काठमाडौं । सिन्धुली जिल्लाका पुराना तथा चर्चित राजनीतिज्ञ टीकाजंग थापाको ८६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नसासम्बन्धी रोगबाट पीडित रहनुभएका थापाको राजधानीस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचारका क्रममा मंगलबार निधन भएको हो ।
थापाको निधनसँगै सिन्धुली जिल्लाको राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ । स्थानीयवासी, राजनीतिज्ञ तथा सामाजिक अभियन्ताहरूले उनको निधनलाई जिल्लाका लागि अपूरणीय क्षति भएको बताएका छन् ।
स्वर्गीय थापा विसं २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यका रूपमा सिन्धुली जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा सक्रिय हुनुभएको थियो । त्यसअघि उहाँ तत्कालीन जिल्ला पञ्चायत सिन्धुलीका दुई कार्यकालसम्म निर्वाचित सभापति रहँदै जिल्लाको नेतृत्व गर्नुभएको थियो । पञ्चायतकालमा निर्वाचित भएर गरेका योगदान र नेतृत्व क्षमताका कारण उहाँ आज पनि जिल्लाका पुराना राजनीतिकर्मीहरूद्वारा स्मरण गरिनुहुन्छ ।
राजनीतिक जीवनसँगै सामाजिक सेवामा पनि सक्रिय रहनुभएका थापाले विश्व सम्बन्ध परिषद्को अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । यस्तै, संयुक्त राष्ट्रसंघका लागि नेपालको टिम लिडरको भूमिका निर्वाह गर्नुभएका उहाँले सरकारी तथा गैरसरकारी संघसंस्थामा समेत अग्रणी योगदान दिनुभएको थियो ।
उहाँको कार्यकुशलता, नेतृत्व क्षमता र समर्पणको कदर गर्दै सरकारले उहाँलाई गोरखा दक्षिणबाहु तथा दैवीप्रकोप उद्धार पदकबाट सम्मानित गरेको थियो ।
स्वर्गीय थापाको परिवारमा श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ । उहाँका सुपुत्र तथा नेपाली कांग्रेस बागमती प्रदेश समिति सदस्य असिमजंग थापाका अनुसार स्वर्गीय थापाको पार्थिव शरीर आज (बिहीबार) पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिनेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच