भक्तपुर । लामो समयदेखि श्रमजीवी पत्रकारको हक-अधिकार, पेशागत सुरक्षा र श्रम शोषणविरुद्ध निरन्तर आवाज उठाउँदै आउनुभएका पत्रकार तथा श्रम अभियन्ता जन्मदेव जैसी प्रत्यक्ष राजनीतिमा होमिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उहाँले भक्तपुर क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्तापछि यतिबेला जैसी मतदातामाझ घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ ।
स्थायी घर कालिकोट भए पनि विगत लामो समयदेखि भक्तपुरको बोडे क्षेत्र (काठमाडौं–भक्तपुर सीमाक्षेत्र) मा बसोबास गर्दै आउनुभएका जैसीले सोही क्षेत्रलाई आफ्नो राजनीतिक कर्मभूमि रोज्नुभएको हो । ‘मेरो परिवारको बसोबास, व्यवसाय र बालबालिकाको शिक्षा सबै यही क्षेत्रमा जोडिएको छ,’ जैसीले भन्नुभयो, ‘यहाँका श्रमिक, किसान र मजदुरका समस्या मैले नजिकबाट देखेको छु ।’
भक्तपुरलाई पर्यटकीय सम्भावनायुक्त जिल्लाका रूपमा उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धनसँगै स्थानीय जनताको आधारभूत आवश्यकता- रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताउनुभयो । पत्रकारका रूपमा राजनीतिलाई नजिकबाट अध्ययन गर्ने अवसर पाएको उल्लेख गर्दै जैसीले अब त्यो अनुभवलाई व्यवहारमा लागू गर्ने जिम्मेवारी आफूले लिएको बताउनुभयो ।
उहाँले पछिल्लो ‘जेन-जी आन्दोलन’ लाई परम्परागत राजनीतिक संस्कारविरुद्धको विद्रोहका रूपमा व्याख्या गर्नुभयो । युगसापेक्ष राजनीतिक सोच, सूचना क्रान्ति र मानवीय चेतनाको विकासलाई समेट्ने नयाँ राजनीतिक संस्कार आवश्यक रहेको उहाँको धारणा छ ।
अन्य दलहरूसँगको भिन्नताबारे बोल्दै जैसीले प्रलोपा परम्परागत राजनीतिक संरचनाको विकल्पमा नयाँ राज्य संरचना र शासकीय मोडेलको पक्षमा रहेको बताउनुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनिए पनि राज्य संयन्त्र अझै पञ्चायती ढर्रामै चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘यसलाई पुनर्संरचना गर्नैपर्छ ।’
उहाँका अनुसार पार्टीले संविधान संशोधन, निर्वाचन प्रणाली सुधार, राज्यका महत्वपूर्ण निकायको पुनर्संरचना, प्रत्यक्ष कार्यकारी प्रणाली, पूर्ण समानुपातिक प्रतिनिधित्व, राइट टु रिजेक्ट, राइट टु रिकोल र नो भोट जस्ता एजेण्डा अघि सारेको छ ।
भक्तपुर-२ बाट यसपटक उहाँसहित नेकपा एमालेका सचिव महेश बस्नेत, नेपाली कांग्रेसबाट कविर राणा, नेकपाबाट रामप्रसाद सापकोटा, रास्वपाबाट राजीव खत्री, राप्रपाबाट विक्रम थापा र नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य उम्मेदवार बन्नुभएको छ । यस क्षेत्रमा दल र स्वतन्त्र गरी कुल ३२ उम्मेदवार रहेका छन् ।
कालिकोटको ग्रामीण क्षेत्रमा जन्मनुभएका जैसी एक समर्पित पत्रकार, सामाजिक अभियानकर्ता तथा राजनीतिज्ञ हुनुहुन्छ । उहाँले पत्रकारितामा स्नातक उपाधि हासिल गर्नुभएको छ । २०५६ सालमा अखिल नेपाल विद्यार्थी युनियनमार्फत् राजनीतिमा प्रवेश गर्नुभएका जैसी लोकतन्त्र र परिवर्तनका लागि भएका विभिन्न जनआन्दोलनमा सक्रिय रहनुभयो । क्रान्तिकारी गतिविधिमा संलग्न भएकै कारण उहाँले दुई वर्ष जेल जीवनसमेत व्यतीत गर्नुभएको छ ।
जेलमुक्त भएपछि उहाँ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा वैकल्पिक सदस्यका रूपमा क्रियाशील रहनुभयो । वैचारिक मतभेदका कारण सो पार्टी छोडेर हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा उम्मेदवारका रूपमा सक्रिय हुनुहुन्छ । राष्ट्र पुनर्निर्माण, स्थानीय समस्या समाधान, युवा तथा महिलालाई रोजगारी सिर्जना र स्थानीय उत्पादन प्रवर्द्धनमार्फत् देशलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता उहाँको मुख्य राजनीतिक एजेण्डा रहेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच