दाङ । फागनु २१ मा हुन लागेको निर्वाचन नजिकिँदै गर्दा दाङका गाउँगाउँमा चुनावी माहोल बढ्न थालेको छ । भोट माग्ने बेला ठूला ठूला आश्वासन दिने गरेको भन्दै मतदाताले उम्मेद्वारलाई जनताका आधारभूत समस्यामा केन्द्रित हुन आग्रह गरेका छन् ।
दाङको क्षेत्र नं. २ निर्वाचनका लागि उम्मेद्वारहरु बिहानदेखि राति अबेरसम्म टोल टोलमा गई चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । विशेष गरी घरदैलो कार्यक्रमलाई उम्मेद्वारले तीव्रता दिएका छन् । पार्टीका स्थानीय कार्यकर्तादेखि पार्टीका केन्द्रीय नेताहरु समेत प्रचारप्रचारमा संलग्न छन् । जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धा उम्मेद्वारहरुबीच चलेको देखिन्छ । मतदाताहरुले भने बाटोघाटो तथा पुल निर्माण, कृषि क्षेत्रको विकास लगायतका विकास निर्माणका कामलाई प्राथमिकतामा राख्नेका पक्षमा मतदान गर्नुपर्ने बताउँदै आएका छन् ।
आश्वासनप्रतिभन्दा पनि उम्मेद्वारको कार्यशैली, क्षमता तथा इमान्दारीजस्ता पक्षलाई विचार गरेर मतदाता गरिने उनीहरुको भनाइ छ । जनताले भोग्नुपरेका वास्तविक समस्यालाई जसले सम्बोधन गर्छ उसैलाई अवसर दिनुपर्ने मतदाताको मनोभाव देखिन्छ ।
अहिले दाङको निर्वाचन क्षेत्र नम्बर २ अलि वढी चर्चामा छ । कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेसँग एमाले महासचिव शंकर पोखरेल प्रतिस्पर्धीमा हुनुहुन्छ । २०४८ सालपछिका चुनावमा यो क्षेत्रबाट कुनै दलको एकछत्र जित भएको छैन । २०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो संसदीय निर्वाचनमा एमालेले जितेको यो क्षेत्र २०५१ र २०५६ को चुनाव कांग्रेसले जितेको थियो । कांग्रेस-एमाले प्रतिस्पर्धाबीच २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीकी दमाकुमारी शर्मा विजयी हुनुभयो । उक्त निर्वाचनमा कांग्रेस दोस्रो भयो भने एमाले तेस्रो ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसकी सुशीला चौधरीले माओवादी उम्मेदवारलाई हराउनुभयो । २०७४ को चुनावमा माओवादी र एमालेको ’गठबन्धन’ भयो । एमाले मतदाताको साथ पाएपछि माओवादीका कृष्णबहादुर महराले चुनाव जित्नुभयो त्यही बेला एमालेले शंकर पोख्रेलेललाई मुख्यमन्त्री बनाउन प्रदेशसभामा उठाएको थियो र उहाँ विजयी भएर मुख्यमन्त्री वन्नुभयो । संस्थापक मुख्यमन्त्री पोख्रेलले नै लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी इलाकामा सार्नु थियो । यो दाङका लागि पोख्रेलले गरेको सबभन्दा ठूलो काम हो ।
पाँच वर्षपछि पोख्रेलले प्रतिनिधिसभा सदस्यका लागि दाङ-२ बाट उम्मेदवारी दिनुभयो । उक्त निर्वाचनमा माओवादी र कांग्रेस मिलेका थिए । गठवन्धवाट उम्म्द्धवार भएकी रेखा शर्माले २६ हजार ८७७ मत ल्याएर एमाले महासचिव पोख्रेललाई हराउनुभयो । पोख्रेल १९६ मतान्तरले पराजित हुनुभयो । उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारले झन्डै १५ हजार भोट प्राप्त गर्नुभयो । समानुपातिकमा २३ हजार ५६८ मत ल्याएर एमाले पहिलो र कांग्रेसले १९ हजार ५९१ मत प्राप्त गरि दोस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ हजार ३३ मत ल्याएर तेस्रो बनेको थियो । उक्त निर्वाचनमा माओवादी १० हजार ल्याएर चौथो र ३ हजार ९५ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं पार्टी बनेको थियो ।
२०७४ सालको चुनावमा पनि एमाले २२ हजार ८ सय मत ल्याएर समानुपातिकमा पहिलो पार्टी बनेको थियो । दोस्रो भएको कांग्रेसले २२ हजार ९२ मत पाएको थियो भने माओवादीले १७ हजार ५८४ मत ल्याएको थियो ।
यसअघिको चुनावी परिणाम हेर्दा कांग्रेस र माओवादीका परम्परागत मत राष्ट्रिय स्वतन्त्र पार्टीले तानेको देखिन्छ । नयाँ मतदाताको मत आकर्षित गरेकाले ऊ तेस्रो भएको थियो । यी दुईको प्रतिस्पर्धाबीच कतै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिन आचार्यले बाजी मार्ने त होइनन भन्ने प्रश्नले पनि दाङ-२ को चुनावी चर्चा छ । यी चुनावी चर्चाको निष्कर्ष त फागुन २१ को मतदानपछि नै देखिनेछ ।
दाङ-२ मा कुल मतदाता १ लाख ४० हजार ९४६ छन् । अघिल्लो चुनावभन्दा ७ हजार २३६ नयाँ मतदाता थपिएका छन् । यसपालि कुनै पनि पार्टीको गठबन्धन छैन ।
कांग्रेस र माओवादीका आ-आफ्नै उम्मेदवार भएकाले पहिलेजस्तो अरू पार्टीको भोट तान्न पोख्रेललाई सजिलो हुने छैन । पोख्रेलको यसपालि जनताले आफ्नो पक्षमा भोट दिने दाबी छ । यसपालि दंगाली जनता राष्ट्रिय राजनीतिमा दाङको भूमिका स्थापित गर्न आफुलाइ जिताउने निष्कर्षमा पुगेको जिकिर पोख्रेलको छ । माओवादी र कांग्रेसले गठबन्धन गर्दा पनि एमाले २ सयभन्दा कम मतान्तरले मात्र पराजित भएको अहिले राजनीतिक दलहरू एक्ला एक्लै चुनाव लडेको अवस्था छ ।
नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले पनि आफ्नो गुमेको विरासत फर्काउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । नेपाली कांग्रेसका क्षेत्रीय सभापति भीमप्रकाश खड्का विशेष महाधिवेशनपछि कांग्रेसको पक्षमा सकारात्मक माहोल बनेको दावी छ । ’यसअघि हामीले रूख चिह्नमा भोट हाल्न पाएनौं भन्ने मतदाताको गुनासो थियो । त्यति बेला हाम्रो भोट रास्वपाले तान्यो । अहिले त्यस्तो छैन खड्काको तर्क छ । नेकपाले दाङ–२ मा निर्मल आचार्यलाई उम्मेदवार बनाएको छ । रूकुम, रोल्पाबाट बसाइँ सरेर आएका धेरै माओवादी मतदाता यो क्षेत्रमा बस्ने हुँदा यसपालि पनि आफ्नो जितले निरन्तरता पाउनेमा नेकपा ढुक्क देखिन्छ ।
रास्वपाले सहमहामन्त्री विपिन आचार्यलाई उम्मेदवार बनाएको छ । आचार्यले क्षेत्र रोजेपछि यसअघिको चुनावमा १५ हजार मत ल्याएका विशाल अधिकारी असन्तुष्ट हुनुहुन्छ । यदपी यसअघिको चुनावमा ल्याएको १५ हजार मत जोगाउँदै नयाँ मतदाता आकर्षित गर्ने र अरू दलका परम्परागत मतदाताको थप मत तान्ने रास्वपाको रणनीति देखिन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच