भक्तपुर । ‘जेन-जी’ विद्रोहपछिको विशेष अवस्थामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले भक्तपुर-२ लाई पनि राम्रोसँग तताएको छ । विद्रोहपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र सिंगो नेकपा एमालेको आड बनेर उभिनुभएका पार्टी सचिव महेश बस्नेत यसै क्षेत्रमा उम्मेदवार हुनुहुन्छ । पूर्वमन्त्री एवं वर्तमान राजनीतिका एक खेलाडीसमेत रहनुभएका बस्नेतको उम्मेदवारीले यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोसमेत देखिएको छ । विगतका आम निर्वाचनभन्दा फरक परिवेशमा हुन गइरहेको यो निर्वाचनमा भक्तपुर–२ का मतदाताले परम्परागत दलप्रतिको भरोसा दोहोर्याउँछन् कि उदाउँदै गरेका नयाँ राजनीतिक शक्तिप्रति आकर्षित हुन्छन् भन्ने स्पष्ट देखिएको छैन । पुराना र नयाँ दलहरू उत्तिकै आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएका छन् ।
आलोपालोको राजनीतिक इतिहास
भक्तपुर-२ को चुनावी इतिहास हेर्दा यहाँ कुनै पनि दलको स्थायी वर्चस्व नरहेको स्पष्ट देखिन्छ । २०४८ यताका सात संसदीय निर्वाचनमा कांग्रेस, नेमकिपा र एमालेले आलोपालो जित हात पारेका छन् । २०४८ मा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी बसुकला, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति, २०७० मा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल, २०७४ मा एमालेका महेश बस्नेत र २०७९ मा कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको थियो । यो निरन्तर परिवर्तनले भक्तपुर–२ लाई कुनै पनि दलको ‘किल्ला’भन्दा पनि मतदाताले परिस्थितिअनुसार निर्णय गर्ने क्षेत्रका रूपमा स्थापित गरेको छ । यहाँ दलको झण्डाभन्दा पनि उम्मेदवारको व्यवहार, योग्यता र विश्वसनीयता निर्णायक बन्दै आएको देखिन्छ ।
२०७९ को झिनो मतान्तर र संवेदनशील क्षेत्र
२०७९ को निर्वाचनमा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले एमालेका महेश बस्नेतलाई मात्र ९५७ मतको अन्तरले पराजित गर्नुभएको थियो । यो झिनो मतान्तरले क्षेत्रको संवेदनशीलता झन् उजागर गरेको छ । यही पृष्ठभूमिमा २०८२ को निर्वाचन झनै रोचक, अनिश्चित र प्रतिस्पर्धात्मक बनेको छ ।
सानो मतान्तरले नतिजा पल्टिने सम्भावना
भक्तपुर-२ मा सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका समेटिएका छन् । यहाँ कुल ९८ हजार ३५६ मतदाता छन् । जसमा ४८ हजार ७४ जना पुरुष, ५० हजार २७७ जना महिला र पाँचजना अन्य मतदाता छन् । यहाँ ३९ वटा मतदान स्थल र ११४ वटा मतदान केन्द्र छन् । मध्यपुर थिमी नगरपालिकाका नौवटा वडा र सूर्यविनायक नगरपालिकाका १० वटा वडा रहेको यस क्षेत्रमा सानो मतान्तरले पनि नतिजा पल्टिन सक्ने अवस्था छ । पछिल्ला वर्षहरूमा सूर्यविनायक, थिमी र आसपासका क्षेत्रमा तीव्र सहरीकरण, बसाइँसराइ र नयाँ मतदाताको वृद्धि भएको छ । यसले परम्परागत मत संरचनामा परिवर्तन ल्याएको छ । लामो समयदेखि बसोबास गरिरहेका स्थानीय मतदाता र नयाँ बसोबास गर्ने मतदाताबीच प्राथमिकता फरक देखिन्छ ।
३२ उम्मेदवार, तर प्रतिस्पर्धा सीमित
यसपटक भक्तपुर-२ मा १७ राजनीतिक दल र १५ स्वतन्त्र गरी ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तर, परम्परागत नतिजा विश्लेषण गर्दा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका महेश बस्नेत र नेपाली कांग्रेसका कविर राणाबीच केन्द्रित देखिन्छ । तर, नयाँ राजनीतिक परिवेशका बीच हुन गइरहेको यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पनि उत्तिकै सम्भावनायुक्त देखिन्छन् । बस्नेत र राणासहित नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटा (दीपशिखा), रास्वपाका राजीव खत्री, राप्रपाका विक्रम थापा, नेमकिपाका रमेश वैद्य, उज्यालो नेपाल पार्टीका जितराम लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का जन्मदेव जैसीलगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।
एमाले र महेश बस्नेत : पुनरागमनको प्रयास
नेकपा एमालेका सचिव तथा पूर्वसांसद महेश बस्नेत यस निर्वाचनका सबैभन्दा चर्चित र विवादास्पद पात्र मानिनुहुन्छ । २०७४ मा उहाँले कांग्रेसका दमननाथ ढुंगानालाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै आफूलाई भक्तपुर-२ को बलियो नेताका रूपमा स्थापित गर्नुभएको थियो । तर, २०७९ मा कांग्रेससँग झिनो मतान्तरले पराजित भएपछि उहाँ पुनरागमनको लक्ष्यसहित मैदानमा उत्रिनुभएको छ ।
एमालेको संगठित संरचना, केन्द्रीय नेतृत्वसँगको निकटता र ‘काम गरेको रेकर्ड’ उहाँका मुख्य आधार हुन् । युथ फोर्स हुँदै राष्ट्रिय युवा संघको नेतृत्वसम्म पुग्नुभएका बस्नेतलाई समर्थकले ‘काम गर्ने नेता’ का रूपमा चित्रित गर्छन् भने आलोचकले उहाँलाई आक्रामक, विवादप्रिय र विभाजनकारी नेता ठान्छन् । यही द्वन्द्वात्मक छविले उहाँलाई एकैसाथ बलियो र कमजोर दुवै बनाएको छ ।
बस्नेतले भक्तपुर-२ मा शिक्षा, स्वास्थ्य, सडक, पुल, मठमन्दिर, कला र सम्पदा संरक्षणमा आफूले योगदान पुर्याएको दाबी गर्नुहुन्छ । उहाँले यसपटक एमाले एक्लै बलियो अवस्थामा रहेको दाबी गर्दै कांग्रेस र रास्वपालाई मुख्य प्रतिस्पर्धी नमान्ने अभिव्यक्ति दिइसक्नु भएको छ ।
कांग्रेस र कविर राणा : निरन्तरता कि जोखिम ?
नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका कविर राणा फरक पृष्ठभूमिका नेता हुनुहुन्छ । लामो समय पत्रकारिता र राजनीतिमा सक्रिय रहनुभएका राणाले आफूलाई ‘विश्वसनीय, सन्तुलित र सेवामुखी’ विकल्पका रूपमा प्रस्तुत गरिरहनु भएको छ । २०७९ मा यही क्षेत्रमा कांग्रेसले जित निकालेको मनोवैज्ञानिक लाभ उहाँसँग छ ।
आफू पत्रकारिताबाट मात्र राजनीतिमा आएको नभई राजनीतिसँगै पत्रकारिता गरेको दाबी गर्नुहुन्छ । कांग्रेसको चुनौती भनेको आन्तरिक एकता कायम राख्नु र मत विभाजन रोक्नु हो । नयाँ दल र स्वतन्त्र उम्मेदवारको उपस्थितिले कांग्रेसको मत बैंकमा असर पार्नसक्ने विश्लेषण पनि भइरहेको छ ।
नेकपा र दीपशिखा : विजेता बनाउनेबाट बन्ने चुनौती
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार रहनुभएका वाइसिएल इञ्चार्ज रामप्रसाद सापकोटा जनयुद्धकालीन नेता हुनुहुन्छ । २०६४ मा उहाँको पार्टी यो क्षेत्रमा दोस्रो हुँदा उहाँ नै चुनावी कमाण्डर हुनुहुन्थ्यो । २०७० मा तेस्रो भएको उहाँको पार्टीले त्यसयता भने २०७४ मा एमालेलाई सघाउँदा महेश बस्नेत निर्वाचित हुनुभयो भने २०७९ मा नेपाली कांग्रेसलाई सघाउँदा दुर्लभ थापा विजयी हुनुभयो ।
दुईवटा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताएको नेकपाका लागि यो निर्वाचन आफ्नो गुमेको विरासत फिर्ता ल्याउने अवसरसमेत हो । केन्द्रीय राजनीतिमा पहुँच राख्न सक्ने र पार्टी संयोजक प्रचण्डका विश्वासपात्र सापकोटा आफू पुरानो र नयाँका नाममा अतिवादी दलहरूको विकल्पको रूपमा निर्वाचित हुने दाबी गर्नुहुन्छ । भ्रष्टाचारविरोधी र सुशासनको पक्षधर एवं राजनीतिक सुझबुझ रहेका मतदाता आफ्नो जितको आधार भएको उहाँ बताउनुहुन्छ ।
रास्वपा : ‘फरक शक्ति’ कि मतकटुवा ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले आफूलाई परम्परागत दलभन्दा फरक शक्तिका रूपमा प्रस्तुत गर्न खोज्नुभएको छ । २०७९ मा रास्वपाले समानुपातिकतर्फ उल्लेख्य मत पाएको थियो, जसले पार्टीप्रति आकर्षण बढ्दो रहेको संकेत गर्छ । पत्रकारिता र सामाजिक सञ्जालबाट उदाउनुभएका खत्रीले भक्तपुर–२ ले नयाँ छान्ने जनप्रतिनिधिमा आफूलाई छान्ने विश्वास व्यक्त गर्नुभएको छ ।
परम्परागत राजनीतिप्रति असन्तुष्ट युवा, सहरी र पहिलोपटक मतदान गर्ने मतदातालाई लक्षित गर्दै उहाँहरूको मतलाई उहाँले आफ्नो जितको आधार बनाउन खोजेको देखिन्छ । सामाजिक सञ्जालमा महेश बस्नेतसँग वाकयुद्ध चलाइरहनु भएका उहाँ नेमकिपाप्रति भने लचक रहनुभएको छ । नेमकिपाको प्रशंसा गर्न नचुक्ने उहाँ नेमकिपाका मतदातालाई आफूप्रति आकर्षण गर्ने रणनीतिमा देखिनुहुन्छ ।
नेमकिपा : वैचारिक शक्ति र मतको परम्परा
२०६४ मा जित निकालेको नेमकिपा भक्तपुर-२ मा त्यसयता निकटतम् प्रतिस्पर्धी पनि हुन सकेको छैन । निर्वाचन क्षेत्र नम्बर–२ मा भक्तपुर नगरका वडाहरू हटेसँगै यो क्षेत्रमा नेमकिपा कमजोर भएको हो । २०७९ मा नेमकिपाले सात हजारभन्दा बढी मत ल्याएर तेस्रो स्थान भने सुरक्षित गरेको थियो । स्थायित्व, विचार र संगठनमा आधारित नेमकिपाको परम्परागत मत बैंक अझै कायम छ ।
पुस्तान्तरण र नयाँ प्राथमिकता
यसपटकको निर्वाचनको अर्को रोचक पक्ष पुस्तान्तरण हो । मुख्य पाँच उम्मेदवार सबै ५० वर्षमुनिका छन् । यसले चुनावलाई पुरानो नेतृत्व र नयाँ पुस्ताबीचको बहससँग पनि जोडिदिएको छ । मतदाताको प्राथमिकता पनि परिवर्तन हुँदै गएको देखिन्छ । घोषणापत्रभन्दा पनि विगतको काम, जवाफदेहिता, पहुँच र व्यवहारलाई मतदाताले बढी महत्व दिन थालेका छन् ।
यस क्षेत्रमा चुनावी प्रचारको शैली पनि बदलिएको छ । पोस्टर, पम्प्लेट र नारासँगै सामाजिक सञ्जाल प्रमुख हतियार बनेको छ । फेसबुक, टिकटक र युट्युबमार्फत छोटा भिडियो, लाइभ बहस र प्रत्यक्ष आरोप-प्रत्यारोप चलिरहेका छन् । डिजिटल अभियानले युवा मतदातालाई आकर्षित गरिरहेको छ भने टोलभेला, चिया पसल र चौतारी परम्परागत मतदाताका लागि बहसको केन्द्र बनेका छन् ।
खुला प्रतिस्पर्धामा छैन सहज जित
समग्र विश्लेषण गर्दा भक्तपुर-२ मा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिए पनि ‘जेन–जी’ विद्रोहको प्रभावले मतदाता प्रभावित भएमा रास्वपा र नेपाली कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषकहरू बताउँछन् । यहाँ कुनै पनि दलको सजिलै जित हुने छैन । पुरानो विरासत र नयाँ विकल्पबीचको यो संघर्षको अन्तिम फैसला फागुन २१ गते मतपेटिकामार्फत प्रकट हुनेछ । इतिहास दोहोरिन्छ कि नयाँ अध्याय लेखिन्छ भन्ने प्रश्नको उत्तर मतगणनापछि मात्र स्पष्ट हुनेछ । तर, जे भए पनि, भक्तपुर–२ ले दिने सन्देशले नेपाली राजनीतिमा गहिरो प्रभाव पार्ने निश्चित छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच