काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा उच्च शिक्षाका नाममा गर्ने खर्च बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पुससम्ममा खुद सेवा आय ४१ अर्ब ५५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २९ अर्ब ४७ करोडले घाटामा थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष पुस महिनासम्मको तथ्यांकअनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ०.८ प्रतिशतले बढेर ४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१ अर्ब ८८ करोड थियो । सेवा खाताअन्तर्गत भ्रमण व्यय ४.२ प्रतिशतले बढेर एक खर्ब पाँच अर्ब ५६ करोड पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय ६७ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब एक अर्ब ३३ करोड रहेकोमा शिक्षातर्फको व्यय ५६ अर्ब ७७ करोड रहेको थियो ।
छ महिनामा साढे १० खर्ब बढी रेमिट्यान्स
आर्थिक वर्ष २०८२/८३ को छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । २०८२ पुसमा विप्रेषण आप्रवाह एक खर्ब ९२ अर्ब ६२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब २२ अर्ब ४४ करोड थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुर्ई लाख छ हजार आठ सय सात र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९४ हजार सात सय ३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ३० हजार चार सय ३९ र एक लाख ६२ हजार छ सय २८ रहेको थियो ।
वैदेशिक लगानी बढ्यो
समीक्षा अवधिमा आठ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) छ अर्ब ४८ करोड थियो । त्यस्तै, शोधनान्तर स्थिति पाँच खर्ब एक अर्ब २४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा तीन अर्ब ५४ करोडले बचतमा रहेको छ । २०८२ असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले बढेर २०८२ पुसमा ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असारमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुसमा १५.२ प्रतिशतले बढेर २२ अर्ब ४७ करोड पुगेको छ । आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
महँगी २.४२ प्रतिशतमा सीमित
२०८२ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उल्लेखित समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ र ४.१९ प्रतिशत थियो । आर्थिक वर्ष २०८२/८३ को छ महिनाको औसत मुदास्फीति १.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशत थियो । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.९९ प्रतिशत र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २.५७ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५, मधेस प्रदेश ३.३७, बागमती प्रदेश २.१०, गण्डकी प्रदेश १.७६, लुम्बिनी प्रदेश २.६२, कर्णाली प्रदेश १.०८ र सुदूरपश्चिम प्रदेशको १.२७ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४८, तराई २.६५, पहाड १.९४ र हिमालको २.६६ प्रतिशत रहेको छ ।
छ महिनामा नौ खर्बभन्दा बढीको आयात
आर्थिक वर्ष २०८२/८३ को छ महिनामा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले बढेर एक खर्ब ४२ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५७.० र १०.७ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ६६.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा भटमास तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतकाको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतको निर्यात घटेको छ । आर्थिक वर्ष २०८२/८३ को छ महिनामा कुल वस्तु आयात १४.२ प्रतिशतले बढेर नौ खर्ब ३९ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.१ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९, २२.१ र ३२.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा भटमास कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पाटर््स, चाँदी, सुनलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, दाल, तेलहनलगायतको आयात घटेको छ । आर्थिक वर्ष २०८२/८३ को छ महिनामा कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले बढेर सात खर्ब ९७ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.४ प्रतिशतले बढेको थियो । सो अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ८६ अर्ब ८६ करोड बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब ५६ करोड बराबरको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच