काठमाडौं । भाषा आयोगले मातृभाषा शिक्षासम्बन्धी सिफारिश, २०८२ र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) सम्बन्धी नेपालको राष्ट्रिय कार्ययोजना प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । मंगलबार आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसमक्ष उक्त सिफारिश र कार्ययोजना बुझाइएको जानकारी गराइएको हो ।
भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरका अनुसार सन् २०२२ देखि २०३२ सम्मलाई अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक घोषणा गरिए पनि हालसम्म प्रभावकारी राष्ट्रिय कार्ययोजना कार्यान्वयन हुनसकेको थिएन ।
अध्यक्ष ठाकुरले मातृभाषा शिक्षासम्बन्धी सिफारिश र आदिवासी मातृभाषा दशकका लागि आवश्यक रणनीति, कार्यनीति, कार्यक्रम, लागत अनुमान र स्रोत व्यवस्थापनका विषयमा केन्द्रित भएर दुईवटा सिफारिश पेस गरिएको बताउनुभयो । उहाँले आयोगले तयार पारेका सिफारिश तथा कार्ययोजना कार्यान्वयनमा सरकारले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भाषा आयोगका कार्यबाहक सचिव डा.लोकबहादुर लोप्चनले अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२-२०३२) र मातृभाषा शिक्षासम्बन्धी सिफारिश, २०८२ को सारांश प्रस्तुत गर्नुभयो । उहाँका अनुसार कार्ययोजनामा भाषिक मानव अधिकार सुनिश्चित गर्दै आदिवासी भाषाको संरक्षण, संवर्द्धन, विकास र प्रयोग विस्तार गरी न्यायपूर्ण र समतामूलक बहुभाषिक समाज निर्माण गर्ने दीर्घकालीन सोच समेटिएको छ ।
कार्ययोजना अनुसार विद्यालय तथा उच्च शिक्षामा मातृभाषाको पहुँच अभिवृद्धि गरी पठनपाठन सुनिश्चित गर्ने, भाषाको अध्ययन, सर्वेक्षण तथा अनुसन्धान गर्ने, भाषाको अभिलेखन, सार्वजनिकीकरण तथा यान्त्रिक अनुवाद प्रणाली विकाससम्बन्धी नीति तथा कार्यक्रम सञ्चालन गर्ने विषय समावेश छन् ।
मातृभाषा शिक्षासम्बन्धी सिफारिश, २०८२ मा स्थानीय तहमा मातृभाषा शिक्षासम्बन्धी स्थलगत अध्ययन, मातृभाषाको नक्सांकन, स्तर पहिचान, शिक्षामा मातृभाषा प्रयोगको सम्भाव्यता तथा आवश्यक आधारहरू समेटिएको डा.लोप्चनले जानकारी दिनुभयो ।
यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगका प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू राष्ट्रिय सम्पत्ति भएकाले तिनलाई मर्न दिन नहुने बताउनुभयो ।
‘हाम्रो देशमा १२४ वटा भाषा छन् । यी सबै हाम्रा सम्पत्ति हुन् । कतिपय भाषा लोप हुने अवस्थामा छन्, त्यसैले कुनै पनि भाषा मर्न दिनुहुँदैन । प्रत्येक भाषा उत्तिकै महत्वपूर्ण छन्’, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले भाषा संरक्षण र प्रवर्द्धनका लागि सम्बन्धित सबै निकायले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच