निर्वाचनको मिति जति नजिक हुँदैछ, त्यति नै चुनावी वायुमा उष्णता बढ्दै छ । आसन्न प्रतिनिधिसभाका लागि हुन गइरहेको मध्यावधि निर्वाचनका लागि अब एक महिनामात्र समय बाँकी रहेको छ । निर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक गर्मी बढ्नु र एकअर्काबीच आरोप- प्रत्यारोप, अन्तरकुन्तरको खोजी अत्यन्त स्वाभाविक भएको छ । ओल्लो घरको नरे पल्लो घरमा सरेको नीति पनि कम छैन । अर्थात् जनप्रतिनिधि दाबी गर्नेहरूदेखि मौकामा चौका हान्न सिपालुहरू फरक हातबाट टीका लगाउने क्रम ह्वात्तै बढेको देखिन्छ । पुराना दलबाट दिक्क भएकाहरूदेखि नयाँ दलका पक्षमा लाग्नेहरू सबैलाई फकाउने, फुल्याउने, फुर्काउने मन्त्रोच्चारण पनि कम सुनिँदैन । पुराना दलहरूमात्र होइन, नयाँ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू समेत चुनावी मैदानमा यसरी नै सक्रिय देखिएका छन् । प्रतिस्पर्धा निर्वाचनको स्वाभाविक चरित्र हो । तर, राजनीति र निर्वाचन अन्य पेशा-व्यवसायभन्दा भिन्न हुन्छ । यहाँ पहिलो हुनेले सबै जित्छ, बाँकी सबैको हैसियत हार्नेमा सीमित हुन्छ । मतको अन्तर सानो होस् वा ठूलो, दोस्रो र जमानत जफत हुने उम्मेदवारको राजनीतिक परिणाम उस्तै हुन्छ ।
यसपटकको निर्वाचनको परिदृश्य भने विगतका निर्वाचनभन्दा केही फरक र अनिश्चित देखिन्छ । नेकपा एमालेबाहेकका प्रायः सबै दलहरू आन्तरिक पुनर्संरचना, विभाजन, परिमार्जन वा नेतृत्व परिवर्तनको प्रक्रियामा छन् । नेपाली कांग्रेसले संगठनलाई नवीकरण गर्ने बाटो लिए पनि भुसको आगो जस्तो भित्रभित्रै तुषको अग्नि समन भएको छैन । पुरानाहरूको सेखी झार्न, पुरानालाई विस्थापन गर्न केही नयाँ दलहरू उदाएका छन्, जसले स्थापित दलहरूको मताधारलाई प्रभावित पार्ने सम्भावना बोकेका छन् । यिनले आफैं जित हासिल नगरे पनि पुराना दलहरूको समीकरण भत्काइदिने भूमिका खेल्न सक्छन् । त्यसैले यो निर्वाचनमा कुन दल कति सिटसहित अगाडि आउला भन्ने अहिले नै हिसाब–किताब गर्न कठिन छ ।
यही अनिश्चितताबीच राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन साहलाई पार्टीमा समेट्दै ठूलो राजनीतिक हलचल ल्याएको छ । झापा-५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गराउँदै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको छ । एकाएक राष्ट्रिय राजनीतिमा नायकत्व पाउनुभएका बालेन अहिले देशका विभिन्न जिल्लाको भ्रमण सकेर काठमाडौं आइपुग्नुभएको छ । उहाँ स्थानीय भाषाशैली र सरल अभिव्यक्तिमार्फत मतदाता आकर्षित गर्ने प्रयासमा देखिनुहुन्छ । तर, उहाँको प्रचार शैलीलाई आक्रामकभन्दा मौन र सांकेतिक प्रचारका रूपमा हेरिएको छ । यद्यपि, शक्तिशाली र अनुभवी नेतासँगको यो प्रतिस्पर्धाले बालेन साहको राजनीतिक भविष्य उज्यालो बनाउँछ कि समाप्तितिर लैजान्छ भन्ने बहस चुनाव विश्लेषकहरूमाझ चर्को रूपमा चलिरहेको छ ।
उता नेपाली कांग्रेस पनि नयाँ स्वरूपसहित चुनावी मैदानमा उत्रिएको छ । अधिकांश नयाँ अनुहारहरूलाई उम्मेदवार बनाइएकाले पार्टीको चुनावी परिणाम अनुमान गर्न झन् कठिन भएको छ । पार्टीको नवकेन्द्रीय समितिले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । तर, कांग्रेसभित्रको आन्तरिक विवाद अझै पूर्ण रूपमा साम्य भएको छैन । विशेष महाधिवेशनमार्फत बनेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिए पनि सर्वोच्च अदालतको अन्तिम फैसला आउन बाँकी छ । यही अनिश्चितताबीच मनोनयन प्रक्रिया सम्पन्न भइसकेको छ । संस्थापन पक्षका केही नेताहरूले नयाँ नेतृत्वबाट प्राप्त टिकट स्वीकार गरी चुनावी मैदानमा उत्रिएका छन् भने टिकट नपाएका कतिपय वरिष्ठ नेताहरू मौन छन् । उनीहरूको यो मौनता स्वीकारोक्ति हो कि मौन विद्रोह-यो अझै स्पष्ट भएको छैन । तर सभापति थापाले कतिपय पुरानालाई समेट्नु र पुरानाहरूले पनि नयाँ सभापतिबाट टिकट लिनुले कांग्रेसलाई एकताको बाटोमा डोर्याएको देखिन्छ । अर्थात् दुवै पक्ष जिममेदार देखिएका छन् ।
यही सन्दर्भमा कांग्रेसका संस्थापक नेतृत्वमध्येका शेरबहादुर देउवाको भूमिकालाई राजनीतिक परिपक्वताको उदाहरूणका रूपमा लिन सकिन्छ । शारीरिक आक्रमणदेखि नेतृत्वबाट हटाइनेसम्मका घटनामा पनि उहाँले संयम र सहनशीलता देखाउनुभएको छ । जीवनको उत्तरार्धमा आइपुग्दा उहाँले देखाएको मौनता कमजोरी होइन, अनुभवबाट आएको धैर्यका रूपमा बुझ्नुपर्छ । यद्यपि, वरिष्ठ नेताहरू चुनावी अभियानमा सक्रिय नदेखिनु पार्टीका लागि घाटाको विषय हो । अनुभव, अभिभावकत्व र राजनीतिक मार्गदर्शन नयाँ पुस्ताका लागि अझै अपरिहार्य छन् ।
पार्टीभित्र विगतमा देखिएका कटुता, वक्तव्यबाजी, कारबाही र प्रतिकारका निर्णयहरू तत्कालीन आवेग र उत्तेजनाका उपज थिए । ती निर्णयलाई अहंकारको विषय बनाइराख्नु पार्टीलाई नै कमजोर बनाउने बाटो हो । नयाँ नेतृत्वले वरिष्ठहरूको सम्मान र उपयोग गर्न सक्नुपर्छ भने वरिष्ठहरूले पनि परिवर्तनलाई स्वाभाविक रूपमा स्वीकार गर्दै मार्गदर्शकको भूमिका निर्वाह गर्नुपर्छ । राजनीति क्रमिक प्रक्रियाबाट अघि बढ्छ, पुस्ता-संघर्षबाट मात्रै होइन ।
अन्तत : यो निर्वाचन केवल सत्ताको अंकगणितमात्र होइन, दलहरूको राजनीतिक संस्कार, सहिष्णुता र परिपक्वताको परीक्षा पनि हो । नेतृत्व परिवर्तन, नयाँ शक्तिको उदय र पुराना दलहरूको आन्तरिक संघर्षले मतदातालाई असमञ्जसमा पारेको वर्तमान अवस्थामा चुनावको परिणामभन्दा बढी महत्वपूर्ण प्रश्न राजनीतिक संस्कारको हो । जित-हार स्वाभाविक प्रक्रिया हो, तर हार स्वीकार गर्ने क्षमता, असहमति सहने संस्कार र संस्थालाई व्यक्तिभन्दा माथि राख्ने दृष्टिकोण लोकतन्त्रका आधारस्तम्भ हुन् ।
वरिष्ठको सम्मान, कनिष्ठको उत्साह र साझा लक्ष्यप्रतिको प्रतिबद्धता कायम गर्नसकेमात्र दलहरू बलियो हुन्छन् । चुनाव जित्नु क्षणिक उपलब्धि हो, तर राजनीतिक चरित्र र संगठनको दीर्घकालीन भविष्य सुरक्षित गर्नु नै सबैभन्दा ठूलो विजय हो । यही यथार्थलाई आत्मसात् गर्दै सबै दल र नेताहरूले जिम्मेवार व्यवहार प्रदर्शन गर्न सकून्-यही नै आजको आवश्यकता हो ।
यदि यो निर्वाचन आवेग, व्यक्तिवाद र क्षणिक लोकप्रियताले निर्देशित भयो भने त्यसले दीर्घकालीन राजनीतिक अस्थिरता जन्माउनेछ । तर, मतदाताले विवेक प्रयोग गरे र दलहरूले परिपक्वता देखाए भने यही निर्वाचनले जिम्मेवार नेतृत्व, स्पष्ट नीति र स्थिर शासनतर्फको बाटो खोल्नसक्छ । त्यसैले आज आवश्यकता सत्ताको लालसाभन्दा माथि उठेर देशको भविष्य सोच्ने राजनीतिक चेतनाको हो । चुनावी भिडभाड सकिएपछि बाँकी रहने कुरा सत्ता होइन-राजनीतिक चरित्र र लोकतन्त्रप्रतिको इमानदारी नै हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच