काठमाडौं । आइसिसी टी-२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको एमसिए प्रेसिडेन्ट-११ विरुद्ध लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले एमसिएलाई ४८ रनले पराजित गरेको हो । यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपालले सात विकेटको सहज जित निकालेको थियो ।
शनिबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८३ रन बनायो । नेपालको ब्याटिङमा आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै अविजित अर्धशतक प्रहार गर्नुभयो । उहाँले ४२ बलको सामना गर्दै नटआउट ६६ रन बनाउनुभयो । सन्दीप जोराले २६ बलमा ३१ रन जोड्नुभयो भने आशिफ शेखले २५ रन बनाउनुभयो । गुल्सन झा २३ रनमा आउट हुँदा लोकेश बमले १५ र बसिर अहमदले नौ रनको योगदान दिनुभयो ।
१८४ रनको लक्ष्य पछ्याएको एमसिए प्रेसिडेन्ट-११ ले पूरा २० ओभर खेल्दै आठ विकेट गुमाएर १३८ रनमात्र बनाउन सक्यो । एमसिएका लागि मुल चन्दनीले सर्वाधिक ४७ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । नेपालको बलिङमा सन्दीप लामिछानेले तीन विकेट लिनुभयो भने ललित राजवंशी र गुल्सन झाले दुई-दुई विकेट हात पार्नुभयो ।
यसअघि शुक्रबार राती भएको पहिलो अभ्यास खेलमा एमसिएले दिएको १४३ रनको लक्ष्य नेपालले १७.२ ओभरमै तीन विकेटको क्षतिमा पूरा गरेको थियो । उक्त खेलमा कप्तान रोहित पौडेलले अविजित सर्वाधिक ५० रन बनाउनुभएको थियो । ओपनर कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २८ तथा आसिफ शेखले १६ रन जोड्नुभएको थियो ।
पहिलो खेलमा पहिला ब्याटिङ गरेको एमसिए प्रेसिडेन्ट-११ ले २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो । एमसिएका लागि सिद्धार्थ आकरेले २८ र परिक्षित वलशंकरले २७ रन बनाउनुभयो । बलिङमा नेपालका नन्दन यादवले दुई विकेट लिँदा शेर मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा र कुशल भुर्तेलले एक-एक विकेट लिनुभएको थियो ।
विश्वकपअघि नेपालले अब चेन्नईमा फेब्रुअरी ३ मा संयुक्त अरब इमिरेट्स (युएई) र फेब्रुअरी ५ मा क्यानडासँग वार्म–अप खेल खेल्नेछ । भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी-२० विश्वकपमा नेपालको यात्रा फेब्रुअरी ८ मा इंग्ल्याण्डविरुद्धको खेलबाट सुरु हुनेछ ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसँगै दुईपटकको विजेता वेष्ट इण्डिज, एकपटकको विजेता इंग्ल्याण्ड, स्कटल्याण्ड र इटाली रहेका छन् ।
नेपालले तेस्रोपटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्याण्ड्स र नामिबिया रहेका छन् । यस्तै, समूह ‘बी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे, आयरल्याण्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेका छन् ।
समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिनेछ । त्यसपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच