नवलपरासी । बर्दघाट एक्स्पोमा ४३ प्रतिशत स्थानीय व्यवसायीले स्टल लिएका छन् । एक्स्पोबाट स्थानीय पुँजी पलायन हुने गरेको आरोप लागिरहेको उद्योग व्यापार बर्दघाटमा सञ्चालित प्रथम बर्दघाट एक्स्पो २०८२ मा स्थानीय व्यवसायीको उत्साहजनक सहभागिता देखिएको छ । एक्स्पोमा स्थानीय व्यवसायीका एक सय आठ व्यावसायिक स्टल सञ्चालनमा आएका छन् । स्थानीय व्यापार, मेला तथा एक्स्पोमा बाह्य व्यवसायी हावी हुने र स्थानीय पुँजी बाहिरिने गरेको गुनासो रहँदै आएकोमा यसपटक स्थानीय व्यवसायीलाई प्राथमिकतामा राख्दै उल्लेखनीय सहभागिता सुनिश्चित गर्न आयोजक सफल भएको हो ।
एक्स्पोमा होटलतर्फ २४, हस्तकलातर्फ सात, जुस तथा चियातर्फ चार, अचार चार, सरसफाइ सामग्री पाँच, कृषि मल एक, केरा चिप्स दुई, दुग्धजन्य पदार्थ तीन, ब्याग दुई, च्याउ एक, कृषि सामग्री सप्लायर्स चार, फर्निचर दुई, ब्युटीपार्लर दुई, कृषि आयुर्वेद एक, रोटी एक, मोटरसाइकल तथा हेल्मेट पाँच, कपडा तथा रेडिमेड १२, मोबाइल पार्ट्स दुई, गेडागुडी-गुन्द्रुक-पिठो नौ, पाठा-बाख्रा चार, कन्सल्टेन्सी तथा पुस्तक दुई, मह एक, नर्सरी चार तथा जातीय खानाका परिकारका तीनवटा स्टल रहेको उद्योग व्यापार संघका उपाध्यक्ष एवं एक्स्पोका स्टल संयोजक राजेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।
कृषि, स्थानीय तथा बर्दघाट व्यापार संघमा आबद्ध व्यवसायीलाई ५० प्रतिशत छुटसहित स्टल उपलब्ध गराइएको छ । कृषिमा आधारित किसान तथा स्थानीय व्यवसायीलाई प्राथमिकतामा राखी छुट्टै कृषि उपसमिति गठन गरी घरदैलोमै पुगेर समस्या सुनी समाधानतर्फ लागेकै कारण स्थानीय कृषक र व्यवसायीको ठूलो सहभागिता सम्भव भएको कृषि उपसमिति संयोजक खुमाकान्त न्यौपानेले बताउनुभयो । स्थानीय उत्पादनको बजारीकरण, प्रवर्द्धन र राष्ट्रिय बजारसम्म पहुँच पुर्याउँदै स्थानीय व्यवसायीको आर्थिक मेरुदण्ड मजबुत बनाउन एक्स्पो महत्वपूर्ण कोशेढुंगा साबित हुने एक्स्पो मूल आयोजक समिति संयोजक राजु न्यौपानेले बताउनुभयो । एक्स्पोमा कृषि उत्पादन र बजारीकरणले कृषकमा राम्रो चर्चा बटुल्न सफल रहेको उहाँको भनाइ थियो ।
समग्र विकासमा निजी क्षेत्रको भूमिका विषयमा छलफल हुने
उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा सञ्चालन भइरहेको प्रथम बर्दघाट एक्स्पो २०८२ अन्तर्गत ‘समग्र विकासमा निजी क्षेत्रको भूमिक : नवलपरासीको विकास सम्भावना’ विषयक प्यानल छलफल कार्यक्रम आयोजना हुने भएको छ । आयोजकका अनुसार कार्यक्रम बिहीबार बर्दघाट एक्स्पो स्थलमा सञ्चालन हुनेछ । कार्यक्रममा समग्र नेपालको आर्थिक विषय र पछिल्लो समयको देशको आर्थिक विषयमा छलफल केन्द्रित हुने संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्यानल छलफलमा नवलपरासीको समग्र विकास, निजी क्षेत्रको भूमिका, लगानीको सम्भावना तथा स्थानीय उद्योग–व्यापारका अवसरबारे केन्द्रित भएर छलफल गरिनेछ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, जेसिआई ग्लोबलकी नेपालबाट उपाध्यक्ष रजनी थापा तथा पैँचोका प्रमुख कार्यकारी निर्देशक केशव न्यौपाने प्यानलिस्टका रूपमा रहने छलफल कार्यक्रमको सहजीकरण वरिष्ठ अर्थविद् डा. सञ्जीव हुमागाईंले गर्नुहुने संघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले जानकारी दिनुभयो ।
आयोजक उद्योग व्यापार संघ बर्दघाटका अनुसार स्थानीय उद्योग, व्यापार, लगानी र उद्यमशीलता प्रवर्द्धनमार्फत् निजी क्षेत्रले नवलपरासीको समग्र विकासमा खेल्न सक्ने भूमिकाबारे गहन विचार–विमर्श गरिनेछ । एक्स्पोमार्फत् स्थानीय उत्पादन प्रवर्द्धन, उद्यमशीलता विकास तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच