अमेरिकाका प्रसिद्ध भाषाशास्त्री तथा चिन्तक नोम चम्स्कीले एकपटक भनेका थिए- नेता र डाइपर समय-समयमा फेर्नुपर्छ, नत्र दुर्गन्ध आउँछ । चम्स्कीको यो भनाइ केवल व्यंग्यमात्र होइन, लोकतान्त्रिक अभ्यासप्रतिको गहिरो संकेत पनि हो । जहाँ नागरिक सचेत छन्, त्यहाँ नेतृत्व छिट्टै बदलिन्छ । संयुक्त राज्य अमेरिकामै हेर्ने हो भने एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने संवैधानिक व्यवस्था छ । यस्तो देशमा पनि चम्स्कीले नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउनु आफैंमा अर्थपूर्ण छ ।
तर, नेपाली राजनीतिक परिवेश भने यसको ठीक उल्टो देखिन्छ । यहाँ राजनीतिलाई अस्थायी सार्वजनिक सेवा होइन, जीवनभरको पेशा बनाउने प्रवृत्ति मौलाउँदै आएको छ । पद प्राप्त भएपछि त्यसैमा टिकिरहने, सक्दो लामो समय सत्तामा बस्ने र अन्ततः पदमा रहँदै जीवन टुंग्याउने आकांक्षा धेरै नेतामा देखिन्छ । यस्तो प्रवृत्तिले मान-सम्मानसँगै आर्थिक तथा पारिवारिक लाभ सुनिश्चित हुन्छ भन्ने मानसिकता पनि हाबी देखिन्छ । यसका अतिरिक्त, राजनीतिक पदमा रहेकै कारण विगतमा गरिएका कमजोरी, गल्ती वा अनियमितताबाट जोगिन सकिन्छ भन्ने बुझाइ पनि कतिपय नेतामा हुनसक्छ ।
नेपालमा एउटै व्यक्ति पाँचौं, छैटौं पटकसम्म निर्वाचनमा प्रतिस्पर्धा गरिरहने दृश्य सामान्य बन्दै गएको छ । यहाँसम्म कि एउटा मतदाताले १८ वर्षको उमेरमा जसलाई मतदान गर्यो, ५० वर्ष पुग्दासमेत त्यही व्यक्तिलाई मत हालिरहनुपर्ने बाध्यता महसुस गर्नुपरेको अवस्था छ । कतिपय नेता आफ्नै मिहिनेत र संघर्षबाट उदाएका छन् भने कतिपय भने बाउबाजेबाट हस्तान्तरण भएको राजनीतिक विरासतकै भरमा अघि बढिरहेका छन् । यी दुवै खालका नेताले राजनीतिलाई दीर्घकालीन पेशा बनाएको यथार्थ स्पष्ट देखिन्छ ।
तर, पछिल्ला केही वर्षयता यो प्रवृत्तिप्रति जनस्तरमा वितृष्णा बढ्दै गएको छ । एकैखाले विचार, उही कार्यशैली र उही अनुहारहरूलाई पटक–पटक स्वीकार गर्नुपर्दा मतदातामा निराशा पैदा हुनु स्वाभाविक हो । यही वितृष्णाको परिणामस्वरूप नयाँ दलहरू जन्मिएका छन् र नयाँ अनुहारहरू राजनीतिक परिदृश्यमा अगाडि आएका छन् । तीन वर्षअघिको निर्वाचनमै राजनीतिमा खासै परिचित नभएका दल र नेताहरू स्थापित हुन सकेका उदाहरण जनताको पुरानाप्रतिको असन्तुष्टिकै उपज हुन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको चहलपहल पनि यही मनोविज्ञानसँग जोडिएको छ ।
यस पटकको निर्वाचनमा लामो समयदेखि राजनीतिमा सक्रिय रहेका थुप्रै पुराना नेताहरू प्रतिस्पर्धामा नदेखिनु पनि उल्लेखनीय पक्ष हो । नेपाली कांग्रेसभित्र पार्टी संरचनामै परिवर्तन देखिन थालेको छ, जहाँ केही अपवादबाहेक अधिकांश नयाँ अनुहारहरू चुनावी मैदानमा छन् । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ को पहिलो आमनिर्वाचनबाट उदाएका धेरै नेताहरू आजसम्म पनि सक्रिय रहनु आफैंमा राजनीतिक निरन्तरताको उदाहरण हो । तर, यही निरन्तरता कहिलेकाहीँ स्थायित्वभन्दा जडता बन्न पुगेको अनुभूति जनतामा बढ्दै गएको छ ।
राजनीतिमा पुराना र नयाँ दुवैका आफ्ना–आफ्ना सबल र कमजोर पक्ष छन् । अनुभवी नेताहरूले शासन प्रणाली, नीति निर्माण र कार्यान्वयनमा गहिरो ज्ञान राख्छन्, अधुरा योजना पूरा गर्ने क्षमता पनि उनीहरूसँग हुन्छ भन्ने विश्वास एकातिर छ । तर अर्कोतर्फ, लामो समय सत्तामा रहेकाले भ्रष्टाचारका ‘छिद्र’ चिनेका हुन्छन् र त्यसको दुरुपयोग गर्नसक्ने सम्भावना पनि उत्तिकै रहन्छ । नयाँ नेताहरूमा जोश, ऊर्जा र परिवर्तनको चाहना प्रबल हुन्छ, तर अनुभवको कमीका कारण उनीहरूले चाहेका सबै काम सहजै सम्पन्न गर्न सक्दैनन् भन्ने यथार्थ पनि स्वीकार गर्नुपर्छ ।
नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उदाहरण उल्लेखनीय छ । उहाँ कुनै राजनीतिक विरासतबाट होइन, आफ्नै संघर्षबाट उदाउनुभएको नेता हुनुहुन्छ । तर पटक-पटकको निर्वाचन प्रतिस्पर्धा र पार्टीभित्र आफूबाहेक विकल्प नरहेको सन्देश दिन खोज्ने प्रवृत्तिले धेरैलाई असन्तुष्ट बनाएको छ । यही असन्तुष्टिलाई लक्ष्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा ओलीविरुद्ध उम्मेदवार उतारेको छ । झापा-५ र सर्लाही-४ जस्ता क्षेत्रमा बाहिरबाट आएका उम्मेदवारप्रति स्थानीयको उल्लेखनीय समर्थन देखिनु पनि त्यहाँका मतदाताहरू विकल्प खोजिरहेका छन् भन्ने संकेत हो ।
निश्चय नै, जति राम्रो काम गरे पनि कुनै न कुनै स्तरको विरोध हुन्छ नै । कतिपय विरोध व्यक्तिगत असन्तुष्टि वा स्वार्थसँग पनि जोडिएका हुन्छन् । तर लामो समयसम्म निरन्तर सत्तामा रहेकाहरूविरुद्ध देखिने असन्तोषलाई केवल व्यक्तिगत कारणमा सीमित गरेर बुझ्नु सही हुँदैन । तराईका केही नेताहरू, जस्तै शरतसिंह भण्डारीजस्ता व्यक्तिहरूले पुस्तौंदेखिको राजनीतिक विरासत बोकेर राजनीति गरिरहनु पनि यथार्थ हो । यस्ता नेताहरू पटक-पटक निर्वाचित हुनुको अर्थ उनीहरूले स्थानीयस्तरमा केही काम गरेकै हुन सक्छन् भन्ने दृष्टिकोण पनि विचारणीय छ ।
लोकतन्त्रको आत्मा चुनाव होइन, विकल्प हो । तर, जब एउटै अनुहार दशकौंसम्म मतपेटिकामै घुमिरहन्छ, तब लोकतन्त्र क्रमशः औपचारिकतामा सीमित हुन थाल्छ । अनुभवका नाममा जडता, स्थायित्वका नाममा स्वार्थ र निरन्तरताका नाममा सत्ता-आसक्ति स्वीकार गरिरहनु लोकतान्त्रिक चेतनाको कमजोरी हो । राजनीतिलाई जीवनभरको जागिर बनाउने प्रवृत्तिले नेतृत्वलाई जनताबाट होइन, कुर्सीबाट निर्देशित गराउँछ ।
पुराना नेताहरूको योगदान अस्वीकार गर्नु गलत हुन्छ, तर योगदानको नाममा असफलता, अहंकार र जवाफदेहिताको अभावलाई निरन्तर माफी दिइरहनु झन् ठूलो गल्ती हो । नयाँ अनुहारहरू सधैं सही नहुन सक्छन्, तर पुरानाले सधैं सही गर्छन् भन्ने भ्रम अझ खतरनाक छ । परिवर्तनको जोखिम लिन नसक्ने समाज स्थायित्व होइन, पतनतर्फ उन्मुख हुन्छ ।
यसर्थ, मतदाताले ‘मेरो विकल्प छैन’ भन्ने आत्मसमर्पणकारी सोच त्याग्नैपर्छ । चुनाव भावनात्मक नारा वा पार्टीको झण्डाभन्दा माथि उठेर कार्यक्षमता, इमानदारी र जवाफदेहिताको कठोर मूल्यांकनको परीक्षा हुनुपर्छ । नत्र नेताहरू फेरिँदैनन्, केवल कुर्सी घुमिरहन्छ र लोकतन्त्र बिस्तारै गनाउन थाल्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच