काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा थालेको भ्रष्टाचारविरोधी अभियान अधुरै रहेको बताउनुभएको छ । रुकुमपूर्व-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका निम्ति सुरु गरेको अभियान पनि अधुरै रहेको उल्लेख गर्नुभएको हो ।
सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘हामीले विकासको एउटा नयाँ मोडेल दिन सकिएन भने हाम्रो यात्रा, शहीदहरूका सपना, क्रान्तिकारीहरूका सपना अधुरै हुने खतरा छ । त्यसकारण हामी समुदायमा आधारित समाजवादको मोडेल खडा गर्नु छ । उहाँले थप्नुभयो, ‘पूर्वी रुकुमका हाम्रा सबै नेता कार्यकर्ता कमरेडहरूको पनि भावना र चाहना मैले नजिकबाट हेरेको थिए । त्यहाँका जनताको चाहनालाई पनि मैले आत्मसात् गरेर नै पूर्वीरुकुम नै जाने निर्णय गरेँ । मैले सुरुमा भनेँ पूर्वीरुकुम जानु भनेको अन्यत्र गएजस्तो मात्रै होइन भन्ने मेरो बुझाइ छ । पूर्वीरुकुम नेपाली क्रान्तिको, जनयुद्धकालको एउटा केन्द्रीय आधार इलाका हो ।’
विभिन्न जिल्ला र क्षेत्रबाट उम्मेदवार सिफारिश भए पनि देशको राजनीतिक परिस्थिति, पार्टी र आन्दोलनको आवश्यकताको आधारमा आफूले पूर्वीरुकुम रोजेको बताउदै प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव भए नेकपा पहिलो पार्टी बन्नसक्ने दाबी गर्नुभएको छ । प्रचण्ड भन्नुहुन्छ, ‘देशमा निर्वाचनको माहोल बन्दै गइरहेको छ । एकथरी मानिस अनेक बहानामा निर्वाचन हुँदैन भन्ने गरेको थिए । नेपाली कम्युनिष्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिनँ नयाँ भन्नेको हावा चलेकै छ । तर, प्रत्यक्षमा हामी अगाडि हुन्छौँ । प्रत्यक्ष र समानुपातिक जोड्दा हामी एक नम्बर पार्टी बन्ने सम्भावना छ ।’
‘अब रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु’
नेकपा संयोजक प्रचण्डले आफू भोट माग्न र चुनाव जित्नका लागि मात्र रुकुमपूर्व जान नलागेको दाबी गर्नुभएको छ । शुक्रबारको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले रुकुम पूर्वमा विकास, उत्पादन र रोजगारीको नयाँ ‘मोडेल’ खडा गरेर त्यसलाई समाजवादको भ्रूणका रूपमा विकास गर्ने योजना सुनाउनुभएको थियो । त्यहाँको जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि र आधुनिक भेडा पालनमार्फत हजारौँ युवालाई रोजगारी दिएर समाजवादको आधार तयार पार्ने आफ्नो सपना रहेको उहाँले उल्लेख गर्नुभएको छ । आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णय लिनुको कारण खुलाउँदै प्रचण्डले यो केवल निर्वाचन क्षेत्र फेर्ने कुरा मात्र नभएको बताउनुभयो ।
उहाँले रुकुमपूर्व जनयुद्धको केन्द्रीय आधार इलाका भएको र ऐतिहासिक चुनवाङ बैठकबाटै नेपालमा गणतन्त्रको शंखघोष गरिएको स्मरण गदै, चुनवाङ बैठकले नै महिला, दलित, जनजाति र उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउने नीति पास गरेको भन्दै उहाँले पार्टी इतिहासको अविस्मरणीय ‘लाभाङ बैठक’ र हुकाम-मैकोटको प्रतिरोधको विरासतलाई सम्मान गर्न आफू त्यहाँ जान लागेको बताउनुभएको छ ।
खाम मगरहरूलाई छुट्टै स्वायत्त क्षेत्र दिने आश्वासन
नेकपाका संयोजक ‘प्रचण्ड’ले खाम मगरहरूलाई छुट्टै स्वायत्त क्षेत्र दिने आश्वासन पनि दिनुभएको छ । उहाँले शुक्रबार मगर समुदायसँग कुरा गर्दै भन्नुभयो ‘तपाईंहरूलाई थाहा छ, हामीले संविधान बनाउँदा धेरै ठूलो छलफल र बहस गरेपछि खाली सातवटा प्रदेश बनाउने निर्णय मात्रै भएको छैन संविधानमा’, प्रचण्डले भन्नुभयो, ‘संविधानमा विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र बनाउने कुरा पनि लिपिबद्ध गरिएको छ ।’ साथै उहाँले संविधानमा व्यवस्था भएका कुरा कानुनमा व्यवस्था गरिए खाम-मगर सभ्यताका आधारमा स्वायत्त क्षेत्र बनाउन सम्भव रहेको उल्लेख गर्नुभयो ।
प्रचण्ड नेतृत्वको ‘नेकपा’ कम्युनिष्ट आन्दोलनको ‘कुरूप चित्र’ हो : विप्लव
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट आन्दोलनको कुरूप चित्र भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले उक्त पार्टीको अस्वाभाविक रूपमा ठूलो केन्द्रीय समितिले सिंगो कम्युनिष्ट आन्दोलनलाई बदनाम गरिरहेको आरोप लगाउनुभयो । समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने सहमतिबाट प्रचण्ड पछि हटेर पार्टी गठन गरेको उहाँको जिकिर थियो ।
उहाँले धेरै मानिस जम्मा गर्दैमा कम्युनिष्ट पार्टी ठूलो नहुने स्पष्ट पार्दै विचार र सिद्धान्तमा उभिन नसक्नेहरूसँग आफ्नो एकता सम्भव नरहेको बताउनुभयो । महासचिव विप्लवले भन्नुभयो, ‘समाजवादी मोर्चामा हामी अन्तिम समयसम्म पनि एकताका लागि बसेका थियौँ । तर, बाहिर हल्ला गरियो- विप्लवहरू एकताबाट पछि हटे भनेर । त्यो सरासर झुटो हो । लामो छलफलपछि हामीले स्पष्ट रूपमा भनेका छौँ- कमरेड प्रचण्ड एकताबाट भाग्नुभएको हो । उहाँको नेतृत्वमा समाजवादी मोर्चा क्रान्तिकारी मान्यता, मर्म र उद्देश्यबाट विचलित भयो । भागेर पार्टी त बन्यो, तर त्यो पार्टीजस्तो छैन । अहिले हेर्नुस्- २५ सयदेखि तीन हजारसम्म केन्द्रीय सदस्य छन् । यो कम्युनिष्ट आन्दोलनको हुर्मत लिने कुरा हो ।’
महासचिव विप्लवले आफूहरूले माओवादको पक्षमा सधैँ अडिग रहने स्पष्ट पार्दै विचलनबाट भागेर गरिने एकताको अपील स्वीकार्य नहुने बताउनुभयो । उहाँले आफूले विकास गरेको विचारमा आफैँ उभिन नसक्दा र इतिहासको रक्षा गर्न नसक्दा आन्दोलन कुरूप बन्दै जाने अनुभव देखिएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा विभिन्न पृष्ठभूमिबाट आएका कार्यकर्ताहरूको पार्टी प्रवेश र एकता घोषणा भए पनि विप्लवको सम्बोधनले माओवादी आन्दोलनभित्रको वैचारिक ध्रुवीकरण र विचारधाराको शुद्धताको बहसलाई पुनः तीव्र बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालबाट आएका महेन्द्र पाण्डे लगायतलाई पार्टीमा स्वागत गर्दै उहाँले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रप्रति कडा आलोचना गर्नुभयो । महासचिव विप्लवले निर्वाचन प्रचार अभियानका क्रममा देशव्यापी दौडाहमा निस्कने तयारीसमेत रहेको जानकारी दिनुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…