काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना भएको २५औं वर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाउने भएको छ । उक्त रजत जयन्तीको अवसर पारेर प्रतिष्ठानले ‘नेपाल आदिवासी ज्ञान सम्मेलन-महोत्सव २०८२’ समेत आयोजना गर्ने जनाएको छ । प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलनमार्फत ‘ज्ञानको आदान-प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मूल नाराका साथ रजत जयन्ती मनाउन लागिएको जानकारी दिएको हो ।
सम्मेलनमा प्रतिष्ठान स्थापनादेखि हालसम्म भएका उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङले आगामी माघ २७ गते आदिवासी जनजातिसँग सम्बन्धित १५ विषयगत शीर्षकमा आधारित ८१ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार ती कार्यपत्रमा आदिवासी जनजातिको भाषा, संस्कृति, मौलिक ज्ञान प्रणाली, परम्परागत सीप, प्राकृतिक स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, लैंगिक समानता, जलवायु परिवर्तन, मानवअधिकार, नीति निर्माणा तथा समावेशी विकासका विविध पक्ष समेटिएका छन् ।
उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘आदिवासी जनजातिको मौलिक ज्ञान र अनुभवलाई अभिलेखीकरण गर्दै राष्ट्रिय विकाससँग जोड्नु आजको आवश्यकता हो । रजत जयन्ती तथा ज्ञान सम्मेलनले नीति निर्माण तहसम्म प्रभाव पार्ने अपेक्षा लिएका छौं ।’ उक्त सम्मेलन तथा महोत्सवकै अवसरमा प्रतिष्ठानका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा रजत जयन्तीको औपचारिक समापन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सवमा नेपालका विभिन्न भू-भागका साथै विदेशबाट समेत कम्तीमा आठ सयभन्दा बढी आदिवासी जनजाति अभियन्ता, अध्येता, विद्वान् व्यक्तित्व, अनुसन्धानकर्ता, युवा तथा विद्यार्थीको सहभागिता रहने अपेक्षा छ । सहभागीहरूले आदिवासी जनजातिका सवालमा अनुभव आदान-प्रदान गर्ने, बहस तथा संवादमार्फत साझा निष्कर्ष निकाल्ने अवसर पाउने आयोजकले विश्वास लिएको छ ।
प्रतिष्ठानले विगत २५ वर्षदेखि आदिवासी जनजातिको पहिचान, अधिकार, सशक्तीकरण, क्षमता विकास तथा समावेशी राज्य निर्माणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै रजत जयन्तीले संस्थाको भूमिका थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । साथै, सम्मेलनबाट निस्कने सुझाव र निष्कर्ष आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा उपयोगी हुने अपेक्षा पनि गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच