नेपाली राजनीतिको आकाश यतिबेला विचारको मन्थनले होइन, आरोप-प्रत्यारोपको धमिलो बादलले ढाकिएको छ । निर्वाचनको पूर्वसन्ध्यामा जब जनताले विकासका योजना र समृद्धिका स्पष्ट खाकाको सूत्र सुन्न चाहन्छन् । तब नेतृत्व तहबाट गालीगलौज, व्यक्तिगत आक्षेपका बाछिटाहरू मात्रै बर्सिरहेका छन् । यो कुनै एकपात्र वा प्रवृत्तिको मात्र समस्या रहेन, बरू यो त हाम्रो राजनीतिक संस्कारकै एउटा गम्भीर विचलन हो । के नेपाली राजनीति सधैं यसरी नै हिलो छ्यापाछ्याप गरेरै गुज्रिने कि अब नयाँ पुस्ताले सफा गर्ने सामर्थ्य राख्छ ? यो प्रश्न सचेत नागरिकको मनमा उब्जिएको छ ।
वर्तमान समयमा केपी शर्मा ओलीदेखि, पुष्पकमल दाहाल हुँदै बालेन साहसम्मका स्वघोषित शीर्षहरूका अभिव्यक्तिले लाग्छ राजनीति नीतिहरूको प्रतिस्पर्धा होइन, बरू गालीको वर्षा र अहंकारको भिडन्त हो । हाल नेपाली राजनीति एउटा पक्षले अर्कोलाई नीच देखाएर आफू उच्च बन्ने होडबाजीमा रुमलिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्ता नाराहरू केवल चुनावी पोष्टरमा सीमित छन् । व्यंग्य, अहंकार र अशिष्ट गालीको वर्षा नै निर्वाचनमा मत माग्ने प्रविधि बन्यो । पुराना पुस्तामा इतिहासको ब्याज खाने धुन छ भने नयाँ पुस्तामा लोकप्रियतावादको चर्को मोह । जब निर्वाचन प्रचारप्रसारको र बहसको केन्द्रबिन्दु ‘म को हुँ’ र ‘अर्को को हो’ भन्नेमा केन्द्रित हुन्छ भने तब ‘हामी कहाँ जाँदैछौं’ भन्ने मार्गचित्र ओझेलमा पर्छ ।
नेपाली राजनीति यतिबेला दोबाटोमा उभिएको छ । एकातिर पुरानो पुस्ताको अहंकार, षड्यन्त्र र भ्रष्टाचारको गन्ध छ भने अर्कोतिर नयाँ पुस्ताको काँचो तर आक्रामक शैली । देशलाई हिलोको दलदलबाट बाहिर निकाल्न न गालीले काम गर्छ न त रित्तो नाराले । अबको निर्वाचनमा जनताले पात्रमात्र होइन, प्रवृत्ति फेर्नुपर्नेछ ।
ओली, दाहाल र देउवा जस्ता पात्रहरूले दशकौंदेखि नेपाली राजनीतिको मियो समातिरहे । उनीहरूले सिर्जना गरेको कुशासन र सत्ता–स्वार्थको ‘हिलोलाई उनीहरूकै विधि र शैलीले पखाल्न खोज्नुभनेको हिलोले हिलो पखाल्नु हो । त्यसका लागि त सफा विवेक र नयाँ विचारको कञ्चन जल चाहिन्छ । जबसम्म राजनीतिलाई सत्ता प्राप्तिको भर्याङ बनाइन्छ, तबसम्म षडयन्त्रका तानावाना अनिवार्य हुन्छन् । जब राजनीतिलाई सेवाको व्रत मानिन्छ तबमात्र विकासको ढोका खुल्छ ।
पुरानाको विकल्पमा आएका नयाँ पुस्ताका नेताहरूमा जोश छ तर होसको नितान्त कमी देखिन्छ । बालेन वा अन्य वैकल्पिक शक्तिहरूले ल्याएको तरंगले जनतामा एउटा आशा त जगाएको छ तर उनीहरू पनि यदि गालीकै शैलीमा रमे भने पुरानो ‘हिलो’ र नयाँ ‘धुलो’मा तात्विक अन्तर भेटिँदैन । नयाँ पुस्ताको सत्तामा ‘हैकम’मात्र होइन, ‘संस्कार’ आउनु जरुरी छ । सत्ता कब्जा गर्ने लालसाभन्दा सत्ता सञ्चालन गर्ने दक्षता आजको आवश्यकता हो । यदि नयाँ पुस्ताले पनि सामाजिक सञ्जालको ताली र गालीलाई नै आफ्नो राजनीतिक पुँजी मान्ने हो भने देश झन् ठूलो अस्थिरताको खाडलमा भासिन्छ । नयाँ पुस्ता आशाको दियो बन्नुपर्छ न कि आशंकाको खाडल ?
अबको राजनीति विचार प्रधान र विकास प्रधान दुबै हुनुपर्छ । गालीको वर्षालाई रोकेर समृद्धिको मार्गचित्र कोर्ने बुँदाहरूमा बहस हुनुपर्छ । उत्पादनमुखी अर्थतन्त्रको खाका जसले दिन्छ त्यो व्यक्ति र त्यो पार्टी नै देश हाँक्न योग्य ठहरिनुपर्छ । उत्पादन भाषणमा वृद्धि गर्ने नेतृत्व होइन, खेतबारी, कारखानाका लागि स्पष्ट अनुदान र प्रविधिको विकासको खाका भएको नेतृत्व चाहिएको छ । जबसम्म शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा राजनीति गरिन्छ तबसम्म नागरिक स्वतन्त्र हुन सक्दैन । विपक्षीलाई शत्रु होइन, विचारको प्रतिस्पर्धी मान्ने संस्कार अबको राजनीतिको मार्गचित्र बन्नुपर्छ । अहिले विदेश पलायन भइरहेको युवाशक्तिलाई स्वदेशमै अवसर दिने ठोस नीति र युवा जनशक्तिमैत्री राजनीति नै आजको आवश्कता हो ।
नेपाली राजनीति यतिबेला दोबाटोमा उभिएको छ । एकातिर पुरानो पुस्ताको अहंकार, षड्यन्त्र र भ्रष्टाचारको गन्ध छ भने अर्कोतिर नयाँ पुस्ताको काँचो तर आक्रामक शैली । देशलाई हिलोको दलदलबाट बाहिर निकाल्न न त गालीले काम गर्छ न त रित्तो नाराले । अबको निर्वाचनमा जनताले पात्रमात्र होइन, प्रवृत्ति फेर्नुपर्नेछ । यदि नयाँ पुस्ताले पुरानाको गल्तीबाट पाठ सिकेर, शिष्टता र विकासको एजेण्डालाई प्राथमिकता दियो भनेमात्रै राजनीति ‘सफा’ हुनेछ । अन्यथा पात्र फेरिनेछन् तर नियति उही रहनेछ । राजनीतिलाई गालीको वर्षाबाट जोगाएर समृद्धिको छहारी बनाउनु नै आजको युगधर्म हो । राजनीतिलाई ‘हिलो’ भन्ने तर त्यही हिलोमा रमाइरहने नेतृत्वलाई अब ‘खरो र निर्मम’ समीक्षाको कसीमा राख्नेबेला आएको छ । अब गाली होइन, ‘गाली’ गर्नेको विकल्प खोज्ने बेला हो ।
राजनीतिको रंगमञ्च अचेल कुनै नीतिशास्त्रीहरूको थलोजस्तो होइन बरू सडकको सामान्य ‘भनाभन’ र ‘दोहोरी’ खेल्ने थलो बन्यो । निर्वाचन नजिकिँदै गर्दा जनताले चुल्होको महँगी र छोराछोरीको पलायन रोक्ने मार्गचित्र खोजिरहेका छन् । हाम्रा महारथीहरू भने शब्दकोशका निकृष्ट शब्दहरू चयन गरेर एकअर्कामाथि हिलो छ्याप्न व्यस्त छन् । केपी ओलीको उखानटुक्का र व्यंग्यले विकासको गति समात्ने भ्रम अब चिरिइसकेको छ । उता, पुरानालाई गाली गरेकैं भरमा स्थापित हुनखोज्ने बालेन शैलीमा नयाँ तानाशाहीको गन्ध आउन थालेको छ । गाली आफैंमा विकास होइन । जबतर्क सकिन्छ तब गाली सुरु हुन्छ । पुराना नेताहरूले ‘जेल बसेको’ ब्याज मागेर देश सिध्याए, नयाँले ‘सञ्जालको ताली’ खाएर शिष्टता बिर्सिए ।
ओली र दाहालकै प्रवृत्तिले राजनीति सफा हुन्छ भन्नु आकाशको फल आँखा तरी मर भन्नुसरह हो । एउटाले अर्कोलाई भ्रष्ट भन्नु र अर्कोले पहिलोलाई राष्ट्रघाती देख्नु कुनै वैचारिक मन्थन होइन, यो भागबण्डा नमिलेपछिको रोदनमात्र हो । देश यतिबेला यस्तो षड्यन्त्रको शिकार भएको छ, जहाँ भ्रष्ट नै ‘भ्रष्टाचारविरोधी’ आन्दोलनको नायक बन्न खोज्दैछन् । नयाँ पुस्ता सत्तामा आउनुमात्र समाधान होइन । यदि नयाँ पुस्ताले पनि उही पुरानो ‘अहंकार’ र ‘असहिष्णुता’को बाटो पक्रिने हो भने, देश सुध्रिने होइन, झन् दुर्घटनामा पर्नेछ । म नै सर्वज्ञानी हुँ भन्ने हैकमवादी सोच, आलोचना सुन्नै नसक्ने असहिष्णु प्रवृत्तिसँग विकासको खोक्रो नाराका साथै बिनाकुनै ठोस योजना सस्तो लोकप्रियताका लागि गरिने स्टन्टले देश किमार्थ बन्दैन ।
अबको राजनीतिमा ‘म यस कारण राम्रो छु’ भन्नेले ठाउँ पाउनुपर्छ, ‘त्यो त्यसकारण नराम्रो छ’ भन्नेले होइन । समृद्धिको मार्गचित्र कोर्न निम्न कुराहरूमा खरो बहस जरुरी छ । बजेटको न्यायोचित वितरणको प्रष्ट खाका, कार्यकर्ता पाल्ने योजना होइन, रोजगारी सिर्जना गर्ने उद्योगमा लगानीको मार्गचित्र, छिमेकीसँगको सम्बन्ध गाली गरेर होइन, टेबलमा बसेर राष्ट्रिय हितमा मिलाउने सामर्थ्य भएको कूटनीतिको मर्यादित खाका, प्रविधि र उत्पादन वृद्धिको समयसीमासहितको योजना साथै युवालाई खाडी पठाएर रेमिट्यान्समा रजाइँ गर्ने अर्थतन्त्रको अन्त्य नै जनताको चहाना हो ।
भावनात्मक राजनीतिबाट मुक्ति नै निर्वाचनको गन्तव्य हुनुपर्छ । अब ओलीको राष्ट्रवादी गफ, दाहालको क्रान्तिकारी लेपन, गगन थापाको भनाइमा फेरिएको कांग्रेस वा नयाँहरूको पपुलिष्ट आवेशमा होइन, तिनीहरूको ‘डेलिभरी’, नियतमा आधारित भएर निर्वाचनको बेला विकासको डंकामात्र पिटने चरित्र र प्रवृत्तिलाई लोकतन्त्रमा निर्वाचनबाटै बढार्नुपर्छ ।
अहिलेको राजनीति मुसा र बिरालोको खेलजस्तै भएको छ । कहिलेको माथि, कहिलेको तल तर यो खेलमा थिचिने र मिचिने सधैं आमनागरिक नै हुन् । पात्र फेरेरमात्र पुग्दैन, प्रवृत्ति र नियत फेर्नुपर्छ । हालसम्मको नेपाली राजनीति ‘एउटालाई फालेर अर्कोलाई काँधमा बोक्ने’ आत्मघाती चक्रमा फसेको छ । राजनीतिलाई सफा गर्न अर्को एउटा ‘गालीशिरोमणि’ होइन, विधिको शासन र इमानको राजनीति चाहिएको हो ।
हिजोका क्रान्तिकारीहरू आज सत्ताको सुकुमार बन्नु र नयाँ भनिएकाहरू अशिष्टतामा रमाउनुको एउटै कारण हो, नैतिकताको खडेरी । राजनीति भनेको केवल गणितको खेल र कुर्सीको जोडघटाउमात्र होइन यो त समाजप्रतिको एउटा उच्च नैतिक प्रतिबद्धता हो । म घुस खाँदिन र अरूलाई पनि खान दिन्न भन्ने कुरा फेसबुकको स्टाटसमा होइन, नेताको जीवनशैली र निर्णयहरूमा देखिनुपर्छ । नयाँ पुस्ताले सत्ताको हैकम खोज्ने कि प्रणाली सुधार्ने ? यदि नयाँहरूले पनि पुरानाकै जस्तो गुटबन्दी, अपारदर्शी चन्दा र प्रतिशोधको राजनीति गर्ने हो भने त्यो विस्थापन होइन, केवल ‘उत्तराधिकारी’ बन्नुमात्र हो ।
हिलो पखाल्न हिलो होइन सफा पानी चाहिन्छ । अर्थात्, पुरानो प्रवृत्तिको अन्त्य गर्न नयाँ पुस्तासँग अझ बढी धैर्य, शिष्टता र विकासको स्पष्ट खाका हुनु अनिवार्य छ । अबको अन्तिम सन्देश भनेको ओलीको विरुद्ध दाहाल वा पुरानोको विरुद्ध बालेन हुने समय होइन । यो त ‘कुसंस्कारको विरुद्ध सुसंस्कार’ र ‘अराजकताको विरुद्ध थिति’ बसाल्ने समय हो । निर्वाचनको पूर्वसन्ध्यामा मतदाताले चिन्नुपर्ने कुरा यही हो कसको झोलाभित्र समृद्धिको मार्गचित्र छ र कसको जिब्रोमा केवल विषालु गाली ? जसले कानुनी डण्डा सहने साहस राख्छ र नैतिक निष्ठाको मियो छोड्दैन, त्यही अब नेपालको वास्तविक नेतृत्व हुनसक्छ ।
निष्कर्ष
अबको नेपाली राजनीतिको प्रस्थानबिन्दु भनेको पात्र फेरेर हुँदैन, प्रवृत्ति नै उखेल्नुपर्ने यो चेतना नै वास्तविक परिवर्तनको बिउ हो । यो ‘उखेल्ने’ संकल्पलाई तीनवटा खरो बुँदामा यसरी व्याख्या गर्न सकिन्छ : सत्ताको सिन्डिकेट भत्काउने सोच हुनुपर्छ । दशकौंदेखि आलोपालो सत्ता भोग्ने र एकले अर्काको भ्रष्टाचार लुकाउने जुन मौन सहमति छ त्यसलाई नभत्काई नयाँ बिरुवा फस्टाउन सक्दैन । भावनात्मक राजनीतिबाट मुक्ति नै निर्वाचनको गन्तव्य हुनुपर्छ । ओलीको राष्ट्रवादी गफ, दाहालको क्रान्तिकारी लेपन, गगन थापाको भनाइमा फेरिएको कांग्रेस वा नयाँहरूको पपुलिष्ट आवेशमा होइन, तिनीहरूको ‘डेलिभरी’ र नियतमा आधारित भएर निर्वाचनको बेला विकासको डंकामात्र पिटने चरित्र र प्रवृत्तिलाई लोकतन्त्रमा निर्वाचनबाटै बढार्नुपर्छ ।
मतपत्रको विद्रोह नै अन्तिम विकल्प हो । सडकको गर्जनले शासक तर्साउँछ तर मतपत्रको चोटलेमात्र प्रवृत्ति उखेल्छ । अबको चुनाव केवल प्रतिनिधि छान्नेमाध्यम होइन, सडेका प्रवृत्तिलाई राजनीतिको मूलधारबाटै बिदा गर्ने अन्तिम अवसर बन्नुपर्छ । बाटो स्पष्ट छ : कि नेतृत्वले आफ्नो अहंकार र अशिष्टता त्यागेर ‘समृद्धिको मार्गचित्र’ समात्नुपर्छ कि सचेत जनताको विवेकको डण्डाले सधैंका लागि विश्राम लिनुपर्छ । निर्वाचन कुनै दलको जित वा हारको विषयमात्र होइन यो नेपाली नागरिकले आफ्नो नियति बदल्ने कि उही हिलोमा रमाउने भन्ने परीक्षा हो । उखेल्नुपर्ने प्रवृत्ति हो र रोप्नुपर्ने पद्धति हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच