काठमाडौं । चलचित्र पत्रकार संघ, नेपालका निवर्तमान अध्यक्ष ४५ वर्षीय दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । सिटौलाको आइतबार १२ः४५ बजे निधन भएको ग्राण्डी इन्टरनेसनल अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो । जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ । र, उहाँको १२ः४५ बजे निधन भएको जानकारी गराउँछौं ।’
दिनेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को चुनावी यात्राका क्रममा सुदूरपश्चिम भ्रमण रहेको वेला माघ १६ गते बिहान अछाममा बेहोस् हुनुभएको थियो । बेहोस् भएर ढलेपछि सिटौलालाई अछाम जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा ४५ मिनेट सीपीआर दिइएको थियो । मुटुको चाल फर्किएपछि कृत्रिम श्वास दिएर सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो । त्यहाँबाट जहाजमा काठमाडौंमा ल्याइएको थियो । उहाँ अस्पताल ल्याउँदा बेहोस हुनुहुन्थ्यो ।
उहाँको क्रिटिकल केयर र न्यूरो सर्जरी टिमको टोलीले संयुक्त रूपमा आईसीयूमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । प्रारम्भिक परीक्षणमा ‘ग्याग रिफ्लेक्स’को उपस्थिति देखिएपछि थप ४८ घण्टा अनुगमनमा राखिएको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालका अनुसार, आईसीयूमा राख्दा पनि न्यूरोलोलिक अवस्थामा सुधार आएको थिएन । मष्तिष्कको कार्यक्षमतामा पनि कुनै संकेत नदेखिएपछि परिवारलाई जानकारी गराइएको अस्पतालले जनाएको छ ।
२०३७ साल कात्तिक ५ गते नुवाकोटमा बुबा गोकर्णराज सिटौला तथा आमा स्वर्गीय खेम कुमारीको तेस्रो सन्तानका रुपमा दिनेश सिटौलाको जन्म भएको थियो । डेढ दशक भन्दा लामो समय पत्रकारितामा निरन्तर सक्रिय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । द सिनेमा टाइम्स डटकमका सञ्चालकसमेत रहनुभएका सिटौला कुशल चलचित्र पत्रकार हुनुहुन्थ्यो ।
सिटौलाले चलचित्र पत्रकार संघमा सचिव (२०७०-२०७३), उपाध्यक्ष (२०७३-२०७६) र अध्यक्ष (२०७६-२०७९) का रूपमा कार्य गर्नुभएको थियो । उहाँ संघको निवर्तमान अध्यक्ष तथा सल्लाहकारको रूपमा रहनुभएको थियो । मिलनसार तथा सहयोगी स्वभावका सिटौला अविवाहित हुनुहुन्थ्यो । पत्रकारिताको क्रममा सिटौलाले थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उहाँले नेपाल टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रम चलाउनुभएको थियो ।
उहाँको निधनप्रति नेपाल पत्रकार महासंघसहित चलचित्र तथा सञ्चार क्षेत्रले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । पत्रिकार सिटौलाको निधनमा हिमालय टाइम्स पत्रकार प्रतिष्ठान हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदान प्रकट गर्दछ । उहाँको पार्थिव शरिरलाई आइतबार अन्तिम संस्कारणअघि चलचित्र विकास बोर्डमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । जहाँ सञ्चारकर्मी, कलाकार र शुभेच्छुकहरूले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
उहाँको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा सहभागी भई श्रद्धाञ्जलि अर्पण गर्न पूर्वमन्त्री ऊर्जा कुलमान घिसिङ, काठमाडौं नेता बालेन्द्र (बालेन) साहसहित कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू पशुपति पुग्नुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच