काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाखभन्दा बढी आर्थिक सहायता दिलाएको छ । वीरगञ्जस्थित एक टेक्सटाइलको व्यापार गर्ने कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि परिवारलाई कोषले आश्रित परिवारले पाउनुपर्ने सबै सुविधाबापतको २० लाख ४३ हजार छ सय ४५ रुपैयाँ ८४ पैसा दिलाएको हो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले मृतककी श्रीमती उमादेवीलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गर्नुभयो । कोषका अनुसार श्रमिक कानुको २०७९ साउन २७ गते मृत्यु भएको थियो ।
कानुको रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका कारण उहाँको परिवार सामाजिक सुरक्षाबाट वञ्चित भएको थियो । पीडित पक्षतर्फबाट श्रीमती उमादेवीले २०७९ कात्तिक २५ गते आश्रित परिवार सुरक्षा सम्बन्धमा पाउनुपर्ने सबै सुविधा उपलब्ध गराइपाऊँ भनी निवेदन दिनुभएको थियो । कोषले २०७९ मंसिर १५ गते उक्त विषयमा जानकारी गराउन रोजगारदातालाई पत्राचार गरेको थियो ।
रोजगारदाता र पीडित पक्षबीच मिलापत्र हुन नसकेपछि कोषले आश्रित परिवार सुविधाबापतको सुविधा दिन रोजगारदातालाई आदेश दिएको थियो । कोषको आदेश चित्त नबुझेपछि रोजगारदाताले उच्च अदालत पाटनमा पुनरावेदन गरेकामा २०८० चैत १२ गते उच्च अदालतबाट कोषको फैसला सदर भएको थियो । उच्च अदालतको फैसलालाई लिएर रोजगारदाता सर्वोच्च पुगे पनि सर्वोच्चले कोषकै फैसलालाई सदर गरेको थियो । अदालती प्रक्रिया टुंगिएपछि गत मंसिर २८ गते कोषले रोजगारदाताको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । सम्बन्धित रोजगारदातातर्फबाट आश्रित परिवारले पाउने रकम भुक्तानी गरेपश्चात् उक्त खाता फुकुवा गरिएको कोषले जनाएको छ ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक अधिकारीले रोजगारदाताले कोषमा आबद्ध नगराइदिएको अवस्थामा श्रमिकको निधनपछि आश्रित परिवार सुविधाबाट वञ्चित हुन नदिन सुविधा दिलाउने अधिकार कोषलाई भएको बताउनुभयो । कोषका निर्देशक एवं कोष व्यवस्थापन महाशाखा प्रमुख रोहित रेग्मीले कोषमा आबद्ध नभएकै व्यक्तिको आश्रित परिवारले पनि सामाजिक सुरक्षा पाउन सफल भएको बताउनुभयो । कोषमा आबद्ध नभएका रामानन्दको निधन हुँदै गर्दा उहाँले जीवनभर पाउने पेन्सन हिसाब गरेर रोजगारदाताले नै सो रकम बेहोर्नुपरेको हो । सामाजिक सुरक्षा योजनामा आबद्ध नगराएको अवस्थामा मृत्यु भएका श्रमिकका ४० भन्दा बढी आश्रित परिवारलाई सुविधा दिन सफल भएको कोषले जनाएको छ । कोषमा नियमित योगदान गरिरहेका आठ सयभन्दा बढी आश्रित परिवारले विभिन्न सुविधा पाइरहेका छन् ।
कोषमा हालसम्म औपचारिक क्षेत्रका छ लाख ७३ हजार र वैदेशिक क्षेत्रका २१ लाख छ हजार गरी २७ लाख ८१ हजार बराबर योगदानकर्ता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधाबापत योगदानकर्तालाई १८ अर्ब ६३ करोड दाबी भुक्तानी गरिसकेको जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच