काठमाडौं । प्रजातन्त्रका सेनानी तथा नेपाली लोकसंस्कृतिका अग्रपुरुष कालीभक्त पन्तको ३४औं वार्षिक स्मृति दिवसको अवसरमा प्रदान गरिँदै आएको कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार यसवर्ष देउडा लोकसंस्कृतिका अग्रणी स्रष्टा नन्दकृष्ण जोशीलाई प्रदान गरिने भएको छ ।
दशकौंदेखि नेपाली लोकगीत, संगीत र साहित्यको क्षेत्रमा निरन्तर सक्रिय जोशी विशेषतः पश्चिमी नेपालको लोकसंस्कृति देउडाका नायकका रूपमा परिचित हुनुहुन्छ । उहाँका कयौं देउडा गीतले नेपाली लोकसंगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएका छन् ।
यस पुरस्कारबाट पहिलो पटक संस्कृतिविद् सत्यमोहन जोशी पुरस्कृत हुनुभएको थियो भने दोस्रो पुरस्कार लोकगीत-संगीतको प्रवर्द्धनमा योगदान पुर्याउँदै आउनुभएका कृष्ण कँडेलले प्राप्त गर्नुभएको थियो । त्यसपछि क्रमशः तुलसी दिवस, चूडामणि बन्धु, कुमार बस्नेत, आन्ना स्टिफर र प्रेम छोटा यस पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । यसवर्ष नन्दकृष्ण जोशी चयन हुनुभएको हो ।
कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक बोष्टन, अमेरिका निवासी महेश्वर पन्त रहनुभएको छ । प्रतिष्ठानका अध्यक्ष प्राडा.पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पुरस्कार वितरण कार्यक्रम यही माघ २४ गते शनिबार काठमाडौंको मैतीदेवीस्थित जिपी तिमिल्सिना फाउण्डेशनको सभाकक्षमा आयोजना गरिनेछ । सोही अवसरमा प्रतिष्ठानद्वारा अन्य पुरस्कारको घोषणा गर्नुका साथै नेपाली लोक सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने जनाइएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच