छन्, भइरहेका छन् ।’
सुरुका प्रतिबद्धता कति पूरा भए ?
मैले सुरुमा गरेको प्रतिबद्धता केही पूरा भएका छन् । पहिलो ६ महिना कम्तीमा १४ घण्टा काम गरेको थिएँ मैले । बिदा, शनिबार केही भनिनँ, विदेश भ्रमण पनि गइनँ । त्यसपछि त्यो कामको समय बढेर गयो । १६ देखि १८ घण्टासम्म काम गर्यौँ । त्यो अनुसार रिजल्ट आएको छ । मैले सुरुमा मुख्य तीन कुरामा जोड दिएको थिएँ । पहिलो इण्डोर स्टुडियो, जसको शिलान्यास भइसकेको छ । त्यसपछि हामीले चलचित्र ऐनको कुरा गरेका थियौँ । तेस्रो, हामीले रियल टाइम बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने भनेका थियौँ । यो पनि साप्ताहिक रूपमा आइरहेको छ । अब कुनै पनि हल डिजिटल पहुँचभन्दा बाहिर छैन ।
यो बीचमा अरू कामहरू पनि भए । हामीले बोर्डका सबै कुराहरू डिजिटलाइजेसन गर्यौँ । करिब आठ सय जति चलचित्रका कथाहरूको अर्काइभ बनायौँ । २० वर्ष काम गरेकालाई ७५ हजार र तीस वर्ष काम गरेकालाई डेढ लाखसम्मको स्वास्थ्य बीमा व्यवस्था गर्यौं । २५ वर्षको अवसरमा २५ वटा धेरै कमाउने फिल्मलाई सम्मान गर्यौं । बक्स अफिस रिपोर्ट निकाल्यौं । जसले गर्दा फेक रिपोर्ट निकाल्ने निर्माताहरू गलत साबित हुनुभयो । र, अहिले सार्वजनिक गर्न छाड्नुभयो । त्यसबाहेक राष्ट्रिय चलचित्र दिवसको घोषणा गरियो । पहिलो चलचित्रलाई हुलाकी टिकटका रूपमा राख्यौं । यस्तै अन्य काम पनि भएका छन्, भइरहेका छन् ।
काम गर्ने क्रममा यो बीचमा के-कस्ता अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्यो ?
समस्या, अप्ठ्यारा र चुनौती आउनु स्वाभाविकै हो भन्ने ठान्छु म । त्यसबाट आफूलाई अघि बढाउन सक्नु नै कुशल नेतृत्वकर्ताको भूमिका हुन्छ । सरकारको मातहतमा काम गर्नुपर्ने भएकाले बोर्डका पनि आफ्नै सीमितता छन् । मलाई काम गर्न त्यति धेरै समस्या भने भएको छैन । किनभने म क्लियर भिजनमा छु ।
पछिल्ला वर्षहरूमा नेपाली चलचित्रले दर्शकको विश्वास पुनः जित्न थालेको देखिन्छ । यसलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ?
यो सकारात्मक संकेत हो । सामग्रीमा विविधता आएको छ, कथावस्तु र प्रस्तुतिमा नयाँ सोच देखिन थालेको छ । ‘कन्टेन्ट इज किङ’ भन्ने मान्यता नेपाली चलचित्रले पनि आत्मसात् गरेको छ । दर्शक अब नाममात्र होइन, विषयवस्तु हेरेर हल पुग्ने अवस्थामा छन्, जुन नेपाली चलचित्रको भविष्यका लागि निकै शुभसंकेत हो ।
नेपाली चलचित्रले भोगिरहेका प्रमुख चुनौती के-के हुन् ?
चुनौतीहरू धेरै छन् । पर्याप्त हलको अभाव, लगानीको सुनिश्चितता, प्रविधिमा समान पहुँच, दक्ष जनशक्ति र वितरण प्रणाली मुख्य चुनौती हुन् । साथै पाइरेसी, अव्यवस्थित प्रदर्शन प्रणाली र नीतिगत अस्पष्टताले पनि उद्योगलाई असर गरेको छ । बोर्ड यी सबै समस्यालाई क्रमशः समाधान गर्ने दिशामा काम गरिरहेको छ ।
बोर्डले नयाँ पुस्ताका चलचित्रकर्मीका लागि के गर्दैछ ?
नयाँ पुस्ता हाम्रो भविष्य हो । उनीहरूलाई तालिम, कार्यशाला, स्क्रिप्ट विकास कार्यक्रम र सहुलियतपूर्ण अनुमति प्रणालीमार्फत् प्रोत्साहन गरिरहेका छौँ । छोटा चलचित्र, वृत्तचित्र र डेब्यु निर्देशकका परियोजनालाई विशेष ध्यान दिइएको छ । सिर्जनशीलता र नवीनतालाई संस्थागत समर्थन दिनु बोर्डको स्पष्ट नीति हो ।
बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ को अवसरमा ११ विभिन्न विधामा तालिम तथा कार्यशाला सञ्चालन गर्ने भएको छ । यसका लागि इच्छुक चलचित्रकर्मीहरूबाट आवेदन आह्वान पनि गरिएको छ । चलचित्रकर्मीहरूको प्राविधिक, सिर्जनात्मक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ध्वनि, पोष्ट–प्रोडक्सन, छायांकन, पटकथा लेखन, ड्रोन, मेकअप, फोटो तथा भिडियो पत्रकारिता, एआई चलचित्र निर्माण, प्रतिलिपि अधिकार, साइबर सुरक्षा तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ । यी तालिम तथा कार्यशालामार्फत् नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सक्षम र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
डिजिटल प्लेटफर्म र ओटिटीको बढ्दो प्रभावलाई बोर्डले कसरी हेरेको छ ?
ओटिटीलाई हामी प्रतिस्पर्धी होइन, अवसरका रूपमा हेर्छौँ । यसले नेपाली चलचित्र र कथालाई विश्वव्यापी दर्शकमाझ पुर्याउने बाटो खोलेको छ । तर, हल संस्कृतिको संरक्षण पनि उत्तिकै आवश्यक छ । त्यसैले डिजिटल र हलबीच सन्तुलन कायम गर्ने नीतिमा हामी केन्द्रित छौँ ।
सरकारी तहबाट चलचित्र क्षेत्रले पर्याप्त सहयोग पाएको छ जस्तो लाग्छ ?
सुधारको आवश्यकता अझै छ । चलचित्र केवल मनोरञ्जन होइन, संस्कृति, पहिचान र अर्थतन्त्रसँग जोडिएको क्षेत्र हो भन्ने बुझाइ अझ गहिरो हुनुपर्छ । कर, अनुदान, सहुलियत ऋण र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा राज्यको भूमिका अझ प्रभावकारी हुनुपर्छ भन्ने हाम्रो निरन्तर आग्रह छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र पुर्याउने विषयमा बोर्डको योजना के छ ?
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, सह–निर्माण सम्झौता र नेपाललाई ‘फिल्म डेस्टिनेसन’ का रूपमा प्रवर्द्धन गर्नु हाम्रो लक्ष्य हो । विदेशी निर्माण टोलीलाई नेपालमा छायांकन गर्न आकर्षित गर्ने वातावरण बनाइरहेका छौँ, जसले नेपाली चलचित्रलाई पनि विश्व बजारसँग जोड्नेछ ।
अबको यहाँको बाँकी कार्यकालमा गर्नुपर्ने कार्यको सूची भन्नुपर्दा ?
माथि पनि धेरै कुरा आए । ऐनको काम हुन्छ । बनेपाको स्टुडियोलाई करिब अन्तिमतिर लिएर जाने । बोर्डले पछिल्लो समय क्षमता अभिवृद्धिमा काम गरिरहेको छ । खासगरी मेकअप, साउण्ड मिक्सिङ, भिएफएक्स र स्क्रिप्टमा धेरै ट्रेनिङ गराउनुपर्ने भएकाले यसका कामहरू पनि भइरहेका छन् । किनकि अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि यी चिजहरू आवश्यक छन् । कथा, कलाकार र सिनेमाटोग्राफी पनि छ । तर, हामीसँग मेकअप र साउण्ड मिक्सिङ रहेनछ ।
नेपाली चलचित्रप्रेमी दर्शक र चलचित्रकर्मीलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
दर्शक नै नेपाली चलचित्रका शक्ति हुन् । आफ्नै कथा, आफ्नै संस्कृति बोकेको चलचित्रलाई माया गरिदिनुहोस् । चलचित्रकर्मीहरूलाई भन्न चाहन्छु, इमानदार श्रम, अनुशासन र निरन्तर प्रयोग नै सफलताको सूत्र हो । चलचित्र विकास बोर्ड तपाईंहरूको साथी र सहयात्रीका रूपमा सधैँ साथमा रहनेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच