काठमाडौं । गणितीय तर्कलाई सोच्ने र बहस गर्ने क्षमतासँग जोड्ने उद्देश्यले सञ्चालन हुँदै आएको ग्लोबल म्याथ डिबेट लिग (जिएमडिएल) ले सन् २०२६ का लागि क्षेत्रीय तथा राष्ट्रिय चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । विद्यालय तहका विद्यार्थीमा आलोचनात्मक सोच, प्रभावकारी अभिव्यक्ति र समूहमा मिलेर समस्या समाधान गर्ने क्षमता विकास गर्ने लक्ष्यसहित लिग देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिताका रूपमा अघि बढिरहेको बताइएको छ ।
आयोजकका अनुसार, फेब्रुअरी २०२६ भरि देशका पाँच स्थानमा क्षेत्रीय प्रतियोगिता आयोजना गरिनेछ, जसमा विभिन्न क्षेत्रका विद्यालयको सहभागिता रहनेछ । क्षेत्रीय प्रतियोगिताको सुरुवातमा झापामा फेब्रुअरी ४ र ५ मा हुनेछ । त्यसपछि चितवनमा फेब्रुअरी ७ र ८, बुटवल-भैरहवामा फेब्रुअरी १० र ११ तथा पोखरामा फेब्रुअरी १३ र १४ मा प्रतियोगिता हुनेछ । अन्तिम क्षेत्रीय चरण काठमाडौंमा फेब्रुअरी १६ र १७ मा आयोजना गरिनेछ । क्षेत्रीय चरणबाट छनोट भएका उत्कृष्ट टोलीको सहभागितामा राष्ट्रिय प्रतियोगिता फेब्रुअरी २१ र २२, २०२६ मा काठमाडौंमा सम्पन्न हुनेछ ।
जिएमडिएलका सह-संस्थापक दिवेश बथिजाले भन्नुभयो, ‘हामी गणितलाई केवल रटेर सिक्ने विषय होइन, बहस गर्ने, तर्क गर्ने र वास्तविक जीवनका समस्यामा प्रयोग गर्न सकिने विषयका रूपमा विकास गर्दैछौं । नेपालका पाँच क्षेत्रमा आयोजना हुने प्रतियोगिता र बलिया साझेदारीमार्फत् हामी विश्व मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने सोचयुक्त विद्यार्थीहरूको नयाँ पुस्ता तयार गरिरहेका छौं ।’
यसपटकको संस्करणमा विभिन्न शैक्षिक तथा संस्थागत साझेदारहरूको सक्रिय सहकार्य रहेको छ । ज्ञान र शिक्षण सामग्रीका लागि विश्वभर परिचित ब्रिटानिका इंक अनुसन्धान तथा सीप प्रविधि साझेदारका रूपमा जिएमडिएलसँग जोडिएको छ । उक्त सहकार्यले लिगलाई विश्वसनीय सामग्री, गहिरो अनुसन्धान र भविष्यका लागि आवश्यक सीपहरूमा अझ सुदृढ बनाएको छ । त्यस्तै, दुबईस्थित एजुकेसन र ल्याब अफ फ्युचरले पनि आफ्नो अनुभव र सहयोगमार्फत् लिगको सफलतामा योगदान दिइरहेका छन् ।
आयोजकका अनुसार, क्षेत्रीयस्तरमा पनि सहकार्यले लिगको पहुँच विस्तार गरेको छ । झापामा आयोजना हुने प्रतियोगिता आस्था कलेजको सहकार्यमा हुनेछ । बुटवल-भैरहवामा लुम्बिनी वर्ल्ड स्कुलसँग मिलेर प्रतियोगिता आयोजना गरिनेछ भने पोखरामा कुमुदिनी होम्स स्कुलले सह-आयोजकको भूमिका निर्वाह गर्नेछ, जसले गण्डकी प्रदेशमा लिगको प्रभाव बढाउने अपेक्षा गरिएको छ । प्रतियोगिताका दिनमा सहभागी र आयोजक टोलीका लागि फुड पार्टनरका रूपमा फुडमाण्डुले खानाको व्यवस्था गर्नेछ भने टिबिजी नेपाल (द बियोन्ड ग्रुप नेपाल) ले र्फ्याक्सन प्रायोजकका रूपमा पहललाई समर्थन गर्दै शिक्षा र युवा विकासप्रति आफ्नो प्रतिबद्धता जनाएको छ । देशभरका विद्यालयको सहभागिता र साझेदारको बलियो सहयोगका कारण ग्लोबल म्याथ डिबेट लिगले गणितलाई हेर्ने दृष्टिकोणमा नयाँ परिवर्तन ल्याइरहेको आयोजकको दाबी छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच