लेखक डा.तुलसी भट्टराईले ‘दोस्रो संस्करण’ भनेका भए पनि उपन्यास ‘ऊ पनि त मान्छे हो’ संस्करण नभई बयालीस वर्षपछिको पुनर्मुद्रणमात्रै हो भनिदिँदा फरक पर्दैन । प्रथम संस्करण नपढेको हुनाले पुनर्मुद्रणमात्रै हो भन्ने दाबी छैन तर पठनीयतामा ‘दोस्रो संस्करण’ देखा पर्दैन । ‘ऊ पनि त मान्छे हो’ चार दशकपछिको पुनर्मुद्रण नै सही, कथानक निकै साधारण भइकन पनि सशक्त छ, बलियो छ, पाठकलाई अड्याइराख्ने क्षमताको छ । आकार र कथानकका हिसाबले ‘लघु उपन्यास’ भनिदिँदा पनि लेखक र पात्रमाथि अन्याय हुनेछैन । भारतको वनारसमा एउटा नेपाली ठिटाले भोगेको कष्टसाध्य विद्यार्थी जीवन र त्यहीँ भोगेको झन् बढी कष्टकर पारिवारिक जीवनको कथा हो ‘उ पनि त मान्छे’ हो, लोग्नेस्वास्नी वरिपरि चक्कर मारेको लोग्नेको कथाव्यथा, स्वास्नीको गुनासो र गनगनको कथा ।
लेखक स्वयम् वनारसबाट शिक्षित/दीक्षित हुन् । वनारस नेपालीका विद्यार्थीका लागि शिक्षाको केन्द्र थियो झण्डै प्राचीनकालदेखि । ‘ऊ पनि त मान्छे हो’ को परिवेश चार दशकअघिकै हो, त्यसभन्दा अझ अघिदेखि लेखक स्वयंले देखेभोगेको परिवेश हो । लेखकले विद्यार्थीका रूपमा ‘ऊ’ पात्रले भोगेका घटनाहरूको विवरण बडो मिहिनढङ्गले अक्षरमा बुनेर कथानक विकास गरेका छन्, कथा बनाउँदै उपन्यास सिर्जना गरेका छन् । मुख्य पात्र ‘ऊ’ को विद्यार्थी जीवन र दाम्पत्यका विवशताको मनोविश्लेषण गरेका छन् । ‘ऊ’ को कष्टसाध्य सामाजिक जीवनको चिरफार गरेका छन् ।
एउटा गरिब विद्यार्थी पढेर शिक्षित हुने धोको पूरा गर्न श्रम गर्छ, अनेक कष्ट सहन्छ । यसरी नै पढाइ पूरा गर्न तयार हुन्छ किनभने त्यहाँ लक्ष्य छ, यो भुक्तमान संक्रमणकालीन हो भन्ने थाहा छ । यतिमा पनि मान्छेजस्तो भएर बाँच्न नपाउनु पो उदेकलाग्दो छ ! यो लघु उपन्यासको मुख्यमात्र ‘ऊ’ ले कहिल्यै ‘आफू पनि मान्छे हुँ’ भन्ने सोच्न पाएन ।
लेखकले बयालीस वर्षअघि छापिएको प्रथम संस्करणमा डा.डिल्लीराम तिम्सिनाले लेखको मन्तव्यको अंश उद्धृत गरेका छन्– स्वात्मापरक भावना र यथार्थ कल्पनाको साकार स्वरूप भएको निजात्मक निबन्ध हो । यसमा वर्णन गरिएका तीस वर्षे युवाका यस्ता आत्मकथ्यात्मक सामग्री प्रशस्तै छन् । लेखकको भाव व्यक्त गर्ने शैली सरल, यथार्थपरक र मनोहर छ । लेखकले आफैँ अनुभूत गरेझैँ लाग्छ पाठकलाई । डिल्लीरामको मन्तव्यझैँ साँच्चै, ‘ऊ’ पात्र लेखक स्वयं पो हुन् कि जस्तो लाग्ने, त्यो वनारसी जीवनको अलिअलि भोक्ता त लेखक आफैं पनि हुनसक्छन् । त्यो तहका भोक्ता होइनन् भने पनि नजिकबाट भुक्तभोगीहरू देखेका र तिनीहरूसँग आत्मीय सङ्गत गरेका हुनन् भन्ने अनुमान गर्दा लेखकमाथि अन्याय नहोला, अतिशयोक्ति पनि नहोला ।
आखिर आफ्नै वरिपरि भएका, आफ्नै आँखाले देखेका र अलिकति अनुभूत गरेका विषयको उठान न हो सामाजिक आख्यान ! नेपालको राणाशासनकाल र अझ त्यसपूर्वको समयमा नेपालीजन शिक्षाको उज्यालो खोज्दै वनारस पुग्थे । अझै पनि संस्कृत भाषा पढ्न र परम्परागत हिन्दु पण्डित बन्ने शिक्षा लिन वनारस र वृन्दावन जाने चलन छ । अझै पनि आध्यात्मिक ज्ञानका केन्द्र मानिन्छन् वनारस र वृन्दावन । ‘ऊ पनि त मान्छे हो’ उहिलेको समयको चित्र हो । वनारसमा आज पनि त्यसको अवशेष होला, मात्रा घटेको होला तर खोजी गरे अवश्य पाइएला । आजका शिक्षार्थीहरू ‘ऊ’ पात्रझैँ पेट भर्नकै लागि एकपछि अर्को ‘क्षेत्र’ चहार्नु नपर्दो हो, ‘जागे रहो... जागे रहो...’ भन्दै रातभर कराउनु नपर्दो हो तर भुक्तमान झण्डै उस्तै छ । क्षेत्रहरू उसै गरी चलेका छन् ।
एउटा गरिब विद्यार्थी पढेर शिक्षित हुने धोको पूरा गर्न श्रम गर्छ, अनेक कष्ट सहन्छ । यसरी नै पढाइ पूरा गर्न तयार हुन्छ किनभने त्यहाँ लक्ष्य छ, यो भुक्तमान संक्रमणकालीन हो भन्ने थाहा छ । यतिमा पनि मान्छेजस्तो भएर बाँच्न नपाउनु पो उदेकलाग्दो छ ! यो लघु उपन्यासको मुख्यमात्र ‘ऊ’ ले कहिल्यै ‘आफू पनि मान्छे हुँ’ भन्ने सोच्न पाएन । मान्छे हुनुको मूल्य अनुभव गर्न पाएन । ‘ऊ’ साढे चार दशकअघिको वनारसमा नेपाली विद्यार्थीको मात्र होइन आजको एउटा युवासमूहको पनि प्रतिनिधि हो ।
चार दशकअघिको वनारसी परिवेश आज जस्ताको तस्तै नहोला, नेपाली विद्यार्थीले अपवादबाहेक ‘ऊ’ लेझैँ भुक्तमान खेप्नु नपर्ला तर त्यो समयको कथा आज असान्दर्भिक हुँदैन, म्याद गुज्रेको पनि हुँदैन । आखिर साहित्य भन्नु इतिहासको एउटा आयाम हो । इतिहासतिर फर्किने गोरेटो हो । भानुभक्त आचार्यले ‘छोरीलाई अर्ती’ र ‘बधुशिक्षा’ लेखिदिएका थिए र पो आजका बुज्रुगहरूले उनलाई ‘स्त्रीद्वेषी’ भन्न पाएका छन् ! यस्ता बुज्रुगहरूले भानुभक्तले त्यो समयको सामाजिक चित्र उतारिदिएका थिए भन्ने तथ्य स्वीकार नगर्दैमा आकाश खस्ने होइन क्यारे !
‘ऊ’ की स्वास्नीको चरित्र चित्रणमा लेखकको दोष देखाउने ठाउँ जत्ति पनि छ । कुनै गरिबकी, समयानुकूल परिवारको सबै आवश्यकता पूरा हुनेगरी आम्दानी गर्न नसक्ने लोग्नकी स्वास्नी हुनुको अर्थ ‘ऊ’ की स्वास्नीमा खोज्ने हो भने लेखक यो साढे चार दशक समयान्तरले ल्याएको चेतन तारो बन्न सक्छन् । परिवारमा अभाव छ, बिहान बेलुकाको छाक टार्नै कठिन छ । चामल छ त तरकारी छैन, तरकारी छ त चामल छैन । मरमसला कता हो कता ! मरिच छ त चियापत्ति छैन, चियापत्ति छ त चिनी छैन । नयाँ सिनेमा उत्रिने बेला भइसक्दा पनि हेर्ने रहर पूरा हुँदैन । नयाँ सारीचोलो, नयाँ चप्पलजुत्ता किन्ने त कहिले हो कहिले ! लोग्ने सुनेको नसुन्यै गर्छ ।
कथावस्तु साढे चार दशकअघिको स्वरूपमा जस्ताको तस्तै हुनु जायज हो । त्यसले समयको चित्र दिएको छ तर हिज्जेमा मिहीन ढङ्गले ध्यान पुर्याएको भए सुनमा सुगन्ध हुने थियो । यसो नहुनमा लेखकभन्दा बढी प्रकाशक सचेत हुनुपर्ने हो । लेखकको खातिरदारीमा पुस्तक छापिदिएको जस्तोमात्र हुँदा एउटा पाठकलाई खल्लो अनुभव हुन्छ ।
वर्षैपिच्छेका जस्ता छोराछारी छन्, एक-दुई होइन धेरै । तिनको पालनपोषण र शिक्षा-स्वास्थ्यको कुराले मनभती पोल्दो छ ।
यही सेरोफेरोमा स्वास्नी सधैँ गनगन गर्छे, लोग्ने अवाक हुन्छ । स्वास्नीको मनमा लोग्नेप्रति करुणाको र आक्रोशको भाव बराबर छ । आखिर लोग्नेस्वास्नी न हुन् । ‘ऊ’ सहनशील पात्र हो । अभाव छ, कष्ट छ, यसले सिर्जना गरेको पीडा छ तैपनि शान्त र संघर्षशील छ किनभने ‘ऊ’ सँग भविष्यको आशा छ । उपन्यासको पष्ठभूमि ‘ऊ’ को जन्मदिनले सिर्जना गर्छ र स्मरणको सेरोफेरोमा फैलिन्छ । कथानको परिवेश साँघुरोजस्तो लागे पनि त्यसले निहित जीवनका आयामहरू अनन्त क्षितिजसम्म फैलिएका छन् । ‘ऊ’ तीस वर्ष उमेरको छ तर बुढो भइसकेको छ । पचास वर्ष पुग्नु त लौरो टेक्ने बुढो हुनु हो ।
कस्तो सामाजिक-आर्थिक परिवेशमा वर्ष उमेरको मान्छे आफूलाई बुढो अनुभव गर्छ ! आजको नेपाल त्यो होइन, आजको वनारस पनि त्यो होइन । तीस वर्षको मान्छेले पनि आफूलाई बुढो ठान्ने गरेको त्यो समयतिर फर्की हेर्दामात्र ‘ऊ पनि त मान्छे हो’ को मर्मबोध हुन्छ । त्यसैले त भनेको नि यो उपन्यास लघु भइकन पनि फराकिलो छ, अनन्तः क्षितिजसम्म फैलिएको छ । पारिवारिक बोलचालको शैलीले पठन रसिलो बनाइएो छ तर खोटको कुरा गर्नै पर्छ । नामदेखि नै खोट देखिन्छ । ‘ऊ पनि त मान्छे’ मा ‘ऊ’ नलेखेर किन ‘ऊ’ लेखेको होला ! सिंगो किताबभरि किन ‘ऊ’ लेख्नु परेको होला ! शब्दैपिच्चेजसो, वाक्यै पिच्छेजस्तो डटडट (...) किन राखेको होला दिक्क लाग्ने गरी ।
कथावस्तु साढे चार दशकअघिको स्वरूपमा जस्ताको तस्तै हुनु जायज हो । त्यसले समयको चित्र दिएको छ तर हिज्जेमा मिहीन ढङ्गले ध्यान पुर्याएको भए सुनमा सुगन्ध हुने थियो । यसो नहुनमा लेखकभन्दा बढी प्रकाशक सचेत हुनुपर्ने हो । लेखकको खातिरदारीमा पुस्तक छापिदिएको जस्तो मात्र हुँदा एउटा पाठकलाई खल्लो अनुभव हुन्छ नै । यसले लेखकमाथि त अन्याय हुन्छ नै, पाठलेझन् बढी अन्याय अनुभव गर्छ । यति भईकन पनि जनबोलीको लेखनशैलीले पाठकलाई तानिबस्दो रहेछ । आखिर उत्पत्तिदेखि आजसम्मको भुक्तमान र सङ्घर्ष ‘मान्छे’ हुनका लागि त हो ।





samiksha ramro lagyo