एजेन्सी । स्पेनले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले दुबईमा आयोजित ‘वर्ल्ड गभर्नमेन्ट समिट’लाई सम्बोधन गर्दै सो ऐतिहासिक घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री साञ्चेजले बालबालिका अनियन्त्रित डिजिटल वातावरणको जोखिममा रहेको उल्लेख गर्दै अब यस्तो अवस्था स्वीकार्य नहुने बताउनुभयो । ‘हाम्रा बालबालिकाहरू यस्तो क्षेत्रको सामना गरिरहेका छन्, जुन उनीहरूले एक्लै अन्वेषण गर्नका लागि बनाइएको होइन । हामी यसलाई अब थप स्वीकार गर्ने छैनौँ,’ उहाँले भन्नुभयो ।
नयाँ निर्णयानुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले अनिवार्य रूपमा उमेर प्रमाणीकरण प्रणाली (एज भेरिफिकेसन सिस्टम) लागू गर्नुपर्नेछ । यसले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोक्नेछ ।
प्रधानमन्त्री साञ्चेजले आगामी हप्ता सरकारले नयाँ विधेयक ल्याउने तयारी गरेको जानकारी दिँदै उक्त कानुनले गैरकानुनी सामग्री तथा घृणा फैलाउने अभिव्यक्ति (हेट स्पिच)का विषयमा सामाजिक सञ्जाल कम्पनीका अधिकारीहरूलाई प्रत्यक्ष रूपमा जवाफदेही बनाउने बताउनुभयो ।
विश्वभर बालबालिका र किशोरकिशोरीका लागि सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने प्रवृत्ति बढ्दो क्रममा देखिएको छ । सन् २०२५ को डिसेम्बरमा अष्ट्रेलियाले विश्वमै पहिलोपटक १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको थियो । स्पेनको पछिल्लो कदमसँगै बेलायत र फ्रान्सले पनि उमेरसम्बन्धी यस्तै कडा प्रतिबन्धहरू लगाउने विषयमा छलफल गरिरहेका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच